सर्लाहीको जेठो पत्रिका ‘चुरे’ – डा. श्याम भट्टराई
‘चुरे’ पत्रिकाले एउटा अनौठो अनुभूति बोकेको छ ! कहाँबाट सुरु गर्ने २६ पेजको यो आलेखलाई ? यति लामो समयसम्म गुप्तलृुप्त रहेको यो पत्रिकाको कथाव्यथा नै अलग रहेको छ । पहिलो अङ्क नै अन्तिम हुन पुगेको छ । यस्तो ऐतिहासिक दस्तावेदका रुपमा रहेको यस पत्रिकालाई हरिवनबासी तथा देशविदेशमा रहेका नेपाली साहित्यका पाठकसमक्ष पुर्याउने ध्येय राखी यस पत्रिकाको स्वरुपलाई बाह्य र आन्तरिक स्वरुपबाट वर्गीकरण गरी टिपोट गर्ने जमर्को गरेको छु ।
बाह्य पक्ष
प्रस्तुत ‘चुरे’ पत्रिकाले देशभरि रहेका प्रतिभालाई समेट्ने उद्देश्यबाट प्रेरित चुरे प्रकाशन हरिवन सर्लाहीले नेपाली साहित्यको संरक्षण गर्ने ध्येय रहेको देखिन्छ । यसको पुष्टि यस पत्रिकाको सम्पादकीयबाट झल्किन्छ । त्यस्तै यही पत्रिकाको टिमले ‘चुरे पुस्तकालय’, ‘चुरे युवा क्लव’ गठन गर्ने लक्ष्य राखेको विषयलाई पनि यस पत्रिकामा राखिएको जानकारीबाट थाहा हुन्छ । यसरी वि.सं. २०२८ सालमा युवाहरुको साहित्य र सिर्जनामा सक्रिय बनाई टोल–समाज र देश निर्माणका लागि अग्रसर रहेका सम्पादक मेघराज कोइराला र नारायण राजभण्डारी अनि प्रबन्ध सम्पादकका रुपमा रहेका सुरेन्द्रकुमार ‘नेवा’ र तीलकबहादुर के.सी.को प्रमुख भूमिका रहेको देखिन्छ । यसैगरी यस ‘चुरे’ पत्रिकाको सल्लाहकारका रुपमा भैरवविक्रम थापा, शिव कार्की, रविन थापा, जनककुमार के.सी. र वासुदेव निरौला रहनु भएको देखिन्छ ।
चुरे प्रकाशन हरिवन सर्लाहीका माध्यमबाट हरिवन सर्लाहीका प्रतिभालगायत देशभरिका प्रतिभाहरुको भाव, भाषा र अनुभूतिलाई लिपिमा राखी सुरक्षित गर्ने नेपाली साहित्य र संस्कृतिलाई अगाडि बढाउनका लागि सहयोग गर्ने सहयोगी मण्डलका रुपमा सर्वश्री नैनबहादुर के.सी., गुणराज काफ्ले, टीकप्रसाद पोख्रेल, गोविन्दप्रसाद मैनाली, चन्द्रमान श्रेष्ठ, बबरजङ्ग थापा, मानबहादुर कर्माचार्य, वीरेन्द्रनाथ उप्रेती, नगेश राजभण्डारी, लालप्रसाद श्रेष्ठ र नरेन्द्र कार्की रहनुका साथै शुभेच्छुकका रुपमा तीलकराम पोख्रेल र बमबहादुर राजभण्डारी रहेको पत्रिका उल्लेख गरेको. देखिन्छ । यसरी साहित्यिक, साँस्कृतिक र सामाजिक उन्नयन गरी अन्धकारमा रहेकाहरुलाई मार्गदर्शन गराउने र ज्ञान बढाउने ध्येयका साथ अगाडि बढेको चुरे प्रकाशन हरिवन सर्लाहीको राजनैतिक÷प्रशासनिक हस्तक्षेपबाट सम्पूर्ण पत्रिका जफत गरी नष्ट गरेको देखिन्छ । यसपश्चात् अबदेखि पत्रिका प्रकाशन लगायतका कुनै पनि गतिविधि गरे कडाभन्दा कडा कारवाही गर्ने चेतावानी प्रशासनले दिएको विषयलाई सम्पादकमध्येका मेघराज कोइरालाबाट जानकारी पायौँ । यसपछि एउटा लक्ष्य लिएर हिँडेको यो साहित्यिक टिमले आफूले आर्जन गरेका कुरालाई आफ्ना सहकर्मी साथीभाइहरुमा मात्र सीमित नरही जनचेतना बढाउने लक्ष्यका साथ अगाडि बढेको देखिन्छ ।
कसरी रह्यो त यो ?
यसको पनि एउटा कथा रहेको छ । हरिवन सर्लाहीका अग्रज साहित्यकार तथा संस्कृति विद् पार्थमणि भट्टराईज्यूको निजी पुस्तकालयमा आजभन्दा चालीस वर्ष अघि ‘चुरे’ पत्रिका देखेको थिएँ । त्यसबेला त्यस पत्रिकाप्रति खासै रुचि रहेन । साहित्यप्रति रुचि बढ्र्न थालेपछि काका पार्थमणि भट्टराईसँग ‘चुरे’ पत्रिकाबारे जानकारी लिँदा स्थानीय किराना पसलमा देखेपछि सोको मूल्यभन्दा निकै दाम चुक्ता गरी आफूले सुरक्षित राखेको बताउनुभयो । यसले स्पष्ट भयो बौद्धिकवर्गले मात्र विगतको इतिहासलाई सुरक्षित राख्दो रहेछ । यसरी इतिहासलाई जीवित राख्ने काम एउटा बौद्धिकवर्गबाट हुँदो रहेछ । वार्तालापको क्रममा आफूले आर्जन गरेको ज्ञानलाई अरुलाई बढ्ने र त्यसका विषयमा बताई र नयाँ विचार सिर्जना गर्नुपर्छ भन्ने सोच राख्नु हुने संस्कृति विद् मेरा काकाले उक्त ‘चुरे’ पत्रिका अध्ययनका लागि मलाई दिनु भयो । र, यो पत्रिका अध्ययनपश्चात् कुनै राष्ट्रिय पत्रिका यसको ऐतिहासिकतालाई उजागर गर्ने सोच राख्दा–राख्दै निकै कालखण्ड बिते मेरा । यस समय विभिन्न ठाउँमा डेरा सर्नु पर्ने वाध्यताका कारण कुन बोरामा सो पत्रिका प¥यो ठम्याउन सिकिएन । अनि, केही वर्ष पछि डेरा सर्ने समस्याबाट मुक्त भएपछि पुस्तक राखेका बोराहरु खोल्दा उक्त पत्रिका हात लाग्यो । प्राप्त भएपछि ‘हरिवन’ स्मारिका छपाउने ध्येयले ‘चुरे’ पत्रिकाको ऐतिहासिक महत्वलाई दर्साएर एउटा लेख पनि लेखेँ तर आफ्नो बसाइ टाढा भएकाले पठाउन असमर्थ रहेँ । त्यसबेला अहिलेको प्रविधिसँग आफू अपरिचित भएकाले पनि समस्या परेको आफूलाई महसुस नभएको. होइन । यसरी ‘चुरे’ पत्रिकाको पहिलो अङ्क आफूमा मात्रै सीमित रहेकाले मन कुँडिएको अवस्थामा श्री चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय हरिवन सुकेपोखरी सर्लाहीका वि.सं. २०३२ सालमा एसएलसी दिने साथीहरुमध्ये निरन श्रेष्ठ, नारायण ढुङ्गेल, दिनेश अधिकारी, अशोक कर्ण, कुमार श्रेष्ठ, जयनाथ पोख्रेल, दीपक न्यौपाने बीच विद्यालयको स्वर्णजयन्तीका उपलक्ष्यमा केही गरौँ न भन्ने जुम मिटिङ भयो । त्यस मिटिङमा विभिन्न विषयको प्रस्ताव आएपनि एउटा स्मारिका निकाल्ने तय भयो । यसपछि निरन श्रेष्ठको कार्यकक्ष बनेश्वर काठमाडौँमा भौतिक रुपमा निरन श्रेष्ठ, नारायण ढुङ्गेल, दिनेश अधिकारी, दीपक न्यौपाने र म भेला भई स्मारिकाको खाका तयार गरौँ । त्यस स्मारिकामा सम्पूर्ण साथीको वायोडाटा राख्ने, हरिवनमा विगतमा भएका गतिविधिका बारे लेख्ने अनि स्कुल स्थापनाको झल्को आउने गरी संस्थापक सरहरुलाई लेख्न अनुरोध गर्ने मात्र नभई संस्थापक हेडसारका साथै संस्थापक सरहरुलाई सम्मान गर्ने भन्ने विषयको टुङ्गो लाग्यो । यही क्रममा ‘चुरे’ पत्रिकाको बारेमा म लेख्छु, त्यो पत्रिकाको पहिलो अङ्क मसँग छ भनेपछि कवि÷गीतकार मित्र दिनेश अधिकारीले मागे । नाइँ भन्न सकिनँ । अनि पत्रिकाकै रुपमा फोटोकापी गर्ने प्रविधि आएको छ अहिले त्यसलाई पत्रिकाकै रुपमा ल्याउँछु भनेर दिनेशले भनेपछि मैले दिएँ । नभन्दै पत्रिकाकै रुपमा आएको मूल कपीबाट दुईप्रति निकाले पछि एक÷एक प्रति हामीले राखी मूलप्रति चाहिँ मदन पुरस्कर गुठीको पुस्तकालयलाई दिने सल्लाह भयो । यस पछाडि एउटा कारण रहेको छ, त्यहाँ यो पत्रिका सुरक्षित हुनका साथै यसलाई डिजिटल प्रति बनाई पुस्तकालयले आफ्नो वेवसाइटमा पनि राख्छन् । यसले ‘चुरे’ पत्रिकालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने छ भन्ने पनि हो ।
‘चुरे’ पत्रिकाका बारेमा मैले लेख्ने सहमतिलाई कायमै राखी दिनेशले फेसवुकमा यसका बारेमा छोटो टिप्पणी राख्ने क्रममा यस पत्रिकाका सम्पादकमध्येका एक आदरणीय गुरु मेघराज कोइराला (चतुभुजेश्वर जनता माध्यमिक विद्यालय हरिवन, सुखेपोखरी सर्लाहीका संस्थापककालका शिक्षकमध्ये एक) लाई फोन गरेर सोधे छन्— ‘सरसँग ‘चुरे’ पत्रिका छ त ?’ उहाँको जवाफ यस्तो रहेछ— ‘कहाँ हुनु ? चुरे युवा क्लबमा प्रशासनले छापा मारेर सबै लगिहाले नि ? क्लब नै ध्वस्त भयो । हामीसँग केही रहेन । त्यसपछि स्रोत समेत बताएर दिनेशले भनेछन्— ‘चुरे’ पत्रिकाको एकप्रति अहिले मेरो हात हातमा छ । त्यसपछि सरको प्रतिक्रिया रोचक रहेको छ— ‘यो त धेरै वर्ष अगाडि मरेको र पिण्डपानी दिँदै आएको बाबु अचानक आँखा अगाडि ठिङ्ग उभिन आइपुगे जस्तो खुसीको कुरो पो भयो त !’ (अधिकारी, फेसबुक १६ सेप्टेम्बर २०२१) । यसरी सर्लाही जिल्ला कै पहिलो पत्रिका ‘चुरे’ ऐतिहासिक दस्तावेज रहेको मेघराजसरको भनाइबाट स्पष्ट भएको देखिन्छ ।
समग्रमा पत्रिका भनेको आवाजहीनहरुको आवाज हो । यसलाई बौद्धिकवर्ग जतन गर्दछ । बौद्धिकवर्ग भनेको जगत्को आँखा हो, जगत्मा भइरहेका गतिविधि र त्यसले जगत्मा पर्ने प्रभावलाई आममानिसमा फैलाउने काम गरेको हुन्छ । जुन मेघराज कोइराला सरको टिमले गरेको देखिन्छ । उहाँहरुको प्रयासलाई राजनैतिक पूर्वाग्रह राखी गला घोटे पनि विचार कहिल्यै मर्दैन भन्ने भनाइको चरितार्थ भएको छ यहाँ । नभए यो ५०÷५१ वर्षको अवधिमा ‘चुरे’ पत्रिका बिलाउनु पर्ने हो । तर, बिलाएन अझ यसले माया पाएको छ । यसर्थ ‘विचार विजुलीभन्दा बेगवान् हुन्छ’ भन्ने खप्तड स्वामीके भनाइले यहाँ सार्थकता पाएको छ । एउटा साहित्यिक विचारबाट प्रेरित रहेको ‘चुरे’ पत्रिका प्रकाशन गर्ने मेघराज कोइराला र नारायण राजभण्डारी, ‘चुरे’ पत्रिकाको बीउ जोगाएर राख्ने संस्कृति विद् पार्थमाणि भट्टराई अनि ‘चुरे’ पत्रिकाको अझै जीवन रहेको छ भन्ने सुन्नासाथ खुसी प्रकट गर्ने कवि÷गीतकार दिनेश अधिकारी यी सबै शब्दका पुजारी हुन् । यी शब्दसाधकलाई धन्यवाद ।
वि.सं. २०२८ सालको हरिवन अहिलेको जस्तो हरिवन थिएन । सदरमुकाम मलङ्गवा जान पनि साह्रै मुस्किल रहेको अवस्थामा ‘चुरे’ पत्रिकाका प्रकाशन गर्नु भनेको स्वतन्त्रता, समानता र ज्ञानको आलोक छर्नु नै हो । यसप्रकारको ज्ञानको आलोक छर्न खोज्ने ‘चुरे’ पत्रिकालाई प्रशासनले मुन्टा भाँच्न खोजेपनि भाँचिएन र भाँचिदैन पनि । एउटा भनाइ रहेको छ ‘अर्जुनको वाण मक्किसक्यो, वेदव्यासका वाणी अझै मौलाउँदै छ ।’ यसले पुष्टि गर्दछ शब्दलाई आँधीले उडाउन सक्दैन । शब्दको संवेदना र चेतनाको फाँट अटल रहन्छ, जसरी ‘चुरे’ पत्रिका रहेको देखिन्छ ।
आन्तरिक पक्ष
साहित्य समाजको प्रतिबिम्ब हो । स्रष्टाहरुले साहित्यमार्फत मानवीय संवेदनाका साथै प्रजातान्त्रिक अनुभूतिहरुलाई समाज अगाडि राख्दछन् । साहित्यको शाश्वत पक्ष भनेको यही हो । विचारको बदलिँदो परिस्थितिमा स्वतन्त्रताको उपयोग र अभ्यास गरिरहेका जनताको अनेक आकाङ्क्षा र रुचि रहन्छ । यसप्रकारको रुचिमा देशमा साँस्कृतिक, साहित्यिक र शैक्षिक जागरण अभिवृद्धि गर्ने कामलाई अधि बढाउनु पनि हो । यस्तो अहम् भूमिका निर्वाह गर्ने लक्ष्य लिई वि.सं. २०२८ सालको नववर्षको उपलक्ष्यमा ‘चुरे’ पत्रिकाको प्रकाशन भएको देखिन्छ । यसभित्र सम्पादकीयबाहेक कविता आठओटा, लघुकथा दुईओटा, निबन्ध एउटा, लेख एउटा, हास्यव्यङ्ग्य एउटा, दुईओटा रोचक जानकारी र एउटा स्तम्भ रहेको देखिन्छ । यसरी ‘चुरे’ पत्रिकाका सौगातहरु निम्नानुसार रहेको देखिन्छ :
कविताहरु
(१) हृदय छामौँला : नारायण राजभण्डारी
(२) एउटा क्याक्टस : राधा घिमिरे
(३) मेरो अलवम : रविन थापा ‘दीपक’
(४) नववर्ष : सुश्री उमा पोख्रेल
(५) चुरे के भन्छ ? : वासुदेव निरौला
(६) तिमी उदाई रहू : सुरेन्द्रकुमार ‘नेवा’
(७) मलाई हर्ष लाग्छ : सुश्री सावित्रीकुमारी
(८) अभीशप्त जीवन : सुश्री विणा पोख्रेल
लघुकथाहरु
(१) अप्रेसन गर्नु पर्ने आँखा : माधव कोइराला
(२) सङ्घारमा उभिएर : प्रतिमा ‘प्रबाल’
निबन्ध
आशा : सुश्री सङ्गीता
लेख
हरिवन गाउँ पञ्चायत : तीलकबहादुर के.सी.
हाँस्य
पत्याउनु हुन्छ भने : दिलिपकुमार कोइराला
रोचक जानकारी
(१) पत्याई नसक्नु सत्य : ससांसु
(२) आफ्नो परीक्षा गर्नोस् : ससांसु
(३) यो पनि सुन्नोस् : मेराको
स्तम्भ – प्रश्न गर्नोस्
यसरी ‘चुरे’ पत्रिकाका रहेका सौगात कालजयी रहेका छन् । त्यसको क्रमश : टिप्पणी ता गरौँला नै । योभन्दा पनि उबेलामा लेखिएको सम्पादकीय अहिलेको अवस्थाको सन्दर्भमा पनि उतिकै सान्दर्भिक रहेको छ । त्यसैले उक्त सम्पादकीयको पूर्ण पाठ यहाँ राखिएको छ । राख्नुको कारण ‘चुरे’ आफै बोलेको छ । यसमा राष्ट्र बोलेको छ, यसमा जनभावना समाहित भएको छ अनि चुरेको भावना रहेको छ । त्यसैले वर्तमान अवस्थामा चुरेलाई दोहन गर्न पल्केकाहरुका लागि यो एकप्रकारको झापड नै हुन पुग्छ जस्तो मलाई लागेको छ । यसर्थ सम्पादकीय :
रुवाइहरुलाई सङ्गालेर……..
चुरेको एउटा शदियौ (सदी) पुरानो ढुङ्गा तपाईँ उठाउन सक्नु हुन्छ । कान भए यसका ढुकढुकीहरु निश्चय नै सुन्नुहुन्छ —ढुकढुकीहरु जस्ले (जसले) हरेक सदि (सदी) को पिडी (पिँढी) को कथा भनिरहेको हुन्छ । यसका आवाजहरु कथा नै कथाको बोली भएका छन्—सिन्धु घाँटीको सभ्यता छोएर । चुरेको नै शब्दमा—
“हरदिन एउटा सेक्सपियर हलो जोतिरहेको हुन्छ— मेरो छातीमा । एउटा बुद्धलाई घाँस काट्ने पाएको छु ।”
“एक दिन किट्स र फेनी मेरो जङ्गलमा दाउरा काट्न आएका छन् । किट्स एकदमै अपरिस्कृत शब्दहरुमा फेनीलाई सम्बोधन गर्दछ—उनको हृदय छोएर । फेनी मुग्ध हुन्छे । फेनी हराउँछे, किट्स व्यग्र बन्छ । उस्ले (उसले) हावामा आवाजहरु छर्छ । आवाजहरु पाना भएर वर्षिन्छन् (बर्सिन्छन्) । वर्षाले फेनी सिञ्चित हुन्छे । यसरी सधैँ सधैँ एउटा किट्स यसरी नै व्यग्र हुन्छ ।”
“यी त पछिका कुरा । सगरमाथा र गौरीशङ्कर मेरै अगाडि उचाई उठे । सगरमाथा र गौरीशङ्कर मैले भाइ पाएँ । पानी–पानी भएको सम्म तराईँको काल्मे पानी एक दिन युधिष्ठरले पिये ।”
“सिङ्गै महाभारतको कथाहरु यी मेरा आँखाहरुमा अटाई न अटाई छन् । मैले ती रौद्र दिनहरुलाई पनि पचाएको छु । मेरो गर्भभित्र च्याएर हेर—यहाँ सम्पूर्ण रामायण छ । एउटा सिङ्गो महाभारत छ । गीता, तिमी अझै सुन्न सक्दछौँ, चुरेमा उभिएर यदि हिमाल र तराई तिमी हेछौँँ भने । हिमालय महाभारत र तरार्इँको कुना–कुनासम्म पनि तिमी गीतालाई हराये खोज ।”
“यस देशको नदी नदीमा गङ्गाले भीष्म जन्माएकी छन् । व्यास बिना कलम हिँड्छ सिङ्गै युगको गवाही म छु शायद । त्यसैले मेरो आवाजहरुमा अनुभूतिको मिठो.सम्मिश्रण छ । तिम्रा उकुसमुकुस अभिव्यक्तिहरुलाई म उन्मुक्त हावा दिँउला । तिमीले फक्रिनु छ ।”
“आऊ, तिम्रा सोचाइका बिरुवाहरुलाई म पानी दिएर छोडूँला । अनि सिञ्चित गरिदिँउला––हिमालयको हिमपूर्ण हावा, महाभारतको पानी र तराईको तातोले । म फुकिदिउँला तिमी फक्र ।”
त, यसरी तपाईँको सामुन्ने चुरे छ । नवोदित साहित्यिकहरुको अपरिस्कृत श्रृजना (सिर्जना) छ यो । यहाँ हिमालय उँचो पार्ने कलाकार छन्, चन्द्र यात्रीहरु पनि छन् यहाँ । यसभित्र तिनीहरुको साहस र प्रेरणाका कथाहरु छन्, र रुवाईहरु पनि छन् । आज यहाँ तिनै साहस र तिनै रुवाईहरुलाई सङ्गालेर ……..
‘चुरे’ पत्रिकाको सम्पादकीय कालजयी रहेको छ । यसप्रकारको सम्पादकीय सङ्गालेर प्रकाशन भएको ‘चुरे’ पत्रिका लामो कालखण्डसम्म सर्प गुडुल्किए जसरी बसिरह्यो एक समयसम्म । यो एउटा दुःख क्षण हो । यस्तो क्षण भएपनि सायद समय नआई पुगेकाले ननिस्कने होला । अब समय आयो । त्यसैले ‘चुरे’ पत्रिकाका रहेका सबै सौगातहरुको क्रमश ः निम्नानुसार टिप्पणी गरिएको छ ः
‘चुरे’ पत्रिकाको पहिलो सौगात ‘अप्रेसन गर्नु पर्ने आँखा’ कथा रहेको छ । यसका कथाकार माधव कोइराला हुन् । उनले यस कथामा सामाजिक मनोविज्ञानलाई समेटेको देखिन्छ । यसक्रममा जीवन बाङ्गो–टिङ्गो, उकालो–ओरालो, सङ्गति–विसङ्गतिको बाटोबाट हिँड्छ भन्ने चिन्तन रहेको यस कथामा हामीले भन्ने गरेको जीवन र हामीले भोग्ने जीवनमा अलग रहेको प्रसङ्ग रहेको छ । हरेक व्यक्तिको हेराइ अगल–अलग हुने सोचाइ अगल–अलग हुन्छ भन्ने प्रसङ्गलाई कथामा यसरी प्रस्तुत गरिएको छ—‘सधैँ एउटा रसिलो बिहान दिन बोकेर साँझ भेट्छ । एउटा जीवन सुरुआत बोकेर पूर्णता भेट्छ या समाप्ति देख्न सक्छ । पृथ्वी सेलाउँदो छ तथापि यी तपस्याहरु सधैँ गर्मिदा छन्—चाहना आस्था र समर्पण बोकेर ।’ यस प्रसङ्गमा स्त्री र पुरुषको आकर्षण र विकर्षणका साथै प्रेम र घृणा, विश्वास र विश्वासघात रहेको देखिन्छ । समाजमा बसेका मानिसहरुले एकअर्कालाई हेरेर जीवन बिताउँछन् । उनीहरु आफ्ना कठिनाइ जीवनमा जे कुराले उनीहरुलाई आनन्द दिन्छ र कसरी पूर्ण जीवन बाच्न सकिन्छ भन्ने प्रयत्नमा ध्यान दिएको देखिन्छ ।
कथामा रहेकी ‘रानी’ पात्रले कथाकै ‘म’ लाई रुचाउँछे । तर, एउटा लक्ष्य बोकेको ‘म’ पात्रले त्यसलाई अस्वीकार गरेको देखिन्छ । ऊ भन्छ—‘रानी ममाथि होमिन चाहन्छे—म जान्दछु । तर मेरो यस युगको अनुपम सिर्जना बिनष्ट हुन सक्छ, यदि म उसलाई अपनाउँछु भने ।’ यसरी उनीहरु आ–आफ्नै आनन्दमा रमाउने क्रममा रानी जान्छे । कहाँ कता जान्छे भन्ने विषयमा ‘म’ पात्र अनभिज्ञ रहेको छ । चार वर्ष पछि रानीलाई देख्दा रानीमा आएको परिवर्तनलाई ‘म’ पात्रले कथामा भनेको छ—‘कसरी विश्वास गर्नु कि लङ्गडी र मगन्ते एउटी बुढिया चार वर्ष अघिकी रानी नै हो भन्ने….. ।’ यसरी ‘म’ पात्रले गरेको टिप्पणीबाट कथामा फ्रायडिय मनोविज्ञान पनि रहेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको दोस्रो सौगातका रुपमा ‘हृदय छामौला’ कविता रहेको छ । यस कविताका रचयिता नारायण राजभण्डारी हुन् । उनले एउटी प्रेमीलाई भोलि हुन सक्ने सम्भावनालाई सङ्केत गर्दै लेखिएको कविता हो यो । कवितामा भनिएको छ :
‘नहुनु पर्ने तैपनि
परिस्थितिवश म अर्कैको भै हाले भने
हावाको मधुर स्वरमा
म तिम्रो मीठो सङ्गीत सुनुँला
शशिको शीतल प्रकाशमा
तिम्रो–मेरो सर्वश्वको
अनुहार देखुँला ।’
यसरी आफ्नी प्रेयसीसँग विछोड केही गरी भैहालेको खण्डमा उनलाई फूल–फूलमा पात–पातमा अनि सम्झनाको मातमा भेटौला भन्ने वाचा कविले गरेको देखिन्छ । यसर्थ प्रेम फूलको सुगन्धसँग गाँसिएको हुन्छ, हिमालको टाकुरासँग मिसिएको हुन्छ, समुन्द्रको गहिराइमा रहेको हुन्छ भन्ने भाव रहेको यस कवितामा स्वच्छन्दवादी भाव रहेको देखिन्छ । यसरी प्रेम जीवनमा अपरिहार्य रहेको सङ्केत गर्दै प्रेमलाई प्रकृतिको समीपमा राखी आफ्नी प्रेयसीप्रति समर्पित रहेको भाव कवितामा रहेको देखिन्छ । त्यसैले यो कविता स्वच्छन्दवादी चिन्तनबाट अगाडि बढेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको तेस्रो सौगातका रुपमा हविन गाउँको अवस्थालाई चित्रण गरिएको छ । अनि, यस आसपासका ऐतिहासिक स्थलका रुपमा रहेको मूर्तियाको पनि उल्लेख गरिएको छ । भग्नावशेषका रुपमा रहेको यस क्षेत्रको उत्खनन हुन बाँकी रहेको छ । हरिवनको वर्णन गर्ने हरिवनमा रहेको पोखरी राजा जनकका भाइ सुवाहुले खनाएकाले यस पोखरीको नाम सुखेपोखरी रहन गएको पौराणिक तथ्यलाई पनि उजागर गरेको देखिन्छ । सायद सुवाहुबाट अपभ्रंश भएर जनजिब्रोले सुखेपोखरी भनेको पनि हुनसक्छ । त्यस्तै यस लेखले चुरे क्षेत्रमा पत्थरकोइलाको खानी रहेको सङ्केत पनि गरेको छ । समग्रमा यस लेखमा तात्कालीन अवस्थाको सुन्दर चित्रण रहेको भएपनि हरिवनको उत्तरमा रहेको चापिनी भगवती नाम, कैशालपुरी महादेव र पूर्वमा लखनदेही त्रेतायुगका दशरथाका छोर मर्यादापुरुषोत्तम भगवान् रामचन्द्रका भाइ लक्ष्मणको (तराईतिर लखन भन्न गरेको) को नामसँग खोलाको नाम जोडिएको पनि हुनसक्छ । यसर्थ यो हरिवन नगर प्राचीनकालदेखि नै हरिको बास भएको स्थानको रुपमा दिँदा अत्युक्ति नहोला ।
‘चुरे’ पत्रिकाको चौथो सौगातका रुपमा ‘एउटा क्याक्टस भएर’ कविता रहेको छ । यस कविताका रचयिता राधा घिमिरे हुन् । यसमा एउटी नारीभित्र कुण्ठा रहेको छ । एउटा जिन्दगी जिउने क्रममा बहार शून्य भएर बाँच्नु परेको विवशतालाई कविताले उठाएको छ । कविताको कवितांशमा भनिएको छ :
आफ्नो निर्दिष्ट जीवन स्तरदेखि
अनि दिक्क लागेर आउँछ—
आफ्नै प्रकृति र अवस्थादेखि ।
समग्रमा यस कवितामा एउटी नारीले आफ्नो जीवन सुहाउँदो तापमान नपाएकीले उसले ‘बाँच्नु के ः ? बाँची दिनुपर्छ एउटा क्याक्टस भएर’ भन्ने सङ्केत गरेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको पाँचौँ सौगातका रुपमा ‘आशा’ निबन्ध रहेको छ । यस निबन्धका निबन्धकार सुश्री सङ्गीता पोख्रेल हुन् । उनले पत्रात्मक शैलीमा एउटी नारीको मनोदशालाई व्यक्त गरेकी छन् । यसक्रममा निबन्धमा नारी प्रकृति हो, तरलता हो, सृष्टिको स्रोत हो, नारी समय र समय नारी भएर बग्ने मात्रै होइनन् भन्ने देखाउने क्रममा निबन्धमा भनिएको छ, ‘नारीमा कठोर हृदय भएको पुरुषको जस्तै हृदय हुन्छ । त्यसैले त नारी आफू सकिएर पनि एउटा मान्छे अझैँ सुरुआतको आशा गर्छ । ऊ केही नपाउन सक्छ । मान्छेको मृगतृष्णाहरुको भूल नै तपाईँ हुनुहुन्छ । यसैले मान्छे यहाँ भूल गर्छ । दिन परदिन, क्षण प्रतिक्षण मरिसकेको मान्छे आफूलाई बाँच्ने र बाँचेर संसार पचाउने आसा गर्छ । ऊ निश्चय नै मर्न सक्छ, मरिसकेपछि पनि उसका मृगतृष्णाहरुले नयाँ क्षेत्र बनाउन सक्छन्—तपाईँलाई टाउको र हृदयमा राखेर ।’ यसरी यस निबन्धले जीवन समयको एउटा खेल हो । खेलमा दुवैको पक्षको जित हुन सक्दैन । रैपनि मानिस खेल खेलिरहन्छ भन्ने भावनालाई सम्बोधात्मक रुपमा लेखिएको यस निबन्धमा शून्यवादी, विसङ्गतिवादी रहँदा–रहँदै पनि अस्तित्ववादी चिन्तन बोकेर मानिस आफ्नो कर्तव्यमा लागिरहेको हुन्छ भन्ने सङ्केत देखिन्छ ।
‘चुरे’ पत्रिकाको छैँटौँ सौगातका रुपमा ‘मेरो अलवम्, मायालुको रुपरेखा’ रहेको छ । यसका रचनाकार रविन थापा ‘दीपक’ रहेका छन् । एलबम भित्र अतीतको सम्झना लुकेको हुन्छ । यसले प्रेमलाई जीवन्त राख्ने काम गरेको देखिन्छ । ‘मेरो अलवम्, मायालुको रुपरेखा’ भन्ने शीर्षकको कवितामा प्रेमालिङ्गनको भाव रहेको छ । यसैले यो कविता साँच्चै नै एलवम भएको छ । एलवम जसले पुराना स्मृतिलाई ताजा बनाई दिन्छ । हो, यस कवितामा एलवमका पन्ना जति पल्टिदै जान्छन् उति आर्तनाद र पिल्सिएका व्यथाको चित्र हृदयमा टाँसिन्छ अनि अतीतका दिन झल्झली आँखामा आई आँसु झर्छ । यसर्थ एलवम जीवनजगत्को रोदन मात्र हैन खुसीका क्षणलाई पनि समेट्ने एउटा दस्तावेज हो भन्ने धारणा कविको रहेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको सातौँ सौगातका रुपमा ‘पत्याई नसक्नु सत्य’ रहेको छ । यसलाई ससांसुले प्रस्तुत गरेका हुन् । यस प्रस्तुतिमा पूर्व २ नंं. दुम्जाको एक ज्योतिषीको अनुभवको रोचक प्रसङ्ग रहेको छ । त्यस्तै अर्को प्रसङ्ग दोलखा जिल्लाको रहेको छ । यसमा स्कुलको सञ्चालकहरुको बेथितिलाई औल्याइएको छ भने अर्को सर्लाही जिल्लाको मलङ्गवामा रहेको नीमको रुखबाट ताडीको रस झरेको रोचक प्रसङ्गलाई समेटिएको देखिन्छ ।
‘चुरे’ पत्रिकाको आठौँ सौगातका रुपमा ‘नववर्ष’ कविता रहेको छ । सुश्री उमा पोख्रेलले रचना गरेको यस कवितामा ‘नववर्ष’ एउटा उत्सव हो । यो जहिले पनि एउटा मिठो सन्देश लिएर आएको हुन्छ । यसको आगमन पछि विगतका अभिशप्त जीवनको इतिहासलाई मेटी आजलाई सिङ्गार्न सधैँ–सधैँ आउँछ भनेर सकारात्मक सन्देश बोकेको सुन्दर कविता हो यो ।
‘चुरे’ पत्रिकाको नवौँ सौगातका रुपमा वासुदेव निरौलाको ‘चुरे के भन्छ ?’ शीर्षकको कविता रहेको छ । यस कविताले चुरेले आफ्नो बारेमा आफैले गरेको वर्णन रहेको छ । अहिले पनि त्यतिकै सान्दर्भिक भएकाले यस कविताको भने पूर्ण पाठ प्रस्तुत गरिएको छ । जुन यसप्रकार रहेको छ :
‘चुरे के भन्छ ?’
म एक सानो अग्लो र होचो हरियो पहाड ।
म नै हुँ साथी सङ्गीहरुको सुनौला बहार ।।
त्यो हिमालय ती महाभारत उत्तर हाँसेको ।
भाइ र बैनी मेरो हुन बुझ पिरती गाँसेको ।।
रामको शक्ति बुद्धको वर्ण छ मेरै छातीमा ।
भारत युद्ध कृष्णको गीता छ मेरै मुटुमा ।।
मुस्कान मिठो छरेर बस्छु चौतर्फी नेपालको ।
प्रकृतिसँग खेलेर हाँस्छु त्यो उच्च हिमालयको ।।
यहाँ कविताको पूर्ण पाठ उतारिएको छ । कारण, यसमा चुरेको आत्मानुभूति रहेको छ । यो अहिलेका पिँढीले जान्नु पर्ने विषय हो । यसले मानिसलाई संंवेदनशील बनाउँछ । अन्त्यानुप्रासको सुन्दर प्रस्तुति रहेको यस कविताले संसारमा रहेका जीवन र तिनमा रहेको प्रवृत्ति, स्वभाव क्रियाकलाप र जीवनदर्शनलाई आत्मसात् गरी नेपालको शिरलाई ठाडो पार्ने क्रममा मिठो मुस्कानलाई विश्व सामु छर्नु भन्ने भाव कवितामा रहेको देखिन्छ ।
समग्रमा ‘चुरे के भन्छ’ शीर्षकको कविताले नेपाललाई प्रतिनिधित्व गरेको छ । चुरेले निष्काम र निस्वार्थ रुपमा मानवकल्याणका लागि काम गरी आफ्नो सौन्दर्यलाई अक्षुण्ण गर्नुपर्छ भन्ने मूलभाव कविताको रहेको देखिन्छ । यसरी मीठो मुस्कान छर्ने ‘चुरे’ पत्रिकालाई मात्र होइन चुरेशृङ्खला नै अतिक्रमण, अतिदोहन, अतिचरन, आगलागी र अव्यवस्थित बसोबासका कारण यसको अस्तित्व सङ्कटमा परेको छ । यसलाई सरकारले रोक्नको साटो उल्टै चुरेलाई दोहन गरेको देखिन्छ, जसरी ‘चुरे’ पत्रिकालाई प्रशासनिक हस्तक्षेप भएको थियो ।
‘चुरे’ पत्रिकाको दसौँ सौगातका रुपमा ‘आफ्नो परीक्षा गर्नोस्’ रहेको छ । यसलाई ससांसुले प्रस्तुत गरेको देखिन्छ । यस प्रस्तुतिमा सात ओटा प्रश्न राखिएको छ । सबै प्रश्नहरुको सही उत्तर दिएमा उत्तर दिनेलाई रु.१५ पुरस्कार दिने व्यवस्था राखेको देखिन्छ । यस प्रस्तुतिमा विभिन्न ठाउँमा बोलिने कथ्य भाषालाई प्रश्न बनाएको देखिन्छ ।
‘चुरे’ पत्रिकाको एघारौँ सौगातका रुपमा हास्य रहेको छ । यसलाई दिलिपकुमार कोइरालाले प्रस्तुत गरेका हुन् । यसको शीर्षक ‘पत्याउनु हुन्छ भने मात्र –हा….हा….हा….।’ यस प्रस्तुतिमा चार सन्दर्भ रहेका छन् । यसको स्वरुप हेर्दा चुट्किलासँग मिल्दोजुल्दो रहेको देखिन्छ । यसलाई नै हास्यका रुपमा रखिएको देखिन्छ ।
‘चुरे’ पत्रिकाको बाह्रौँ सौगातका रुपमा ‘संघारमा उभिएर…शीर्षको कथा रहेको छ । यस कथाको कथाकार हुन् प्रतिमा ‘प्रबाल’ । उनले यस कथामा सामाजिक सङ्कट र त्रासदीलाई उजागर गरेकी छन् । मान्छे वर्तमान जीवनमा क्षणिक आनन्दका लागि मायाप्रीति र रसरङ्गमा भुलेको यथार्थलाई कथाले अघि सारेको छ । फ्रायडवादी मनोविज्ञानलाई आत्मसात् गरी लेखिएको यस कथामा सामाजिक विसङ्गतिलाई प्रस्तुत गरिएको छ । प्राकृतिक बिम्बलाई मानवीय सन्दर्भमा आरोपित गरी कथामा प्रस्तुत गरिएको छ—‘नयाँ चाड र ऋतुहरु बेइनाम गुज्रन्छन् मेरो तर ऊ भन्छ—‘यिनीहरुले तातो उपलब्धि दिइसकेका छन् ।’ यसले प्रेममा घात÷प्रतिघात गरेको देखिन्छ । यति मात्र नभई खहरे र झर्नाहरुले बाटो बदली गरेजस्तै उसले बाटो बदले पछि ‘डायरीका पाताहरु अश्रुपुरित हुन्छन् । शाान्ति छाउँछ र आँधी आउँछ । बतास लाग्छ । सधै–सधैँ हिँडेको पाइलाका छापाहरु उड्छन् । जङ्गल उड्छ र नयाँ पालुवा पर्छन् । फर्सी उम्रन्छ र माचिन्छ ।’ यसरी दिन बितेको अवस्थामा एकाएक उसको चिठी आएपछि प्रसङ्गले अर्को मोड लिएको देखिन्छ ।
चिठीको अन्त्यमा ‘ विजय’ नाम राखेको व्यक्तिले ‘विनो’ सम्बोधन गरी भनिएको भनेको छ—‘अब मलाई चिठीमा स्पष्ट हुन देऊ…..। तिम्री आमाको गर्भभित्र मेरो पाप पिण्ड पाकिरहेको छ । ऊ चित्कार छोडिरहेको छ । विनो ! माफ गर मलाई…. मैले त्यो अनियन्त्रित दिन चाहिँ किन सकिँन । …..म पापी हुँ । विजय
यसरी विसङ्गतिवादी, निसारवादी जीवनदृष्टि रहेको यस कथामा सामाजिक मर्यादालाई सन्तुलनमा ल्याउने प्रयत्नको क्रममा ‘संघारमा उभिएर’ कथाको प्रस्तुति सुन्दर रहेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको तेह्रौँ सौगातका रुपमा ‘यो पनि सुन्नोस्’ रहेको छ । मेराको (मेघराज कोइराला) ले काभ्रेपलाञ्चोक जिल्लाका चौँरेलहरुले अङ्ग्रेजी शब्द र साहित्यिक शब्द मिलाएर बोल्ने आदतलाई रोचक र सुन्दर ढङ्गबाट प्रस्तुत गरेका छन् । यसमा दसओटा वाक्यहरु रहेका छन् । ती एउटा उदाहरणका लागि प्रस्तुत गरिएको छ ः ‘मैले आफ्नो काम ‘कम्पल’ (पूरा) गरेँँ । यस्तैयस्तै अरु प्रसङ्स पनि रहेको छन् ।
‘चुरे’ पत्रिकाको चौधौँ सौगातका रुपमा ‘तिमी उदाई रहु मेरो संसारमा…..शीर्षकको कविता रहेको छ । सुरेन्द्रकुमार ‘नेवा’ द्वारा रचयिता यस कवितामा ‘वसन्त’ लाई एउटी प्रेमीसँग तुलना गरिएको छ । प्रेमले व्यक्तिको भावनालाई फुलाउँछ, वसन्तले फूल फुलाएझैँ । यसर्थ प्रेम वसन्तमा फुल्ने फूलभन्दा कम हुँदैन । प्रकृतिको गतिशीलता वसन्त हो भने मान्छेले गति पनि प्रेमबाट नै प्राप्त गर्न सक्छ भन्ने भावको कवितांश निम्नानुसार रहेको छ ः
‘मेरो सम्पूर्ण आत्माका प्यासहरु नै
तिम्रो मृदु मुकानसित
युग–युगसम्म खेलिरहने
एक मात्र साधन बनेको छ ।
त्यसैले प्रिय वसन्त !
तिमी अटल भइरहूँ
सधैँ सधैँ मेरो संसारमा ।
समग्रमा वसन्तमा बोटविरुवाको नयाँ पालुवा आउने, कोइलीको कुहुकुहु अनि प्राकृतिक सुन्दरताले वातावरणलाई मोहित पर्छ । त्यसैले वसन्तका रुपमा तिमी आफ्नी प्रेमी हुनु पर्ने धारणा कविको रहेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको पन्ध्रौँ सौगातका रुपमा ‘मलाई हर्ष लाग्छ’ कविता रहेको छ । कक्षा १० मा अध्ययनरत सुश्री सावित्रीकुमारीद्वारा रचित यस कवितामा प्राकृतिक सौन्दर्यता देखेर आफूलाई हर्ष लागेको प्रसङ्ग रहेको छ । प्रकृति जति सुन्दर प्रफुल्ल रहन्छ, त्यसगरी नै मानिसमा प्रफुल्लत आउने हो भने त्यसले मानवसभ्यतालाई उचाई पु¥याए आफूलाई हर्ष लाग्ने भाव कवितामा रहेको छ ।
‘चुरे’ पत्रिकाको सोह्रौँ सौगातका रुपमा ‘अभिशप्त जीवन’ कविता रहेको छ । यस कविताका रचयिता हुन् सुश्री विणा पोख्रेल । उनले यस कवितामा निस्सारवादी चिन्तन पोखेको देखिन्छ । समय र युगसँग मानिस अगाडि बढे पनि आफू एउटा निस्सार युगमा फुलेकी फूल हुँ । त्यस फूलमा कुनै पनि सुवास छैन । त्यसैले मेरो रित्तो परागमा सुवास कसैले नभरे पनि हुन्छ भनेर एउटा निराशावादी सुसेली यस कवितामा रहेको देखिन्छ । कवि पोख्रेलले उत्साह, उमङ्ग, चाहना र हौसलाप्रति वितृष्णा व्यक्त गरेको देखिन्छ । त्यसैले उत्साह र उत्कण्ठा नभएकी एउटी नारीको ‘अभिशप्त जीवन’ भन्ने भाव रहेको यो निराशावादी कविता रहेको देखिन्छ ।
‘चुरे’ पत्रिकाको सत्रौँ सौगातका रुपमा ‘प्रश्न गर्नोस्’ भन्ने स्तम्भ रहेको छ । यसमा विभिन्न व्यक्ति वा पाठकको जिज्ञासालाई समाधान गर्ने प्रयास गरिएको छ । यस स्तम्भमा रहेका प्रश्नहरु पनि विविध रहेको देखिन्छ ।
उपसंहार
वि.सं. २०२८ सालमा हरिवनबाट प्रकाशित सर्लाहीकै जेठो पत्रिकाका रुपमा रहेको ‘चुरे’ पत्रिकाले साहित्यका विविध विधालाई समेटेको देखिन्छ । यसमा रहेका रचनामा केही भाषिक त्रुटिहरु रहेपनि सरल, सुबोध रहेका छन् । आगामी आकर्षणका रुपमा मेघराज कोइरालाको ‘सहिद’ उपन्यास र नारायण राजभण्डारीको ‘बुलबुल र गुलाब’ खण्डकाव्य धारावाहिक रुपमा आउने भन्ने जानकारी रहेको यस ‘चुरे’ पत्रिका प्रशासनको कोपभाजनमा परेको देखिन्छ । त्यतिबेला ‘चुरे’ पत्रिकालाई अतिवादी चिन्तनले आक्रमण गरेपनि आफूलाई आत्मरक्षाको बाटोबाट हिँडाएर एउटा अनकन्टार समय, अनकन्टार ठाउँमा ज्ञानको आलोक बोकेर अगाडि हिँड्ने अठोट लिएको ‘चुरे’ पत्रिकाले सुरुकै प्रशासनिक हस्तक्षेपका सहनु परेको देखिन्छ । प्रशासनिक हस्तक्षेपका कारणबाट असफलता भोग्नु परे पनि नयाँ बाटो ‘चुरे’ पत्रिकाले भित्रत्रिभत्र नै तय गरेको देखिन्छ । जसको फलस्वरुप अहिले हरिवनमा साहित्यिक मनहरुको बढोत्तरीका साथै सर्लाही जिल्ला भएको साहित्यसम्बन्धी गतिविधि यसको उदाहरणका रुपमा लिन सकिन्छ । यसर्थ ‘पत्रिकाको उद्देश्य मस्तिष्कको स्वतन्त्रता हो, जुन स्वतन्त्रताको मार्गबाट मात्र हासिल गर्न सकिन्छ’ भन्ने चिन्तनका साथ अगाडि बढेको ‘चुरे’ पत्रिकाका सम्पादकज्यूलाई धन्यवाद !
अनि चुरे दर्पण डटकम अनलाइन साहित्यिक पत्रिकालाई पनि साधुवाद । तपाईहरु समक्ष याे भावना यही पत्रिका मार्फत पुर्याउने माैका मिलेकाे छ ।
लेखक परिचय :
नाम : श्यामप्रसाद भट्टराई
प्रचलित नाम : श्याम भट्टराई
जन्म मिति र स्थान : वि.सं. २०१८ जेठ २३ गते, गाम्नाङ, ओखलढुङ्गा
शैक्षिक योग्यता : एमए, एमएड, पिएचडी
माता-पिता : श्री रुक्मिनी भट्टराई, दुर्गाप्रसाद भट्टराई
पेसा : प्राध्यापन
विशेषज्ञता हासिल गरेको क्षेत्र वा विषय : प्राध्यापन, लेखन तथा सम्पादन
अभिरुचिको क्षेत्र : साहित्य, सङ्गीत र समाजसेवा
प्रकाशित कृति : निबन्धसङ्ग्रह —१, कवितासङग्रह—४, बालकथासङ्ग्रह—५, कथासङ्ग्रह—१, समालोचना—१
पाठ्यपुस्तक—१५
आफूले गरेको महत्ववपूर्ण कामहरु : प्राध्यापन र लेखन
विभूषण-पुरस्कार-सम्मान : एसओएस सम्मान, चैतन्य क्याम्पस बनेपाबाट सम्मान, बि पि कोइराला स्मृति ट्रष्टबाट कदरपत्र तथा नगद
हालको बसोबासको ठेगाना : बनेपा—१०, जनगाल काभ्रेपलाञ्चोक
सम्पर्कको माध्यम :
इमेल : harionshyam@gmail.com
मो.नं. ९८६०८९४५१३÷९७४१२१६६५५
फोन : ०११–६६३४६६काठमाडौँ, १९
