कीर्तिशेष विजय चालिसेको व्यक्तित्व र कृतित्व- विशेष परिचर्चा
काठमाडौं। नेपाली भाषा, साहित्यका विशिष्ठ साधक कीर्तिशेष विजय चालिसेको जन्मदिवस असार २२ गतेको अवसरमा उहाँका सिर्जनाका बहुआयामिक व्यक्तित्वमाथि परिचर्चा गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानमा नियात्रा समाज नेपालले “नियात्राकार विशेष व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम” आयोजना गरेको हो । समाजका अध्यक्ष मोहन चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा चालिसेका विविध साहित्यिक व्यक्तित्वमध्ये नियात्रामा उहाँको योगदानका बारेमा गहन चर्चा भएको थियो । साहित्यकार चालिसेको तस्वीरमा माल्यार्पण गरेपश्चात एकमिनेट मौनधारण गरेर सुरु गरिएको कार्यक्रममा वक्ताहरुले वहाँको नियात्रा अनुसन्धान, ज्ञान र यथार्थपरक हुनुका साथै साहित्यिक रस र गुणले भरिएको परिचर्चा गर्नुभएको थियो । कार्यक्रममा समालोचक प्रमोद प्रधान र नियात्र विधाभित्र पनि हिमाललाई समेट्ने नियात्राकार प्रतीक ढकालले चालिसेका नियात्राको पाँच संग्रहको सूक्ष्म समीक्षा गर्दै त्यसको प्रभाव र साहित्यिक गुण तथा समाजमा पर्ने प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसै गरी नियात्राकार तेजप्रकाश श्रेष्ठ, विजय चालिसेका भाइ नियात्राकार महेन्द्र चालिसे तथा पोषण पाण्डे – तिर्थ सदनका महासचिव रञ्जु पाण्डेले उहाँको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा चालिसेको कान्छा छोरा आलोक चालिसेले आफ्ना पिताले शैक्षिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा दिनुभएको योगदानका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । छोरी अञ्जु चालिसेले आफ्ना पिताको सम्मानमा कार्यक्रम आयोजना गर्ने नियात्रा समाज तथा उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । उक्त कार्यक्रमका अवसरमा विजय चालिसेका २५ बालकथाहरुकाे अनुवाद गरी अङ्ग्रेजी भाषामा तयार गरिएकाे ”द टाेय एण्ड अदर स्टोरिज” (The Toy and Other Stories) नामक बालकथा सङ्ग्रहकाे पनि विमोचन गरिएको थियो । अङ्ग्रेजी भाषामा जयन्त शर्माले अनुवाद गर्नुभएकाे यस कृतिकाे सल्लाहकार सम्पादक प्राडा गाेविन्दराज भट्टराई र सम्पादक महालक्ष्मी भण्डारी हुनुहुन्छ । यस कृतिलाई स्वर प्रकाशन- स्वर द्वैमासिक पत्रिका, कालाेपुल,सिफलचाैर, काठमाडाैँले प्रकाशन गरेकाे हाे । यस कृतिमा लेखक चालिसेका २५ बालकथा समावेश छन् । कृतिकाे मूल्य रु ४०५/- रहेकाे छ ।
कार्यक्रमको अन्त्यमा सभापतित्व गर्नुभएका मोहन चापागाईले रमेश विकलदेखि विजय चालिसेसम्मको साहित्यिक योगदानको चर्चा गर्दै यो विरासत तेस्रो पुस्ताले सम्हाल्नुपर्ने सुझावसहित सभा विसर्जन गर्नुभएको थियो । विष्णुप्रसाद शर्मा पराजुलीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा नियात्रा समाजका महासचिव भवानी खतिवडाको संचालन रहेको थियो। वरिष्ठ पत्रकार तथा साहित्यकार चालिसेको २०८२ जेठ १६ गते शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको थियो । ७४ वर्षको उमेरमा निधन हुनुभएका चालिसेको हालसम्म ७२ कृति प्रकाशित छन् भने केही प्रकाशनको क्रममा रहेका छन् ।
