‘लेख्नु आफूलाई पोख्नु मात्र हैन, आफूलाई उध्याउनु पनि हो ।’ – कवि भूपाल राई
(विचार)
भूपाल राई: (२०२७) भोजपुर । एम.ए. । सुम्निमाको तस्बिर (२०५३) प्रकाशित । उहाँको विचार छ– ‘लेख्नु आफूलाई पोख्नु मात्र हैन, आफूलाई उध्याउनु पनि हो ।’
लेख्नु, आफूलाई पोख्नु मात्र हैन, आफूलाई उध्याउनु पनि हो । प्रक्रियागत सवालमा दुईको स्थिति छुट्टाछुट्टै हुँदै भए जस्तै छुट्टाछुट्टै छन् दुईको वैशिष्ठ्य पनि । पोख्नु झण्डैझण्डै प्रविधि हो भने उध्याउनु नितान्त आत्मानुभूति । आफ्नो सामु आफै उभिएर दिइने परीक्षा पोख्नु हो भने अरूको सामु उभिएर सुनिने परिणाम हो उध्याउनु । यो पछिल्लोलाई बिर्सेर त्यो अघिल्लो नहुन नसक्ने पक्ष अलग होस् तर त्यसलाई नबिर्सनु नै लेखकत्वको अहंको परिचायक हो ।
भन्नेहरूले भनेका छन्– ‘सबभन्दा झुटो कुरा गर्नुछ भने आत्मासंस्मरण लेख्नुस् ।’ यद्यपि कम्तिलाई छाडेर बढीमा आत्मासंस्मरण भनेको आफूलाई चिर्नु नभएर आफूतिर केवल फर्कनु हो । आत्मासंस्मरणका सजिला लेखकले सत्यलाई सधैँ सजिलो लेख्छन् तर जब झुटको दर्पणमा आफ्नो रूप देखाउन खोजिन्छ लेखनीमा अफ्ठ्यारोपन त्यहाँनिर आइपर्छ । यो पछिल्लो स्थितिमा आत्मासंस्मरण कठिन छ ।
तर, आत्ममूल्याङ्कन यो पछिल्लो स्थितिभन्दा पनि कठिन छ । एउटा चित्रकारले ऐनासामु आफूलाई उभ्याएर बनाएको आफ्नै पोट्रेटमा जति प्राविधिक कठिनाइहरू अनुभूत गर्छ दोस्रोका आँखाद्वारा खुट्याइएका अन्य कठिनाइहरूभन्दा त्यो धेरै कम हुने गर्छ । पोट्रेट आफैमा जति छ दोस्रोका आँखाद्वारा खुट्याइएको ‘आफू’ त्योभन्दा बलियो छ । आफ्नो लेखनीमा आफैलाई खुट्याउनु पर्ने स्थितिले सायद त्यो पछिल्लोचाहिँ कठिनाइसँग साम्यता राख्दछ र त्यही साम्यताले नै लेखकस्वको अहंलाई उचालीराखेको हुन्छ । किनभने, साहित्यकारले आफ्नो आँखाबाट पोखाएको आफूलाई सधैँ अरूको आँखाबाट उघाउनु पर्ने हुन्छ । जसले जति पोखाउँछ उसले त्यति आफ्नो भाग उघाउँछ । यही उघाउने सीमान्त प्रक्रियागत अवधारणाले मेरा आफ्ना रचनाधर्मितालाई दिशानिर्देश गरेको छ मलाई यस्तो लाग्छ ।
मेरा रचना मेरो वयस्क विचारभन्दा जेठो छ । झण्डैझण्डै मेरो बालप्रकृतिको सौन्दर्यानुभूति जत्तिकै जेठो । मैले वरण गरेको कला त्यही अर्थले मेरा विचारका पूर्व शर्तहरू हुन् । मेरा हरेक विचारका मान्छेले कलाको खुट्टा टेक्ने गर्छन् । विचार, सधैँ मान्छेका लागि तर कलात्मक । कला, सधैँ मान्छेका लागि तर त्यो पनि कलात्मक । मेरो हरेक रचना मान्छे हो चाहे त्यो अंशमा होस् वा पूर्णमा । मैले आजसम्म मान्छेभन्दा सुन्दर कविता लेखेको छैन र कविभन्दा सुन्दर मान्छे देखेको छैन ।
मूलत: साहित्यले दिन्छु भनेर समाजलाई केही दिन खोज्दैन । दिन्छु भनेर लेखिएका रचनाहरू साहित्य भएनन् भने ? यो प्रश्न सधैँ खडा छ । साहित्यले दिनेभन्दा साहित्यबाट लिने कुरा हो । साहित्यबाट त समाजले पो लिन सक्नु पर्छ । साहित्यको यो पछिल्लो प्रक्रिया लिनेको हातमा निर्भर छ । जसले जति लिन सक्छ साहित्य त्यति नै छ । लिन नसक्ने वर्गका लागि साहित्य अनुत्पादक ठहर भएको जुन प्रचार छ त्यो ज्यादै स्वभाविक छ । तर लिन सक्नेहरूका लागि नदिने शर्तमा लेखिएका साहित्यले समेत केही दिइरहेकै हुन्छ । लिने मान्छेले साहित्यभित्र स्वयंलाई भेट्छ । साहित्यले सिकाउने सर्वोच्च संस्कार पनि सायद यही हो । जसको लागि मैले आफ्ना रचनाधर्मितासँग कटिबद्ध हुनुपर्छ ।
आजको मान्छे सारांसत: आंशिक मान्छे हो । अर्को तरिकाले हेर्दा आजको मान्छे मिश्रित मान्छे हो । ऊ अलिकति माक्र्स हो, अलिकति फ्रायड, अलिकति न्यूटन, अलिकति दाँते, बुद्ध, हिटलर आदि इत्यादि र अन्त्यमा अलिकति आफू । यो अन्तिम आफू रहेसम्म कि त ऊ सबै हो कि त ऊ केही छैन । तन्तु तत्वसँग सम्मिस्रित कैले आफू स्पर्धा गर्छ कैले साम्यता पाल्छ । स्पर्धा साम्यताको यो परिवेशबाट आफूलाई छुटाउनु जटिल समस्या हुँदाहुँदै पनि आजको अलिकति मान्छे भनेको त्यही ‘आफू’ हो । त्यसैले त्यसको मृत्यु भनेको आजको मान्छेको मृत्यु हो ।
र, त्यही आफू हुनुको मिस्रित अहं नै मेरो कविता हो ।
साभार – हाम्रो प्राङ्गण (संयुक्ताङ्क), वर्ष २ अङ्क २/३, २०५४–०५५ संयुक्ताङ्क
