राजा महेन्द्रको सवारीमा गीत गाउँदा
सुदूरपश्चिमकी चेलीको सम्झना …
”निकै टाढा गाउँबाट आएकी एक बुढी आमैले भेट्न अति जिद्दी गरिछन् । राजाले बोलाऊ भनेर समय दिने भएछन् । राजाको अगाडि पुगेपछि पटुकाबाट चिउरा र भुटेको बदाम निकालेर उनले दिइन् रे भन्ने मैले सुनेको थिएँ । अनि उनले राजालाई सुमसुम्याउँदै आँसु झार्दै गालामा एक चड्कन लगाइन् रे भन्ने पनि सुनेकी थिएँ । …”
– सुशीला देउजा
न्यालयमा कार्यरत न्यायाधीस पिताजी श्री तुङ्ग ध्वज खाणको विभिन्न जिल्लामा सरुवा भइरहन्थ्यो । यसैक्रममा बुवाको बागलुङ्गबाट बैतडीमा सरुवा भयो । त्यसबेला म सानै थिए । बागलुङ्गको कुरा त्यति याद छैन । बैतडीमा हामीले अलि लामो समय बितायौं ।

हामी बैतडी पुगेको केही समयपछि राजा महेन्द्रको देशव्यापी भ्रमण शुरु भयो । राजा बनेपछि महेन्द्र सरकारको यो पहिलो देश दर्शन थियो । शासन गर्नुअघि आफ्नो देशको जनताको परिस्थिति बुझ्ने उद्दश्यले होला सारै दुख गरी महिनौ दिन लगाएर देशको कुना काप्चा भ्रमण गरिबक्सीयो रे । यातायातको कुनै सुविधा नभएको वेला कि हिँडेर कि त घोडामा यात्रा गर्नुपथ्र्याे । राजाको सवारी हुँदैछ भन्ने थाहा पाएपछि ठुलो चाडवाड आए जस्तै जनतामा प्रशन्नता, जोश जाँगर हौसला बढेको देखिन्थ्यो । बजार सफा सुग्घर गर्नेदेखि सिंगार्ने काम भइरहेथ्यो ।
त्यसै क्रममा राजाको स्वागत गानको लागि हामी दिदीबहिनी र अरु केटीहरु मिलाएर जम्मा पाँच जनाको एउटा टोली बनाई गाउन लगाइयो । बजारमै भएका एक भजन टोलीसँग हारमोनियम र तबला रहेछ । त्यतिबेला पिताजीले स्वागत गान लेख्नुभएको थियो । हारमोनियम बजाउने दाइले त्यसमा संगीत भर्नुभयो । संगीत भर्ने ती दाइले हामीलाई गाना सिकाएर रियाज गर्न लगाउनुभयो । हामी पनि खुशी भएका थियौँ । हामी चाडै संगीत भर्ने ती दाइले भने जस्तै गाउन सक्ने भयौँ । राजा सवारी हुने बिहानसम्म पनि रियाज गर्दै थियौँ । खुसी खुसी सबै आआफ्नो काममा व्यस्त थिए ।
मेरा पिताजी र अरु कर्मचारीहरु सवारीसँग आएका एडीसी, जर्नेल, कर्नेल र अरु पाहुनाका लागि आवास र खानपिन व्यवस्था मिलाउनमा व्यस्त हुनुहुन्थ्यो । राजाको लागि आवासको रुपमा त्यहाँ भएको बडाहाकिमको निवासलाई तयार पारिएको थियो ।
सवारी हुने दिन हामी बिहानैदेखि नयाँ लुगा लगाएर तयार भई सवारी हुने बाटोमै बनाइएको स्टेजमा पुग्यौँ । स्टेजमा माइकको पनि व्यवस्था थियो । संगीत सिकाउने गुरुले माइक मिलाएर तयार पार्नुभयो । बाटोको दुवै छेउमा राजाको स्वागतको लागि बजारवासीहरुले आआफ्नो घरअगाडि सानो टेबल राखेर लस्करै घडा कलश राखेर सजाएका थिए । गाउँगाउँदेखि आएका जनता हातमा फूलका गुच्छा लिएर अधैर्य भई बाटो हेर्दै थिए ।
विस्तारै सवारीमा यातायात चढेर आएका अरु मान्छेहरु पनि आउन थाले । राजा भनेका कस्ता हुन्छन् ? कसैले नदेखेका । अहिलेको जस्तो न फोटो छ न हेर्ने अरु कुनै साधन । हो न हो जो नयाँ मान्छे आए नि उनी नै राजा हुन् कि जस्तो लाग्ने । मोटा मोटा जर्नेल कर्नेल उलीन काठमा बसेर आउने क्रम चलिरहेको थियो ।
हामी केटीहरु सुरुदेखि नै गाना गाइरहेका थियौँ । लामो पर्खाइपछि एक जना आर्मीले लगाउने लुगा लगाएका सर्लक्क परेका, घोडामा सवारलाई राजा भनी सबैले नारा लगाउन थाले । राजा भनेका कस्ता होलान् झकिझकाउ टाढैबाट अलग चिनिन्छन् होला भनेको त यस्ताे साधारण पो रहेछन् । मैले मनमनै भनेँ । चारैतिरबाट फूलको वर्षा र जयजयकार हुँदै थियो । हामी पनि जोशिँदै गीत गाइरहेका थियाैँ ।
अब विस्तारै सवारी टोलीको आउने क्रम पनि सकियो । दिनपनि ढल्दै थियो । बजारमा मान्छेको भीड बढी नै थियो । सबैजना यताउता गर्दे थिए । मानिसहरु राजाको एक झलक अझ देख्न पाइन्छ कि भनी राजाको फिर्ति सवारी नभएसम्म यतै बसेका जस्तो लाग्थ्यो । रातभर बजारमा चहलपहल भई नै रह्यो । मलाई त्यो दिन रातभरि कोही पनि राम्रोसँंग सुतेनन् होला जस्तो लाग्यो । हामीलाई पनि रातभर राम्रोसँग निद्रा नै लागेन ।
भोलिपल्ट बिहानै देखि फेरि चहलपहल सुरु भयो । दिनभरि राजाको जनतासँग उनीहरुको समस्या सुन्न भेट्ने कार्यक्रम रहेछ । यही क्रममा त्यो दिन एउटा अनौठो घटना भएको थियो । निकै टाढा गाउँबाट आएकी एक बुढी आमैले भेट्न अति जिद्दी गरिछन् । राजाले बोलाऊ भनेर समय दिने भएछन् । राजाको अगाडि पुगेपछि पटुकाबाट चिउरा र भुटेको बदाम निकालेर उनले दिइन् रे भन्ने मैले सुनेको थिएँ । अनि उनले राजालाई सुमसुम्याउँदै आँसु झार्दै गालामा एक चड्कन लगाइन् रे भन्ने पनि सुनेकी थिएँ । त्यो दिन सँगै उभिएका गार्डले हतपत ती बुढीलाई हान्न बन्दूक सोझ्याएछन् । राजाले पख् भनी रोकेका थिए रे । त्यतिकैमा एक जनाले बताए रे धेरै मायाले विभोर भएमा यसरी नै गालामा चड्काउँने चलन छ सरकार हाम्रो गाउँमा । यो कुरा थाहा पाउँदा राजा मुस्कुराएका थिए रे ।
त्यो दिनभरि कर्मचारी र जनतासँग भेट्ने काम भई रह्यो । भोलिपल्ट जगन्नाथ मन्दिर दर्शन साथै त्यहाँ भएका अफिसहरु आर्मी ब्यारेक इत्यादि सबै निरीक्षण गरे । राम्रो काम गर्नेलाई स्याबासी र नराम्रो काम गर्नेलाई दण्ड पनि भयो रे भन्ने सुनेकी थिएँ । यसै क्रममा हामी स्वागत गान गाउने टोलिका सदस्यलाई पुरस्कार स्वरुप पाँच सय पुरस्कार दिइएको थियो । । त्यो रकम सवारीपछि मैले नि पाएकी थिएँ । चौथो दिन राजाको फिर्ती सवारी भएको थियो । हामी बस्ने घर सडकछेउमै थियो । मुमा र हामीले झ्यालमै बसेर हेर्दै थियौ ।
राजालाई झयालबाट कसैले पनि अबिर र फूल नफयाक्नु भन्ने उर्दी थियो । राजालाई छुन दुई लाइन हातमा हात लिई मानिस उभिएका थिए । विष्णु भगवानकाे अवतार छुन मात्र पाए पनि स्वर्ग पुगिन्छ । फूल छुवाएर राखे भाेलि घरमा कोही बिरामी परे त्यो फूल छुवाई दिए पनि निको हुन्छ भन्ने विश्वासले मानिसहरु अघि बढ्न खोज्थे । तर सुरक्षाकर्मीहरुले कडाईका साथ रोकेका थिए । केही सीप नलागेर राजा सवार घोडालाई फूल छुवाएर मात्र पनि जनताले राखेका थिए ।
जनताले राजालाई यतिसम्म श्रद्धा र मान गर्थे भनेर सम्झँदा नि अहिले म रोमान्चित हुने गर्छु । झ्यालबाट फूल अबिर नफ्याक्नु भन्दाभन्दै पनि मुमाले झ्यालबाट फयाक्नुभयो । राजाले पुलुक्क हेरिबक्सियो रे । लौ अब के हुन्छ भनी मुमा डराएर थुरथुर हुनुभएको थियो । तर कसैले केही भन्न आएन ।
बिस्तारै सवारीमा आएकाको लस्कर पनि सकियो । गाउँबाट आएका पनि भगवान् नै भेटे जस्तो हर्ष उल्लासका साथ आआफ्नाे गाउँघर फर्किए । आफ्नो एउटा अभिवावक टाढा भए जस्तै हामीलाई नरमाइलो लाग्यो । बजार पनि सुनसान भयो । राजाका लागि स्वागत गीत गाउँदाको यो सम्झना गर्दा म मेरो सुदूरपश्चिमलाई भावुक भएर सम्झने गर्छु ।

