दुई कविता


दीपक न्यौपाने

१. मान्छे भेटिएको सूचना

बाटो हराउन सक्छ
गन्तव्य हराउन सक्छ
तर, हिँड्दाहिँड्दै, एकाएक
मान्छे कसरी हराउन सक्छ ?

भिडमा मिसिएको हुनसक्छ
भिडबाट बाहिर निस्किएको हुनसक्छ
तिमीले खोजेकै ठाउँमा, तिमीले खोजेकै बखत
तिमीले खोजैकै मान्छे त
खै कसरी भेटिएला र !

तिमीले खोजेनौ भन्दैमा
तिमीले ठम्याउन सकेनौ भन्दैमा
तिमीले फेला पारेनौ भन्दैमा
कोही मान्छे बेपत्ता हुन सक्दैन
कोही मान्छे गायब हुन सक्दैन ।

मैले त धुइँपत्ताल खोजेर
कैयौँ मान्छेहरू भेटेको छु,
कोही निदाइरहेका थिए मुटुभित्र
कोही छट्पटाइरहेका थिए धड्कनभित्र
कोही छेलिएका थिए आँखाहरूभित्र
कोही अल्मलिएका थिए सपनाहरूभित्र
तर, कोही पनि हराएका थिएनन् ।

खोजी गर्दा भेटिन पो सक्छ
मान्छे कसरी हराउन सक्छ हँ ?
तिमी नै भन न
कसरी हराउन सक्छ मान्छे ?

२. खबर

परदेशमा दुःख खेपेर
गाउँमा जसोतसो बनाएको
त्यो नयाँ घरको भित्ता रंगाउने
ठुलो रहर थियो उसकी आमाको ।

रंगिन भित्तामा
ठुलो रंगिन टिभी राखेर
देशविदेशका खबर हेर्ने
कत्रो सपना थियो उसको बाउको ।

घरको भित्ता पोत्नै नपाई
एउटा गज्जबको टिभीसमेत किन्न नपाई
उ परदेशमै बितेको खबर
भर्खरै उसको घरमा आइपुगेको छ ।
००

Leave a Reply