पाँच मुक्तक

बुलबुल सिमर ‘साने’

एक
आफ्नाहरू छन्, दुश्मन छन् सम्हालिन ए मन
कुरा काट्ने कति छन् छन् सम्हालिन ए मन
एक तँ छस् खुसी आँसु सबै सम्हाल्न सक्ने
भन्नेले त अनेकन् भन्छन् सम्हालिन ए मन ।

दुई
आइरहने होइन एकैफेर आऊ नेता बन्ने भए
पार्टीपङ्क्ति केही नहेरेर आऊ नेता बन्ने भए
तिम्रै लागि ताली बज्छन् चोक अनि गल्लीमा
अरे ! पहिला मान्छे बनेर आऊ नेता बन्ने भए ।

तीन
गरिरहन देऊ आँखामै वारपार पुछ्दिने कोही हुन्नन्
देखेकै छौ दुनियाँको व्यवहार पुछ्दिने कोही हुन्नन्
आँसु पिऊ, आँसुमै पौडिऊ बरु मुस्काउने बहानामा
हाँसी गर्छन् आँसु नझार बेकार पुछ्दिने कोही हुन्नन् ।

चार
गर्न नै पर्दैन विनम्रता आफैँ बोलिदिन्छ
जताउन पर्दैन ममता आफैँ बोलिदिन्छ
जरुरी छैन नि ! मुखैले बोल्नुपर्छ भन्ने
कहिलेकाहीँ, मौनता आफैँ बोलिदिन्छ ।

पाँच
खुसी पार्छु भन्दा सेरोफेरो पैतालामुनि छन्
पारेर सारा जिन्दगी अँधेरो पैतालामुनि छन्
खुट्टा तानेर लडाउन खोज्नेहरू पनि देखिए
देखिए अझैसम्म पनि मेरो पैतालामुनि छन् ।
००

Leave a Reply