कवितामा जीवन बाँच्ने कवि ईश्वर थोकरलाई पाँच प्रश्न
ईश्वर थोकर मूलतः कवि हुन् । उनको जन्म आमा भक्ति दोङ र बुबा सुब्बा थोकरको पहिलो सन्तानको रूपमा वि.सं. २०४४ मङ्सिर ४ गतेका दिन तेमाल गाउँपालिका, वडा नं. ९, मुक्पा, काभ्रेपलाञ्चोकमा भएको हो । भक्तपुरको ‘न्यातपोल मन्दिर’ परिसरमा बाल्यकाल बिताएका उनी कविता र संस्मरण लेख्न रुचाउँछन् । दोस्रो पटक ‘मानसिक अस्पताल’ मा उपचाररत छँदा उनलाई एक जना नर्सले ‘ईश्वर थोकर’ नाम उपहार दिएकी थिइन् । यही नामबाट उनका पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), सिरिया (कवितासङ्ग्रह, २०७५), वाला सुइटर (संस्मरणसङ्ग्रह, २०७५), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६), लीला (शृङ्खला कवितासङ्ग्रह, सन् २०२१), प्रेमको आदिम गीत (संयुक्त कवितासङ्ग्रह, सन् २०२५), आमा (शृङ्खला कवितासङ्ग्रह, २०८२), याङ्जी थोकरका बालकथाहरू (अनुवाद), कार्तिकेयका उत्कृष्ट बालकथाहरू (अनुवाद, २०७९) द एसिया फाउन्डेसन (लेट्स रिड) र सिर्जनालयबाट प्रकाशित एक दर्जनभन्दा बढी बालकथाका पुस्तकहरू (अनुवाद), राष्ट्रिय भाषाका गजलहरू (अनाममण्डली, काठमाडौँद्वारा प्रकाशित, २०६७, सम्पादन) र चन्द्रमा : भाग–२ (रिजेन्ट रेसिडेन्सियल स्कूल, ललितपुर–२३, धापाखेलद्वारा प्रकाशित, २०८१, सम्पादन) प्रकाशित छन् । ‘तामाङ साहित्य पुरस्कार–२०७१’ द्वारा पुरस्कृत उनी मानसिक स्वास्थ्य अधिकारकर्मीसमेत हुन् ।
१. कविता किन लेख्नुहुन्छ ? तपाईको विचारमा कविता के हो ?
मलाई ‘आवारा’ हुनबाट बचाएको मेरो ‘कविता’ प्रतिको लगावले गर्दा हो । त्यसैले ‘कविता’ लेख्छु, लेखिरहन्छु ।
‘कविता’ले मलाई बेशर्त प्रेम गरिरहन्छिन् । कविता ले मलाई सार्थक जीवन दिएकी छिन् । यसअर्थमा उनी मेरी ‘सच्चा प्रेमिका’ हुन् ।
२. तपाईको नयाँ किताब ‘आमा’ (शृङ्खला कविता) प्रकाशित भएको छ । सर्वप्रथम तपाईँलाई बधाई छ कविजी ! यस किताबको बारेमा केही कुरा भनिदिनुस् न है !
धन्यवाद ।
‘आमा’ किताबबारे के भनूँ र खै ! बरू मेरा पाठकहरूलाई ‘एकपटक पढिदिनुस्’ भन्न चाहन्छु ।
३. ‘कवि ईश्वर थोकर एउटा फरक जीवन बाँचेको मान्छे हुन्’ भनिन्छ । तपाईँको जीवन र तपाईँका कविताबीच के–कस्तो सान्निध्यता छ भन्ने ठान्नुहुन्छ ?
मेरो बाल्यकालको एउटा घटना सम्झिँहालेँ । साह्रै निराश भएर एकपटक ‘आत्महत्या गर्ने’ सोचले म घरबाट सुटुक्क निस्किएको थिएँ । बीच बाटोमा पुग्दानपुग्दै अचानक डायरीमा लेखिछाडिएका आफ्नै अधूरो एउटा कविताको निर्मम याद आयो । तत्काल मेरो मनले भन्यो, ‘अक्कल, तँ घर गइहाल् र तेरो त्यो अधूरो कवितालाई पूर्णता दे !’ त्यसपछि मेरो मन बद्लियो र म तुरुन्तै घर फर्किहालेँ । कविताले जीवन पाइन्, मैले पनि जीवन पाएँ । हामी दुवैजना चकित भयौँ । यस घटनाबाट प्रभावित भएर आजपर्यन्त कविताकै सान्निध्यतामा छु म त !
४. ‘जीवन बाँच्ने क्रममा कविहरू विद्रोही हुनेगर्छन्, जीवनलाई सङ्गालेर अघि बढ्न असमर्थ हुन्छन्’ भन्ने एकथरी बुझाई छ । तपाईको यससम्बन्धमा दृष्टिकोण के हो कविजी ?
म अरूको जिम्मा लिन सक्दिनँ । मेरो जीवनको सन्दर्भमा भन्ने हो भने ‘कविता’ ले मलाई जीवन दिएकाे छ, त्यो पनि सार्थक जीवन !
५. कवि ईश्वर थोकरले ‘भोगेको कुरामात्र लेख्छ, कल्पना लेख्दैन’ भन्नुहुन्छ । ‘भोगेको कुरामात्र तपाईँको लेखनका लागि पर्याप्त छन्’ भन्ने तपाईँको बुझाई हो कविजी ? यसलाई स्पष्ट पारिदिनुस् न है !
यो ध्रुवसत्य हो । तपाईँले अहिले देखिरहनुभएको मेरो यो जीवन ‘दोस्रो जीवन’ हो । मसँग जीवनका विराट भोगाइहरू जीवित छन् । लेखनका लागि विषयवस्तुको कमी हुने कुरै भएन । जे लेखे पनि म आफ्नै जीवन लेखिबस्छु, नितान्त व्यक्तिगत जीवन । त्यसभन्दा पर गएर म केही लेख्नै सक्दिनँ । कल्पना मेरो लेखनको स्वभाव होइन ।
