दुई गजल
– लीलाराज दाहाल
१
अचेल यो रोगी समयले चित्कार गर्दैछ
फूलले नि आज काँडालाई बलात्कार गर्दैछ !
उनलाई भेटूँ भेटूँ लाग्न छोड्यो अचेल त
अब भने यो औषधीले चमत्कार गर्दैछ !
कसरी होला बाँच्ने अब ? सोच्दैछु म अझै
पुलिस अचेल चोर डाकालाई नमस्कार गर्दैछ !
अभाव र महङ्गीको यो अँध्यारो शासनमा
तस्करले नै इमान्दारलाई दुत्कार गर्दैछ !
२
शिखरहरू धस्सिएर खाडलमात्रै रहनेछन्
संसारभरि खरी झर्या मादलमात्रै रहनेछन् !
कसरी पो लड्छौ युद्ध अर्धचेतन जङ्गलमा
यस्तो बेला तिम्रा गजल, गजल मात्रै रहनेछन् !
लैजान्छ खुसुक्क अर्कैले भएजति नदीनाला
हेर्दाहेर्दै जताततै यी ढल मात्रै रहनेछन् !
खुसीको तलाउ सुक्नेछ देखिनेछ ठूलो लीला
बादशाहको वरिपरि पागल मात्रै रहनेछन् !
००
