रीता बलामीका दुई कृति लोकार्पण
साहित्यकार रीता बलामीका दुई कृति ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह र ‘आभासपुञ्ज’ गजलसङ्ग्रह २०८२ मंसीर १३ गते शनिवारका दिन आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।
वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल र वरिष्ठ बालसाहित्य लेखक प्रमोद प्रधान लगायत अन्य अतिथिज्यूहरुले कृतिहरु लोकार्पण गर्नु भएको थियो ।
कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुल र रातोघरद्वारा आयोजित कार्यक्रममा लोकार्पित गजल सङ्ग्रहबारे बोल्दै वरिष्ठ गजलकार ललिजन रावलले रीता बलामीले आफ्ना अधिकाँश गजलमा लय सौन्दर्यको मिठास भरेको बताउनु भएको थियो । उहाँले गजल गेय विधा भएकाले यसको लयचेतनामा गजलकार सचेत हुन सके गजल सशक्त बन्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो ।
लोकार्पित कृति बालमञ्जरी बालकविता सङ्ग्रहबारे बोल्दै वरिष्ठ बालसाहित्य लेखक प्रमोद प्रधानले बालकवि रीता बलामीको बालकविता लेखनको प्रसंशा गर्नु भएको थियो ।
प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले दुई कृतिका लेखक रीतालाई बधाई दिनुहुँदै साधनाले गायक र अभ्यासले लेखक बन्ने कुरामा जोड दिनु भएको थियो ।
समारोहमा बोल्दै लोकार्पित कृतिका सर्जक साहित्यकार रीता बलामीले २०५१ सालदेखि आफू साहित्य साधनामा समर्पित रहे पनि शिक्षण पेशाको व्यस्तताले कृति प्रकाशनमा ढिला भएको बताउनु भयो । उहाँले सहयोगी मनहरू, काशीराम विरस, स्नेह सायमीलगायतका साथी र अभिभावकको हौसलाले कृतिहरु प्रकाशन गर्न सफल भएकोमा सबैप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
नवबिहानी, आरम्भ, प्रतिभा सुमन लगायतका साहित्यिक पत्रिकाहरु र विभिन्न पुस्तकहरुको सम्पादनमा संलग्न रहेर योगदान गरिसक्नु भएकी सर्जक बलामी हाल कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलमा सहायक प्रधानाध्यापक र जुनकीरी इङ्गलिश स्कुलमा प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।
