लोकतन्त्रले माइक्रोफोन त दियो, तर साउन्ड म्युट गरिएको छ – राजु स्याङ्तान, कवि

महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनैतिक आन्दोलनमा सक्रिय छन् । सीमान्तकृत समुदाय, भूमिहरण सम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको ‘ओ पेङ्दोर्जे !’ पहिलो कवितासङ्ग्रह हो । उनीसँग कवितासङ्ग्रहको सन्दर्भमा गरिएको कुराकानी :
तपाईंको भर्खरै प्रकाशित कृति ‘ओ पेङ्दोर्जे !’ को बारेमा केही भनिदिनुस् न ! यो कस्तो किसिमको कृति हो ?
पाठकहरुले यो कवितासङ्ग्रहमा मुलत: तामाङ सभ्यतामा आधारित कथाहरु पाउनु हुनेछ । सङ्ग्रह ६ खण्डमा विभाजित छ । मजदूर, लैंगिकता, प्रेम, पुँजीवाद, कम्युनिस्ट आन्दोलन र तामाङ सभ्यतामा आधारित ५१ कविताहरु सङ्ग्रहमा छन् । ६० र ७० को दशकमा नेपाली समाजले भोगेका उथलपुथलहरु कवितामा उन्ने प्रयास गरेको छु ।
वर्तमान नेपाली कवितालाई कसरी हेर्नुहुन्छ ?
समयको हिसावले एकदमै कष्टकर तर कविताको दृष्टिबाट एकदमै कमजोर समयमा छौं हामी । ७० को दशक नेपाली राजनीति र सबै हिसावले निरासाको दशक रह्यो । महामारीहरु झेल्यौं । निकम्मा राज्यले महामारीमाथि कृत्रिम महामारी थप्यो, त्यसले समाज झनै आक्रान्त बन्यो । यस्तो बेलामा कविहरुले मान्छेको अन्तस्करणमा चलिरहेको हुन्डरी, दुखाइ महसुस गर्नुपथ्र्यो । तर हामीले त्यो दुखाई महसुस गर्न सकेनौं । देशमा देखिने गरि ठूलै राजनैतिक उथलपुथल हुँदा मात्रै हाम्रा काव्यिक इन्द्रीयहरु खुल्ने जस्तो भयो । यसमा हामी चुक्यौं । किनकी यो लोकतन्त्रले हामीलाई माइक्रोफोन त थियो, तर साउन्ड म्युट गरिएको छ । सत्ताधारीहरु भनिरहेका छन्, ‘बोल, बोल । बोल्ने अधिकार दिइएको छ । यही हो लोकतन्त्र भनेको ।’? सीमान्तमा पारिएका मानिसहरुले आवाज म्युड भएको चालै नपाएको पनि हुनसक्छ । यस्तैबेला हामी सिर्जनकर्मीले भन्नुपर्छ,‘यो खोक्रो, झेली लोकतन्त्र हो ।’ तर हामीले अझै जोडजोडले सत्यलाई उजागर गर्न सकिरहेका छैनौं ।
एउटा सशक्त कविता निर्माण हुनका लागि के–कस्ता तत्वहरूको आवश्यकता पर्छ जस्तो लाग्छ ?
अनुभव र स्कुलिङले कविता निर्माणको बाटो अलग बनाउँछ होला । मलाई चाँही सुन्दर कविता बन्न तीन तत्व महत्वपूर्ण लाग्छ : पहिलो, गहिरो समाज चेत । दोस्रो, गहिरो समय चेत र तेस्रो, गहिरो इतिहास चेत । माथिको तीन पक्ष अति महत्वपूर्ण लाग्छ । तीन पक्षसँगै निरन्तर काव्यिक अभ्यास जोड्नुपर्छ भन्ने लाग्छ ।
तपाईंका प्रिय तीन कवि र कविताबारे केही कुरा भनिदिनुहुन्छ कि !
कविता लेखनको सुरुवाततिर पारिजातका कविताहरु दोहोर्याइ तेहेर्याइ पढेको छु । अहिले पनि सम्झना छ, भृकुटिमण्डपको खुला पुस्तकालयभित्र गइ पारिजातका कविताका मन परेका लाइनहरु कापी भरि सारेर ल्याउँथे । कविता लेखनको सुरुवाततिर पारिजातका आख्यान र कविताहरु पढेकाले उनको कविताको प्रभाव धेरै पर्यो । त्यसैले उनको ‘मानुषी’ कविता निकै मनपर्छ । पारिजात नेपाली साहित्यको विशिष्ट पात्र लाग्छ । उनका लेखनी र संघर्षशील व्यक्तित्वले सँधै अगाडि बढ्ने उर्जा दिन्छ ।
मलाई मनपर्ने अर्का कवि हुन् बर्ताेल्ट ब्रेख्त । जर्मनका यी कविलाई धेरैले नाटकको सन्दर्भमा सम्झिएको देख्छु । नाटकमा उनको योगदान विशिष्ट छ । तर म चाँही उनलाई कविका रुपमा धेरै मान्छु । उनका हिन्दी र नेपालीमा अनुदित कविताहरु पढेको छु । ‘जर्सापको ट्याङ्क’ विशेष मनपर्छ । फासीवादीले देश निकाला गरे पनि श्रमजिवीका पक्षमा निरन्तर लेखिरहने उनको दृढपनबाट प्रभावित छु ।
भारतका अवतार सिंह पाश मलाई मनपर्ने अर्का कवि हुन् । उनको ‘सबसे खतरनाक…’ कविता नेपालमा निकै सुनिएको छ । यो कविताले मलाई पनि सपनाको यात्रातिर धकेलीरहन्छ । जिन्दगीलाई सपनाहिन हुन दिँदैन । क्रान्तिकारी कवि पाशका कविताहरु खोजीखोजी पढ्छु, युट्युबहरुमा सुन्छु । उनका कविताहरुले मभित्रको मान्छेलाई मर्न दिँदैन ।
कविहरूले कवितामा नारा, भाषण र विग्रहका कुराहरूमात्रै बढी गरे भन्ने आरोप पनि सुनिन्छ नि । यस विषयमा तपाईंको के विचार छ ?
हामी सबैलाई थाहा भएकै विषय हो, कविता दुई किसिमको हुन्छ : एउटा बुटमुनि कुल्चिएकाहरुको, अर्को बुटले कुल्चिनेहरुको । बुटमुनि कुल्चिएकाहरु जब कवितामार्फत चिच्याउन थाल्छन् तब बुटले कुल्चिनेहरु भन्छन्, ‘यो त कवितै भएन, नारा भयो, भाषण भयो, बिखण्डनकारी तरिका भयो ।’ उनीहरु किन त्यस्तो भन्छन् भन्नेबारे ऐतिहासिक सन्दर्भ केलाउन आवश्यक छ । नाटक, गीतसंगीत लगायत साहित्यका विधाहरुलाई कुनै समय दरबारले आफ्नो मुठिमा लियो । राजामहाराजा र उनीहरुका सन्तान नै गीतकार थिए, नाटककार थिए, साहित्यकार थिए । दरवारकै वरिपरि रिङ्गिनेहरु, दरबारकै भत्तिगान गाउनेहरु ‘महान’ ‘विशिष्ट’ कवि साहित्यकार कहलिए । साहित्यका विधाहरु उत्पिडितहरुको बस्को कुरा होइन, यो त ठूलाबडाको सानको कुरा हो भनियो । श्रमबाट निचोरिएर जन्मिएको असली साहित्यलाई स्थान नै दिइएन । डाँडापाखा परेखीहरुमा अंकुराएका खास साहित्य फक्रनै नपाइ बिलायो । साहित्यलाई दरबारका खोपीहरुमा बन्दी बनाइयो र मोजमस्तीको मेन्युमा थप्यो । तर जब समयको प्रवाहसँगै साहित्य पनि दरबारका पर्खालहरु फोडेर सडकमा निस्कियो, त्यसपछि दरबारमा बस्नेहरुलाई लाग्यो, कविताको अपहरण भयो । साहित्य साहित्य जस्तो भएन । साहित्यलाई बुटमुनि दबिएकाहरुले आफ्नो दमित इतिहास बाहिर ल्याउने माध्यम बनाए । अनि दरबारीयाहरुले खिसिट्युइरी गर्दै भन्न थाले, ‘भाषण भट्याइरहेको छ । यस्तो पनि साहित्य हुन्छ ?’ उनीहरुको आँखाबाट यो कविता भएन । तर उत्पिडितहरुको अन्तरकरणमा कुनै कविताले संवाद गर्न पुग्छ भने त्यो कविता हो । विजेताहरुले कोरेको बाटोमा कविता हिँडे मात्रै कविता हुने मानक अब अस्वीकार्य छ । तर ध्यानदिनुपर्ने पक्ष के लाग्छ भने बुटमुनि कुल्चिएकाहरुले पनि आक्रोश, आवेक र विद्रोहलाई तरिका पुर्याएर भन्न सक्यो भने अझै धेरै मानिसको अन्तरमनसँग त्यसले सिधा सम्वाद गर्न सक्छ । त्यसकारण हामीले पीडा र आक्रोशलाई आम मानिसको अन्तसकरणसम्म कसरी पुर्याउने भन्ने बाटोको खोजी गर्नुपर्छ । तर त्यो बाटो हिंसाहनमा विराजमान हुनेहरुले विश्वविद्यालयका पाठ्यक्रममा लेखे अनुसारको हुनै सक्दैन । हरेक उत्पिडित समुदायले आफ्नो पीडा आफ्नै तरिकाले अभिव्यक्त गर्नेछन् र आफ्नो दमित इतिहासको अभिलेख आफ्नै तरिकाले राख्नेछन् ।
कवि राजु स्याङ्तान अरू कविहरूभन्दा के कुरामा फरक छ जस्तो लाग्छ ?
आफैले आफूलाई फरक छु भनेर दावी गर्नु उचित हुँदैन । म अरुभन्दा फरक छैन । हामीले हिँड्दै आएको बाटो थोरै अलग हुनसक्छ । अन्य कविहरु जुन समय र समाजसँग जुध्दै लड्दै हिँडिरहेका छन्, म पनि यहीँ छु । समाजका घाउहरु व्यक्त गर्ने शैली फरक हुन सक्छ । हरेक कविले आफ्नो समयको पदचाप कवितामा उन्दा फरक शैली अपनाउनै पर्छ । त्यो अर्थमा चाँही अरुभन्दा अलग शैली मेरो होला । तर अरु भन्दा विलकुल फरक काम गर्न सकेँ जस्तो अझै लाग्दैन ।
आफ्नो कविता लेखनका सुरुवाती दिनको स्मरण गर्दै केही कुरा भनिदिनुस् न ?
पहिले पहिले दिनहुँ कविता लेख्थेँ । सबै लायकको हुनै सक्दैन्थयो, भएन । त्यो कविता लेखनको अभ्यास थियो । एउटा राम्रो(आफूलाई लागेको) कविता लेखिसक्दा मुटुभित्रबाट गरुंगो भारी बिसाएर जस्तो हुन्थ्यो । समय वित्दै जाँदा दौडधुप पनि बढ्दै गयो । अहिले कवितालाई झन् धेरै समय दिनुपर्ने बेला कता कता अलमलिरहेको छु । यो सम्झिँदा अहिले आफैसँग रिस उठ्छ ।
कविता सङ्ग्रह पाठकमाझ आएको १ महिनामै पुन:मुद्रणमा गएको खबर सुनियो । कस्तो आइरहेको छ प्रतिकृया ?
एकदमै उत्साहित छु, खुसी छु । मलाई थाहा छैन, यसअघि कवितासङ्ग्रह प्रकाशित भएको एक महिनामै रिप्रिन्ट भयो कि भएन । रिप्रिन्ट हुनु नै सबथोक त होइन, तर कवितासङ्ग्रह बिक्दैन, सबैले किन्दैन भनिरहेको बेला १ महिनामै रिप्रिन्ट हुँदा चाँही धेरै खुसी लागिरहेको छ । पाठक, समीक्षकहरुबाट सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । यसले मलाई थप मेहनत गर्न उर्जा थपिरहेको छ । देशविदेशबाट कविताको माग भइनै रहेको छ । ‘पोयट्री टुर’ पनि जारी छ । ‘हाम्रोमा आउनुपर्यो’ भन्ने स्नेही साथीहरुको माग धेरै छ । मैले कवितामा धेरै कुरा लेखिनँ, केवल मेरा दुखाइहरु लेखेँ । कवितासङ्ग्रह पाठकमाझ पुगेपछि अझै बढि थाहा पाएँ, यो मेरो मात्रै दुखाइ होइन रहेछ, हाम्रा धेरै दुखाइहरुमा समानता रहेछ । त्यसैले कवितासंग्रह प्रकाशित सँगै समान पीडा भएका अझै धेरै साथीहरुसँग भेट भइरहेको छ । यस अर्थमा खुसी छु ।

