साहित्यकार महेन्द्र चालिसेको लघुकथासंग्रह ‘रङ्गभेद’ माथि परिचर्चा कार्यक्रम
स्रष्टा साँझ अमेरिकाको आयोजनामा वैशाख १३ गते आइतवार ZOOM प्रविधिमार्फत् साहित्यकार महेन्द्र चालिसेको लघुकथासंग्रह ‘रङ्गभेद’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा परिचर्चाकार इन्दिरा चापागाईले कृतिकार चालिसेको व्यक्तिगत तथा साहित्यिक परिचय प्रस्तुत गर्नु भएकाने थियो । कृतिमा समावेश गरिएका केही लघुकथाहरूको बारेमा लघुकथाका सैद्धान्तिक मान्यताका आधारमा उहाँले परिचर्चा गर्नु भएको थियो । कृतिको आवरणले कृतिको नामलाई सार्थक तुल्याएको, सबै लघुकथाले समाजका विविध पक्षमा देखिएका विभेदको भावलाई प्रस्तुत गरेको तर केही लघुकथामा देखिएका कालदोष हटाउन सुझाव दिनु भयो ।
परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले कृतिकार चालिसेको लेखनशैली पाठकप्रिय भएको बताउनु भयो । छोटा कथा र लघुकथालाई छुट्याउने क्षणिकता , लघुकत्व र प्रभावकारिता जस्ता तीन तत्वको बारेमा विचार प्रकट गर्दै कृतिकारलाई शुभकामना तथा बधाई दिनु भयो । परिचर्चाकार किरण आचार्यले रङ्गभेद लघुकथाकृतिमा समेटिएका लघुकथाहरूको विशेषता, प्रकृति र उद्देश्यबारे आफ्नो धारणा प्रष्ट पार्नु भएकाे थियो ।
परिचर्चाकार डा. हरिप्रसाद भण्डारीले घटनाबिना लघुकथा नबन्ने र विचारबिना उद्देश्य प्रष्ट नहुने हुँदा लघुकथामा यिनीहरूको अन्तरसम्बन्ध केलाउँदै कृतिभित्रका अधिकाश लघुकथाहरूमा घटना र विचारको सुन्दर संयोजन गर्न कृतिकार खप्पिस रहेको बताउनु भयो । झिनो घटनाबाट कथा शुरू गरेर प्रबल र उच्च दार्शनिक विचार अन्तरघुलन हुनु , प्रचुर व्यङ्ग्यको प्रयोग , यथार्थ घटना राखिनु सबल पक्ष देखिएका छन् । धेरै ठाउँमा विचार व्यक्त गर्ने क्रममा पात्रको सट्टा स्रष्टा हाबी भएको छ जसमा विचार पुर्याउन, विषयको पुनरावृति नगर्न र लघुकथामा कार्य र कारणको सम्वन्धमा ध्यान दिन अनुरोध गर्नु भयो । साथै कथाका बिषय छान्दा सकेसम्म राजनीतिलाई नछान्नु नै कथा सटिक हुन्छ भन्ने सल्लाह दिनुभयो।
परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा कथ्यको विविधता , व्यङ्ग्य प्रहार , लघुत्व र प्रभाकारितामा ध्यान दिइनु , कलात्मक लेखन शैली अब्बल पक्ष रहेको छ । समापनमा बिस्तार हुनु , कौतुहूलता खोलिनु , क्षणिकतामा ध्यान नदिनु , कथालेखनको प्रभाव पर्नु , व्यङ्ग्यगर्दा कलाको प्रयोग नगरिनु , नवीन विषयको खोजी नगरिएको भन्दै आगामी दिनमा ध्यान दिन सुझाउनु भयो ।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा नवराज शर्मा , लता के. सी. र सुरेशकुमार पाण्डे अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।
कृतिकार चालिसेले आफ्नो लेखन क्षेत्र कथा , बाल चित्रकथा र नियात्रालेखन भए पनि पछिल्ला दिनमा लघुकथा लेखनमा प्रेरित भएको बताउनु भयो । किनकि जीवनका साना–साना घटनाहरू हुन्। कहिलेकाहीँ कुनै सामान्य जस्तो देखिने घटना भित्र गहिरो अर्थ लुकेको हुन्छ। त्यस्तै समाजका विसंगतिहरू, मानवीय पीडा, संघर्ष, प्रेम र आशाले पनि लेख्न प्रेरित गर्छन्। साथै, कम शब्दमा गहिरो प्रभाव पार्ने चाहनाले पनि लघुकथा लेखनतर्फ आकर्षित गरिरहेको हुन्छ। यथार्थ र कल्पनाको संयोजन गरेर नयाँ दृष्टिकोण प्रस्तुत गर्नु नै लघुकथाको सौन्दर्य हो भन्ने मलाई लाग्छ। कथाकारका भनाईमा यस्ता परिचर्चा कार्यक्रममा विभिन्न स्रष्टा तथा सहभागीहरूको विचार सुन्न पाउँदा सोच्ने दायरा अझ फराकिलो भएको अनुभूति हुन्छ। यस्ता कार्यक्रमहरूले नयाँ लेखकहरूलाई मार्गदर्शन मात्र होइन, लेखनप्रति थप उत्साह र आत्मविश्वास पनि प्रदान गर्छन्। अनुभवी स्रष्टाहरूबाट सिक्ने अवसर मिल्नु पनि यसको ठूलो उपलब्धि हो। त्यसैगरी उहाँले लघुकथालेखनको उद्देश्य, प्रेरणा र प्रयोजनका विषयमा विचार प्रस्तुत गर्नु भयो । परिचर्चा कार्यक्रम आफ्ना लागि निकै प्रभावकारी रहेको बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापतित्व गर्नुभएकी सभापति साहित्यकार गंगा पौडेलले कृतिकारसंग सामिप्यता रहेकोले उहाँको लेखन र प्रवृत्तिबारे आफू परिचित रहेको विचार प्रस्तुत गर्नु भयो । आयोजकलगायत् उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नु भयो ।
साभार : शब्दपथ
