सरिता अर्यालका पाँच मुक्तक

एक

मुटुभित्र खिल पर्यो न्याय कसले दिन्छ

अदालत नै सिथील पर्यो न्याय कसले दिन्छ

सोधखोज अनुसन्धान गर्दै जाँदा आखिर

कसुर गर्ने वकिल पर्यो न्याय कसले दिन्छ ?

दुई

पाँचौँ पटक प्रदर्शनमा राख्दैछन् उनलाई

खाजा लिइ आऊ भनि डाक्दैछन् उनलाई

केटी राम्रि छैन भन्छन् नगद अनि मोटरगाडि

दाइजो लिने यहि सर्तमा माग्दैछन् उनलाई।

तीन

सारङ्गी र बाँसुरीको धुन बोकेर

दिलमा उनै पुर्णिमाको जून बोकेर

एउटा युवक सात समुद्र पारि तर्दैछ

गहभरि वर्षा यामझैँ मनसून बोकेर।

चार

फूलमा पनि बिझाउने काँडा हुन सक्छ

रङ्गिचङ्गि जिन्दगानि सादा हुन सक्छ

आज यहाँ भोलि कहाँ कसलाई थाहा छ र

नाफा मात्र हुन्न सधैँ घाटा हुन सक्छ।

पाँच

सुकर्मको बाटो खन्ने कोशिश गर्दैछु

कुकर्मलाई गलत भन्ने कोशिश गर्दैछु

के गर्दैछौ भन्ने प्यारा सुभचिन्तकहरू

एउटा असल मानव बन्ने कोसिस गर्दैछु।

Leave a Reply