सांग्रिला संवादको पहिलो शृंखला सम्पन्न

सांग्रिला लिटरेचर फेस्टिबलको पहिलो सांग्रिला संवाद मोक्ष रेष्टुरेन्ट एण्ड बारमा शनिबार सम्पन्न भएको छ। सुरुवाती संवादको उद्घाटन वरिष्ठ कवि तुलसी दिवस र रमेश क्षितिजले गरे। फेस्टिबलका निर्देशक केन सुवेदीले धन्यवाद ज्ञापन गर्दै भने, “काठमाडौँ फाउन्डेसन एक गैर-नाफामुखी संस्था हो र विभिन्न संस्थाहरूको सामूहिक पहलमा मासिक रुपमा संवाद आयोजना गरिने छ। सांग्रिला संवाद साहित्यिक गतिविधि, किताब विमोचन, पुस्तक चर्चा, बहस गर्ने एक साझा चौतारी हुनेछ।”  कवि तुलसी दिवस र रमेश क्षितिजबीचको कुराकानीले दिवसको जीवनको पठन, लेखन र संस्कृतिप्रतिको योगदानबारे प्रकाश पार्यो। बिगतका दिनहरूबारे दिवसले सम्झिएर कुनै पनि कुरालाई सापेक्षिक हिसाबले हेर्नुपर्ने बताए। क्षितिजसँगको साक्षात्कारमा दिवसका काव्यिक जीवनको चर्चा गरियो र कविताले नै करिब ८० देश घुम्न सकेको कुरा दिवसले स्मरण गरे।

अन्तरक्रिया सत्रपछि कविता वाचन सत्रमा १२ कविहरूले आफ्ना मनपर्ने कविता वाचन गरे। कवि अविनाश श्रेष्ठले “ओ शत्रुपा” शीर्षकको कविता सुनाए। त्यस्तैगरी कविहरू शैलेन्द्र साकार, श्रवण मुकारुङ, गिता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटा आफ्ना कविता सुनाएर काव्यिक माहोल सिर्जना गरे। सबिता गौतम दाहालको “बाँच्नेहरूले” र शकुन्तला जोशीको “बरको बोट” शीर्षकको लामो कविताले श्रोताहरूलाई मन्त्रमुग्ध बनायो। कार्यक्रमको समापनमा फेस्टिबलका अध्यक्ष आर्यक बरालले कार्यक्रम मासिक रुपमा नियमित हुने साथै उपस्थित साहित्यकारहरूको हौसला आवश्यक रहेको बताए। उनका अनुसार सांग्रिला संवादको अर्को शृंखला भदौंमा हुनेछ।

Leave a Reply