साहित्यकार बिक्रमभक्त जोशीलाई ६ प्रश्न

यस पटक निकथाकारका रुपमा चर्चामा रहनुभएका लेखक साहित्यकार बिक्रमभक्त जोशीसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौँ । यात्रामा भेटिने पात्रसँगै जीवनको रङ भर्न सिपालु कथाकार हुनुहुन्छ जोशी । उहाँको निकथा पढ्दै जाँदा यात्राको स्वादमा आख्यानको मजा लिन पाइन्छ । यही विशेषतामा उभिएर उहाँ अहिले फरक आख्यानकारका रुपमा पाठकको सूचीमा पर्न सफल हुनुभएको छ। पहिलो कृतिबाट लेखक जोशीले पाएको माया लोभलाग्दो रहेको छ ।

१. नमस्कार बिक्रम सर, अहिले कुन किताब पढिरहनुभएको छ ? 

नमस्ते ! मेरा किताबी पढाइको कुरा गर्ने हो भने म बडो गाजेमाजे तालले पढ्ने गर्छु । कहिले कुन, कहिले कुन । पूरै ह्याफाजाड रिडर ! कुनैबखत म सिलसिलेवार तरिकाले पढ्ने गर्थें । एउटा पुस्तक नसकाई अर्को पढ्दिनथेँ । तर अब भने धैर्यता गुमेछ कि कुन्नि, पुस्तकले दुईचार पानासम्म पनि तान्न छोड्यो भने परित्याग नै गर्ने मनस्थितिमा पुग्छु । बलजफ्ती पाना छिचोल्नै सक्दिनँ । अहिलेलाई भने दुइटा पुस्तकले मलाई अल्झाउन सफल भएको छ । पहिलो हो ‘१२खरी उत्कृष्ट कथा २०८०’ र अर्को रस्किन बन्डको आत्मकथा ‘लोन फक्स डान्सिङ’ । दुबै उत्तिकै इन्ट्रेस्टिङ, उत्तिकै उम्दा । लाग्छ, यी दुईले मलाई केही समय तेश्रोमा आँखा डुलाउन दिने छैनन् ।

२. अँ साँच्चै तपाईंलाई कुन विधाको किताब पढ्न मजा लाग्छ ? तपाईलाई मन परेका नेपाली साहित्यका पाँच कृतिहरु कुन कुन हुन् ?

यसअघिको प्रश्नको उत्तर दिँदा उल्लेख गरेका पुस्तकका नामबाटै थाहा हुन्छ मेरो मनपर्ने विधा । रस्किन बन्ड मेरालागि प्रिय आख्यानकार हुनुहुन्छ । बृटिश मूलका भारतीय लेखक, उनी कुनै पनि कथालाई यसरी बुन्छन् कि पाठक त्यसमा माखो फसेझैं फस्न पुग्छन् । ‘१२खरी उत्कृष्ट कथा २०८०’ मा पनि शीर्षकले बताएसरी उत्कृष्ट कथाहरु छन् । बुझिहाल्नुभो कि मलाई आख्यान विधाका किताब पढ्न मजा लाग्छ, चाहे त्यो कथा होस् या उपन्यास । 

मन परेका कुनै पाँच कृतिको नाम लिँदा बाँकीलाई अन्याय होला भन्ने   डर । किनभने नेपाली साहित्यमा धेरै नैं राम्रा कृतिहरु छन् । तर पुराना क्लासिकहरुलाई छाडेर हालसालै मात्र पढेकाहरुमध्येबाट भन्ने हो भने प्रकाश सायमीको ‘काठमान्डू मोन्टाज’, नयनराज पाण्डेको ‘जियरा’, इल्या भट्टराईको ‘मिसर’, केशवराज ज्ञवालीको ‘अर्को भोर’ र महेश पौड्यालको ‘अपरिचित अनुहार’ राम्रा लागेका पुस्तकहरु हुन् ।

३. अनि तपाईंको चोभार ब्लुज को हालखबर के छ नि, सर ? दोस्रो संस्करण प्रकाशित भयो ?

‘चोभार ब्लुज’ मेरो चिनारी बनेको छ । साँच्चै भन्ने हो भने अचेल मलाई ‘चोभार ब्लुज’ का नामबाट चिन्नेहरु प्रशस्त भए । यस अर्थमा ‘चोभार ब्लुज’ ले आफ्नो साथसाथै मेरो पनि हालखबर ठिक बनाएको छ । मैले सोचेभन्दा धेरै माया पायो यो पुस्तकले । कहीँ कतै खेतको डिलैडिल, त कतै पहाडको थाप्लैथाप्लो हिँड्दै गर्दा आफूभित्र तरङ्गित लहडी पाराका भावहरुलाई आख्यानको कसीले घोट्दै तयार पारेका बुट्टे चोलाेमा सजिएका रङ्गीबिरङ्गी कथालाई जब मैले निकथा भनिदिएँ, एउटा नौलो स्वादको जन्म पो भैदिएछ क्यारे । सायद त्यसैले पो हो कि ‘चोभार ब्लुज’ ले माया पाएको ? जे होस्, पहिलो कृतिले मलाई निक्कै हौस्याएको छ । हजार प्रति छापिएकोमा थोरै प्रतिमात्र बाँकी छन् । पुस्तकप्रति चाख कायम छ, अझ भनुँ बढ्दो छ । लाग्छ, दोश्रो संस्करणको आवश्यकता छिट्टै पर्ला ।

४. ‘निकथा भनिदिएँ’ भन्नुभो । कहिल्यै नसुनेको नाम । कथाको एउटा प्रकार हो निकथा भनेको ?

हो, निकथालाई म कथाको उपविधाका रुपमा व्याख्या गर्न रुचाउँछु । हिँडाइका क्रममा देखेका भोगेका कुरालाई आख्यानको लेपन लगाएपछि निकथा बन्छ भन्छु म । यानि यो नियात्रा, निबन्ध र कथाको फ्युजन    हो ।

मेरो यस व्याख्यालाई समालोचक प्रभा बराल सही थाप्दै लेख्नुहुन्छ कि ‘यात्रा गर्दै जाँदा भेटिएका पात्रलाई बुनेको सिर्जनालाई निकथा भनिनु अर्थपूर्ण र तादात्म्य लाग्यो ।’

अनि फेरि समालोचक राजकुमार बानियाँ ‘चोभार ब्लुज’ को समीक्षा गर्ने सिलसिलामा लेख्नुहुन्छ कि ‘रम्ताजोगीजस्तो भएर हिँड्दा उनका पाइलैपिच्छे कथाकुथुङ्ग्री अल्झिन्छन् । हरेक स्थान, पात्र, परिवेश, दृश्य र विम्बमा कथाको खात लाग्छन् ।’ 

हो, म स्वीकार गर्छु र बारम्बार भन्ने गर्छु, हिँडाइको उपज हो मेरो     निकथा । त्यसैले मेरा निकथामा कथा भन्ने पात्र अर्थात् न्यारेटर डाइनामिक रहन्छ । न्यारेटर गतिमान् हुँदा कथा अझ रोचक हुन्छ  भन्ठान्छु । अनि कहिले रियल पात्रलाई न्यारेटर बनाउँछु । रियल पात्र नभेट्दा सरियल पात्रले पनि काम चलाउँछु । ताल परे फेन्टासीको मसला थप्छु । कहिलेकाहीँ म्याजिक रियालिज्मको तिलस्मी दुनियाँमा पनि पाठकलाई लैजान्छु । जसरी हुन्छ, पढुन्जेल पाठक कथामा बाँधिइरहुन्, पाठकको ध्यान नबाँडियोस्, पानामै अल्झिरहुन् भन्ने कुरामा म चनाखो रहन्छु । निकथा बनेपछि कथामा आउने जुन गतिशीलता छ त्यसले कथालाई इन्ट्रेस्टिङ बनाउँछ भन्ने मेरो मान्यता हो ।

५. एउटा बैंकर्स साहित्य लेखनमा आउनुभयो । साहित्य क्षेत्र त लथालिङ्ग लाग्छ होला नि है ? बैंकमा पूरै सिस्टममा बसेको बानी ?

अँ, एउटा कुरो बताइहालुँ । म बैँकरका रुपमा साहित्यलेखनमा आएको    हैन । भूपू- बैंकर बनेर छिरेको हुँ । २०७४ को अन्त्यमा स्वेच्छिक अवकाश लिएपछि २०७५ को मध्यबाट साहित्य लेखनमा लागेको हुँ । 

पक्कै पनि बैंकिङ्गको तौरतरिका योजनाबद्ध हुन्छ । सिस्टेम्याटिक   हुन्छ । झण्डै झण्डै मेकानिकल हुन्छ । अर्थको मामला जुन रहन्छ । तर कतिपय सन्दर्भमा अन्तर्ज्ञान (इन्ट्युशन) को पनि सहारा लिइन्छ । यसको विपरीत साहित्य क्षेत्र भनेको भावनामा केन्द्रित संसार हो । जहाँ कल्पनाशीलताले, भावनात्मक अनुरागले तौरतरिकालाई डोर्‍याउँछ । यसो भन्दैगर्दा तपाईंले भनेझैं मलाई भने साहित्य क्षेत्र कुनै पनि किसिमले कहिल्यै लथालिङ्ग लागेन । मलाई साहित्य सधैँ सुल्झेको क्षेत्र नैं      लाग्यो । जब जब म साहित्यमा डुब्थेँ, तब तब म आफ्ना उल्झनहरु सल्टेको पाउँथेँ । त्यहाँ एउटा यस्तो अमनचैन पाउँथेँ, जुन मैले अरु ठाउँमा भेटिनँ । अत्यन्त आरामदायी शीतलता भेट्छु म साहित्य संसारमा ।

तर तपाईंको संकेत नेपाली साहित्य क्षेत्रप्रतिको हो भने यसबारे मेरो धारणा बनिसकेको छैन । भर्खर पाँचै वर्ष त भो, साहित्यलेखनमा मेरो प्रवेश । अँ, यो ५ वर्षमा मलाई असहयोग भने कसैले पनि गरेनन् । खुलेर सहयोग गरे । यहाँसम्म पुग्न मद्दत गरे । पुस्तक प्रकाशनदेखि लोकार्पण हुँदै पुस्तकवार्ता अनि प्रोमोसनल कार्यहरु सबै सिस्टेम्याटिकली अघि बढे, कुनै व्यवधान बिना । मलाई त आजको मितिसम्म यो क्षेत्रमा लथालिङ्गपनको झिनो महसुससम्म पनि भएन ।

६. पहिलो किताब प्रकाशित भएपछि साहित्यकारहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो ? अब दोस्रो कृति निकाल्ने तयारीमा लाग्नुभएको हो ? 

अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छु । मेरा लहडी लेखाइलाई यति राम्रा अभिव्यक्तिहरुले विभूषित गरिदिए कि मलाई यसले अत्यन्त सकारात्मक उर्जा प्रदान गरेको छ । हो न हो मैले राम्रै लेखेछु कि भन्ने लागेको छ । मोटिभेटेड महसुस भएको छ ।

वरिष्ठ निर्देशक एवं साहित्यकार प्रकाश सायमी चोभार ब्लुजलाई ‘नेपाली साहित्य र रचनाको महत्वपूर्ण कृति’ मान्नुहुन्छ । वरिष्ठ आख्यानकार एलबी क्षेत्री यसलाई ‘एउटा सुन्दर कथासङ्ग्रह’ को उपमा दिनुहुन्छ, जसका कथा-समापन शैलीबाट उहाँ निक्कै प्रभावित हुनुहुन्छ । धेरै स्थापित साहित्यकारहरुले यो पुस्तक पढेर यो मेरो पहिलो कृति जस्तो नलाग्ने प्रतिक्रिया दिँदैगर्दा म आफूलाई सफल भएँ कि भन्ने लाग्नु स्वाभाविक पनि हो । 

‘चोभार ब्लुज’ का बारे एक ठाउँमा नेपाली साहित्यका परिचित नाउँ रत्न प्रजापति लेख्नुहुन्छ कि ‘कथा पढ्दै गर्दा नेपाली साहित्यमा नवप्रवेशी कथाकारको लेखाइको अनुभूति पटक्कै हुनेछैन पाठकलाई । लेखनमा परिपक्वता छ र कथाहरु परिष्कृत छन् ।’ यसै सन्दर्भमा गोरखापत्रका पूर्वप्रधानसम्पादक शिवप्रसाद भट्टराई लेख्नुहुन्छ, ‘उहाँको यो पहिलो कथाकृति भएपनि यसभित्र सङ्ग्रहित प्रत्येक कथा अतुलनीय अनि अभिनव छन् ।’ वरिष्ठ समालोचक हरि अधिकारीले त साहित्यपोस्टमा मजैले लेखिदिनुभो कि ‘भाँती मिलाएर लेखिएको नेपाली गद्यकृति पढ्न नपाएर छट्पटिएको मभित्रको कदाचित असन्तुष्ट पाठकलाई साहित्यको क्षेत्रका नवप्रवेशी इन्जिनियर साहेबले सन्तुष्ट पारेको कुरा म हृदयदेखि नैं कबूल गर्दछु ।’

हालै प्रकाशित मिलाप मासिक पत्रिकामा वरिष्ठ साहित्यकार खेमनाथ दाहालले ‘चोभार ब्लुज’ लाई परिवर्तनकारी कृतिको उपमा दिएर यसको उच्च मूल्यांकन गर्नुभएको छ । उहाँ थप्नुहुन्छ, ‘यस कृतिमा समेटिएका आख्यानहरु प्रायश: यथार्थलाई मिथक र स्वैरकल्पनाका लेपनमा परिवेष्ठित गरिएकाले अझ अस्वादित एवं मननयोग्य छन् ।’

जे होस्, यी सुन्दर प्रतिक्रियाहरुले इन्धनको काम गर्ने गरेको छ । मलाई बुस्ट-अप गर्ने गरेको छ । नेपाली साहित्यलेखनका नवप्रवेशीलाई यो भन्दा उत्तम उपहार अरु के होला र ! हैन त ?

अँ, मेरो दोश्रो कृतिको कुरा गर्नुभो । दोश्रो कृतिका रुपमा मेरो बालचित्रकथा पुस्तक ‘बेखामान र राक्षस’ प्रकाशित छ । अब तेश्रो कृतिको तयारीमा भने म लागेको छु । निकथा विधालाई जानी नजानी प्रवर्तन गर्न पुगियो । अब यसलाई स्थापित गराउने जिम्मेवारी पनि स्वत: मैमाथि आउने नै भयो । त्यसैले एउटा अर्को निकथासङ्ग्रह नैं लेखुँ कि भनेर लागिपरेको छु । हेरुँ के हुन्छ ! यहाँहरुको साथ, स्नेह र सहयोग पाउँदै गएँ भने अघि बढ्ने हौसला र हिम्मत पाउँछु । अघि बढिरहन सक्षम हुनेछु ।

अन्तमा, मेरा यी केही साहित्यिक कुराहरु पोख्ने प्ल्याटफर्म प्रदान गर्नुभएकोमा, पाठकसम्म मेरा विचार पुर्‍याउन मद्दत गर्नुभएकोमा चुरेदर्पण साहित्यिक पत्रिकाका साथै तपाईं कार्तिकेयजीलाई म हृदयदेखि आभार व्यक्त गर्दछु ।

Leave a Reply