ईश्वर भाग्यमानी रहेछन्

बाबु त्रिपाठी

चिया पिउन मन लागेर बाहिर निस्किएँ । खुट्टा खोच्याउँदै आकस्मिक सेवा विभाग अगाडि आइरहेको कवि ईश्वर थोकरसँग अचानक भेट भयो । उसले टाढैबाट दुई हात जोडेर ‘नमस्कार’ भन्यो । मैले पनि दुई हात जोडेरै ‘नमस्कार’ सँगै भनेँ, ‘कता यता ?’

उसले चोर औँलाले आफ्नो घुँडा देखायो र खल्तीबाट पिपले भरिएको दश एमएलको सिरिन्ज देखाउँदै भन्यो, ‘यो जाँच गर्नु भन्या छ । घुँडाबाट निकालेको ।’

‘कैले आ’को ?’

‘बिहान १० बजे । मेरा बा पनि आउँदै होलान् ।’

चेकजाँच गर्न दिएको फर्ममा हेरेँ । नाम लेखिएको थियो– अक्कल लामा । नीलो ओपिडी कार्डमा पनि त्यही नाम थियो ।

उसले भन्यो, ‘मेरो नाम अक्कल पनि हो, तर मसँग अक्कल नै भएन । अक्कल छैन । म बिना अक्कलको मान्छे ।’

मुस्कुराइरहने ईश्वर दुब्लाएछ । मन चुकभन्दा पनि अमिलो भो । घामले अलिकति पोल्यो । छेउ लाग्यौँ । बिरामीहरूको जावतभन्दा आवत बढी देखियो । एउटा एम्बुलेन्स आयो र ढोकानजिक आएपछि साइरन रोक्यो । एउटा ट्याक्सीले बाटो मोड्यो ।

एक्लै चिया पिउन मन लागेन । उसलाई लिएर चिया पिउन गएँ । ऊ खुट्टा खोच्याउँदै हिँड्यो । ऊसँगसँगै उसैले चिनाएको उसको साइँला भाइ पनि थिए ।

ऊ भन्दै गयो, ‘दाइ, म ४५ दिन यहीँ अस्पतालमा बसेँ नि ।’ म त छक्क परेँ र भनेँ, ‘४५ दिन । किन नभनेको त ? कुन वार्डमा ?’

‘उः त्यो,’ चिया पसलबाट उसले चोर औँला देखाएर भन्यो, ‘जहाँ बाहिर आउन दिन्नन् नि, हो त्यहीँ ।’

उसले भनेको मैले बुझिहालेँ, ‘मानसिक वार्ड ?’

‘हो, दाइ ।’

‘४५ दिनसम्म पनि नभन्ने त लाटा ?’ मैले उसलाई मायाले ‘लाटा’ भनेँ ।

उसले धमिलो अनुहार बनायो । अरू बोलेको भए उसको आँखाबाट आँसु आउँथ्यो होला । मेरो मन चिरिएर आयो ।

प्लाष्टिकको कालो टेबलमा चिया पनि आइपुग्यो । छेउमा उसको साइँला भाइ बसे । ऊ मोबाइल खेलाउँदै थियो । उसले चिया पिउन मानेन ।

ऊ बोल्दै गयो, ‘दाइ, १३ वर्ष भयो मैले यो ओखती खान थालेको ।’ खल्तीबाट ओखतीको झोला निकालेर उसले देखायो ।

मैले एकाएक पालमतीलाई सम्झिएँ । ६ वर्षअगाडि हामीले पालमतीलाई ल्याएर त्यहीँ वार्डमा राखेका थियौँ । पालमती, जसलाई ‘सामाजिक बौलाही’ भनेर घरका परिवारले र छिमेकीले कुखुराको खोरमा बाँधेर राखेका थिए । अन्तिम अवस्था भएकी पालमतीलाई त्यहीँ मानसिक वार्डमा राखेर ६ महिना उपचार गराएर हामीले सकुशल घर पठाइदिएका थियौँ । अहिले कस्ती भई होली पालमती ? उतिबेला उनी २४ वर्षकी थिइन् ।

ऊ पहिल्यै डिस्चार्ज भइसकेकी थिई ।

मैले ६ वर्षअगाडिको कुरा सम्झेँ । उबेलै अस्पतालले ६ महिनाको पालमतीको बेडचार्ज, जम्मै औषधी खर्चसमेत लागेको २४ हजार छुट गरिदिएको थियो । त्यही सोचेँ ।

थाहा पाएकाहरूले ईश्वर मानसिक वार्डमा भर्ना भएको छ भन्ने कुरा बताइदिएनन् । हामी त्यहीँ भएर पनि थाहा पाएनौँ । ईश्वरले ‘नर्सको हातमा नाम लेखेर पठाउँछु’ भन्दाभन्दै ४५ दिन बितेको पत्तै पाएन छ ।

उसले फेरि भन्यो, ‘पैसा छैन दाइ ।’

मैले फेरि उसलाई भनेँ, ‘लाटा, भन्न पर्दैन । कसैको हातमा खबर पठाउन पर्दैन । बिर्सने हो त्यसरी ।’ ऊ मुस्कुराइमात्र रह्यो ।

ऊ भन्दै थियो, ‘तपाईँलाई थाहा छ दाइ, मैले मेरो २ कृति पिङ्गाई र प्लिक्सी किन निकालेको ?’

‘थाहा छैन,’ मैले भनेँ ।

‘यदि मलार्ई केही भई हाल्यो भने– मेरा सिर्जनाहरू मर्छन् । कुन बेला के हुने हो, थाहा छैन ।’

मैले फेरि भनेँ, ‘यस्तो भन्न हुन्न लाटा ।’ ऊ फेरि मुस्कुरायो । तर, उसको आँखामा रहेको आँसुचाहिँ बाहिर खस्न मानेन । मेरा पनि आँखा रसाए । म अर्कोपट्टि फर्किएँ ।

प्लिक्सी ईश्वरको बहिनीको नाम । ऊ अहिले यो संसारबाट बिदा भइसकेकी छिन् । ईश्वर भन्थ्यो, ‘मैले आफूलाई भन्दा पनि बहिनीलाई बढी ख्याल गर्थेँ दाइ । तर, ईश्वरले उसलाई नै लग्यो । हुन त मेरो नाम पनि ईश्वर हो ।’

ऊ बोल्दै गयो, ‘दाइ, डिस्चार्ज भएर बाहिर निस्केको दिन मैले सबैथोक अग्लोमात्र देखेँ । यो घर । हिँडिरहेका मानिसहरू । मोटर, कार ट्याक्सी जम्मै अग्लो । के ती सब मभन्दा अग्ला हुन् र दाइ ?’

मैले भनेँ, ‘हैन, ती सब तिमीभन्दा होचा हुन् । तिमीलाई लागेको मात्र हो ।’

ऊ मानसिक रोगको ओखती खाइरहेको मान्छे । उसले केके सोच्दै गयो । त्यही त्यही बोल्दै गयो । उसलाई केके सम्झना आयो त्यही त्यही बोल्दै गयो । म सुन्दै गएँ ।

ऊ भन्दै गयो, ‘थाहा छ दाइ, म त आधा मरेको÷आधा बाँचेको मान्छे हो नि ! मैले मेरा कवितामा पनि आफ्नै कथाहरू लेखेको छु । मैले अरूका कथा लेख्नै जानिनँ । मेरो त कविता भएनन् होला हगि दाइ ?’

‘त्यस्तो भन्न हुन्न ईश्वर । तिम्रो कविता भा’छन् । जति भा’छन् ।’ ऊ फेरि मुस्कुरायो त्यति भनेपछि ।

रिपोर्टको कागज हातमा लिएर उसले भन्यो, ‘दाइ, मलाई नहेरीकन कविता वाचन गर्न आउँछ नि ! हेरेँ भनेँ– मेरो हात काँप्छ । तर, मेरो हात डरले काँपेको होइन । म त कमजोर पो भएँछु दाइ ।’ उसले आफ्नै नाडी छाम्यो । उसले कविता वाचनकै शैलीमा दुई हातले रिपोर्ट कागजलाई उचाल्यो । अनि फेरि नीलो ओपिडी कार्डलाई उचाल्यो त्यसैगरी ।

उसले फेरि भन्यो, ‘हैन दाइ, मेरो अर्को कवितासङ्ग्रह पनि शब्दघर छापाखानाबाटै छाप्ने योजना छ ।’

मैले ‘हुन्छ’ भनेँ ।

उसले फेरि भन्यो, ‘मेरा कविता भएका छन् त दाइ ?’

त्यो बेलासम्म चिया पिएर हामीले सकाइसकेका थियौँ ।

मैले भनेँ, ‘ईश्वर, मलाई त्यो राजमती कविता सुनाऊ त ?’

उसले हत्त न पत्त भन्यो, ‘ए, त्यो सम्झना : दुई शीर्षक हो दाइ ?’

न्यातपोल फेदीमा
मसँगै
खेल्ने राजमती
मजत्रै भई होली !

(‘सम्झना : दुई’, ‘प्लिक्सी’बाट साभार)

डाक्टरले उनलाई मङ्गलबार आउन भनेका रहेछन् ।

पालमतीलाई फेरि सम्झिएँ । कस्ती भई होली ? बिहे गरी कि गरिनँ फेरि ?

मङ्गलबार, आउनेबित्तिकै ईश्वरले मलाई फोन गरे । हतार हतार दौडिएँ । एक जना भिजिटरसँग म नमज्जाले ठोक्किएँ ।

उहाँले भन्नुभो, ‘आँखा छैन ।’

गल्ती मेरै हो ।

अर्थोवार्डको ढोकामा मलाई कुरेर बसेका रहेछन् । म पुगेँ । पुग्नेबित्तिकै उसले भन्यो, ‘दाइ, म सन्चो भएँ । डाक्टरले भन्नुभो– अब ओखती खान पर्दैन । बैसाखी पनि चाहिएन । म बैसाखीबिना नै हिँड्न सक्छु ।’ उसले हिँडेर देखायो । सायद उसले यति खुसीका साथ मलाई नै यी सब कुरा किन सुनायो ? ऊ बालकझँँै हाँस्यो । ‘भाग्गेमानी रहेछन् कवि ईश्वर थोकर’ मनमनै भनेँ ।

छेउमा ईश्वरका भाइ थिए । तर, आज उसका बा थिएनन् ।

ओपिडी ढोकामा बस्न मन लागेन । फेरि अरू बिरामीसँग ठोक्किने डर । उसलाई ‘एकछिन आराम गर्न’ भनेँ । ऊ छेउमा आएर बस्यो । उसको अनुहारमा मैले यतिको खुसी पहिले कहिल्यै देखेको थिइनँ ।

लगभग १ घन्टापछि फेरि फोन आयो ईश्वरको । उसले फोनमै भन्यो, ‘दाजु, म घर जाने ।’

‘ला, भुसुक्क बिर्सेँछु । एकछिन आराम गर है ईश्वर भनेर छाडेर आएको मान्छेलाई १ घन्टा पो भए छ छाडेको पनि ।’

फोनबाटै भनेँ, ‘कता छौ ईश्वर ?’

उसले भन्यो, ‘टिकट काट्ने ठाउँमा ।’

उसले फेरि अघिकै कुरा भन्यो, ‘म निको भएँ नि दाइ ।’

उसले फेरि भन्यो, ‘यो अस्पतालको मानसिक वार्डमा बस्दा मैले धेरै कविता लेखेको छु दाइ ।’ ऊ निहुरियो र झोलाबाट एउटा कविता झिकेर मलाई दियो । शीर्षक थियो– मानसिक वार्डबाट ।

‘जाउँ, खाजा खान ईश्वर ।’ उसको भाइलाई मैले देखिनँ ।

ऊ जुरुक्क उठ्यो र भन्यो, ‘दाइ, मेरो अर्को नाम पनि छ । अक्कल । तर, अक्कल छैन मसँग । बिना अक्कलको मान्छे म ।’

अलि अगाडिको कुरा सम्झना आयो । अक्कल अस्पतालमा भर्ना भएको कुरा मैले वियोगी बुढाथोकी सरलाई भनेँ । सरले भन्नुभो, ‘जाऊँ बाबु उसलाई भेट्न ।’ राबत पनि आइपुग्यो । हामी सरासर अर्थोवार्डमा गयौँ । उसको नाम ‘अक्कल’ हो भनेर त मलाई थाहा थियो । तर, वार्डमा पुगेपछि वियोगी बुढाथोकी सरले भन्नुभो, ‘खै, हाम्रो कवि भाइ, यहाँ भर्ना भएका छन् भन्ने सुन्नमा आएको छ ।’

उताबाट सिस्टरको जवाफ आयो, ‘कवि भाइ त थाहा छैन सर, यहाँ भर्ना भएका छैनन् त !’

‘काँ नहुनु कवि ईश्वर थोकर यहीँ भर्ना भएका छन्,’ वियोगी सरले भन्नुभो ।

उताबाट जवाफ आयो, ‘साँच्चै हो सर, ईश्वर थोकर छैनन् ।’ अर्की नर्स आउनुभो र भन्नुभो, ‘ए साँच्ची, एक जना कवि भाइ त छन् । तर, उनको नाम त अक्कल लामा हो । अहिले बाहिर निस्किएका छन् ।’

‘हो, त्यही भाइ त हो नि कवि भाइ ।’ वियोगी सरले यति भन्नुभएपछि सबैजना हाँस्यौँ र वार्डबाट बाहिर निस्कियौँ ।

उसले खाजा खान मानेन र भन्यो, ‘चीसो खाउँ दाइ ।’ एउटा कुनामा हामी गएर बस्यौँ । जुन कुनामा हामी १३ वर्षदेखि चिया पिउँदै आएका छौँ । मैले फेरि ईश्वरलाई भनेँ, ‘ईश्वर, हामी यो कुनामा १३ वर्षदेखि चिया पिउँदै आएका छौँ ।’ उसले पत्यायो कि पत्याएन कुन्नी ?

उसले भन्यो, ‘थाहा छ दाइ, मलाई पहिला ३३ किसिमको औषधि दिएका थिए डाक्टरले । मकै, भट्मास चपाएजस्तै चपाउनुपथ्र्यो । खाजा पुग्थ्यो । म त विसं. २०६४ सालमा झन्डै मरेको । अस्ति शुभद्रा पनि आएकी थिइन् मलाई भेट्न । तर, अहिले त्यसरी औषधि खान पर्दैन । अहिले त ३ किसिमको मात्र छ । म निको हुन्छु नि हगि, दाइ ?’ हाम्रो अगाडि चाउमिन खाइरहेका २ जनाले हामीलाई चाउमिन खान छाडेर हेरिरहे ।

उसले भन्यो, ‘दाइ, तपाईँले मेरो बाल्यकाल भन्ने कविता सुन्नु भा’छ ?’

‘सुनेको हुँला । तर, बिर्सिएँ खै सुनाऊ त ?’

‘थाहा छ दाइ, म बिरामी हुँदा न्यातपोल फेदीमा आधा घण्टा घुँडा टेकेर रोएँ नि ! मेरो बाल्यकाल न्यातपोल फेदीमा बितेको हो । त्यहाँको गल्लीगल्ली मलाई थाहा छ । मेरो जीवनको एउटा किताब हो न्यातपोल ।’

उसले भन्यो, ‘दाइ, मेरो नाम ईश्वर राखिदिने एक जना नर्स हुनुहुन्थ्यो । उहाँले नै राखिदिनुभो त्यो नाम । विसं. २०६४ सालमा । त्यो दिनदेखि म ईश्वर भएँ ।’

अर्को दिन उसले भन्यो, ‘दाइ, अस्ति वियोगी बुढाथोकी सर, तपाईँ र राबत दाइ मलाई भेट्न आउनुभएको थियो रे सिस्टरले भन्नुभा’को । अनि उहाँले भन्नुभाथ्यो, ‘उहाँहरू तपाईँको साथी हो ?’ अनि मैले भनेँ, ‘हैन, मलाई माया गर्ने दाजुहरू हो ।’ त्यसपछि त झन् मलाई खुब माया गर्नुभो सिस्टरले । ‘कवि भाइ भन्नुभो । मलाई औधी खुसी लाग्यो दाइ ।’

‘थाहा छ दाइ, अस्ति घुँडा अपरेशन गर्न अपरेसन थिएटरमा जानुअगाडि म खुब रोएँ नि ! आधा घन्टा जति रोएँ ।’

‘किन ? घाउ दुखेर रोएको ?’

‘हैन, डर लागेर । अरू बिरामी पनि रोए, अनि म पनि रोएँ । यो अस्पताल मलाई खुब मनप¥यो दाइ । मलाई निको बनाइदियो । वार्डमा बस्दा पनि नर्सले कलम र कापी दिनुहुन्थ्यो । मैले त्यसैले त कविता लेख्न पाएको ।’ उसले फेरि मानसिक वार्ड सम्झियो ।

आज ईश्वर अघिल्लो दिनभन्दा धेरै खुसी देखिएको थियो ।

‘लौ जा, मैले त तपाईँलाई कविता सुनाउनै बिर्सेँछु । था’छ दाइ, मलाई मेरा कविता कण्ठ हुन्छ नि !’

‘मलाई था’छ ।’ मैले भनेँ । उसले कविता सुनायो । कविताको शीर्षक थियो– मेरो बाल्यकाल ।

क्याफे न्यातापोल
सामुन्ने
एउटा बूढो किलामा
स्कुल बस
नआउञ्जेलसम्म
झुन्ड्याइरहन्थेँ– रातो तुम्लेट !

जब, बस आउँथ्यो
स्कुल बस
खोलेर सुटुक्क सुुकुलढोका
र, लगत्तै गुड्थेँ

सिङ्गो बाल्यकाल बोकेर …

(‘मेरो बाल्यकाल’, ‘प्लिक्सी’बाट साभार)

‘था’छ दाइ, मैले ईश्वर थोकर पनि लेखेको छु नि ?’

उसले सुनायो । कविताको शीर्षक थियो– ईश्वर थोकर ।

उसले
सिद्धिचरण पढ्यो
र, मनमनै
गुनगुनायो– ‘आमा, तिनीहरूले जेसुकै भनून् …’

(‘ईश्वर थोकर’, ‘प्लिक्सी’बाट साभार)

ऊ भन्दै गयो, ‘दाइ, मसँग प्लिक्सी २ प्रति मात्र थियो । १ प्रति मलाई चेक गर्ने डाक्टरसाब्लाई दिएँ । अब मसँग १ प्रति मात्र छ । त्यो गोरेगोरे मोटेमोटे हुनुहुन्छ नि, हो उहाँलाई ।’

चीसो सकिएपछि हामी निस्कियौँ । उसले फेरि जाने बेलामा भन्यो, ‘म भेट्न आउँछु दाइ ।’ सुरूमा मुस्कुराएझैँ ईश्वर फेरि मुस्कुराएर मलाई हात हल्लाए ।

मैले मनमनै भनेँ, ‘ईश्वर भाग्यमानी रहेछन् ।’

ट्याक्सी आकस्मिक सेवाअगाडि आएर रोकियो । ईश्वरका बा रहेछन् । ईश्वर ट्याक्सीभित्र बसे र मलाई हात हल्लाए । अलिबेर मैले ईश्वरलाई हेरिरहेँ ।

(हिमालय टाइम्स दैनिक, विसं. २०७१ साउन २४ मा प्रथम पटक प्रकाशित ।)

Leave a Reply