पन्त स्मृति प्रतिष्ठानबाट विभिन्न सर्जक पुरस्कृत हुँदै

२०५८ सालदेखि विभिन्न विधामा पुरस्कार र सम्मान प्रदान गर्दै आएको पन्त स्मृति प्रतिष्ठानले वि.सं. २०८१/८२ का लागि विभिन्न सर्जक व्यक्तित्वहरुलाई वैशाख २५ गते सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तका अनुसार यस वर्ष रामराज पन्त स्मृति सम्मान पुरस्कार उपन्यास विधामा शकुन्तला उपन्यासका लागि लेखक आचार्य कमल रिजाललाई प्रदान गरिने भएको छ । वर्ष २०८१ मा प्रकाशित भई प्रतिष्ठानमा पेस भएका उपन्यास मध्येबाट उत्कृष्ट उपन्यासका रूपमा यस उपन्यासलाई पुरस्कृत गर्न लागिएको हो ।
हाँस्य विधामा गोपालराज पन्त स्मृति सम्मान पुरस्कार हाँस्य कलाकार श्री मनोज गजुरेललाई प्रदान गरिने भएको छ । उनले हाँस्यव्यङ्गयका क्षेत्रमा गरेको विशेष योगदानका लागि यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
साहित्यिक पत्रिका विधामा इन्दिरा–बन्धु पन्त स्मृति सम्मान सम्पादक शशी पन्थीको सम्पादनमा प्रकाशित हुँदै हाम्रो पुरुषार्थ साहित्यिक पत्रिकालाई साहित्यिक पत्रकारितामा विशेष योगदानका लागि प्रदान गरिने भएको छ ।
समाजसेवा विधामा आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार समीक्षा घिमिरेलाई प्रदान गरिने भएको छ । उनले समाजसेवामा विशेष योगदान गरे वापत यो पुरस्कार प्रदान गरिएको हो ।
समालोचना विधामा टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार गोपी मैनालीलाई प्रदान गरिने भएको छ । समालोचनाका क्षेत्रमा विशेष योगदान पुर्याएकाले उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
बालसाहित्य विधामा सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार कार्तिकेय घिमिरेलाई प्रदान गरिने भएको छ । उनले नेपाली बालसाहित्यमा पुर्याएको विशेष योगदानका लागि यो पुस्कार प्रदान गरिएको हो ।
चित्रकला विधामा रसिक राईलाई सीताश्री सम्मान पुरस्कार प्रदान गरिने भएको छ । अन्तर क्याम्पस प्रतियोगितामा उत्कृष्ट चित्रकार भइसकेका चित्रकार राईलाई चित्रकलाका क्षेत्रमा विशेष क्षमता प्रदर्शनका लागि पुरस्कृत गर्न लागिएको हो ।
बालप्रतिभा विधामा प्रतिष्ठानले यस पटक सदिच्छा बालप्रतिभा पुरस्कारबाट नृत्य विधामा बालमन्दिरकी छात्रा सुमना थापालाई पुरस्कृत गर्ने भएको छ । उनले नृत्य विधामा विलक्षण क्षमता प्रस्तुत गरेकाले यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
पुरस्कार वैशाख २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँको लेखनाथत कक्षमा वितरण गरिने छ ।
