रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ
काठमाडौँ, १९ वैशाख २०८१/ रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।
मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो । डाक्टर विमललाई उनको भर्खरै प्रकाशित कथाकृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहनुभएकाे थियाे । उहाँहरुसहित पुरस्कार स्थापित व्यक्तित्वहरु अशेष मल्ल, डाक्टर सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रुपमा ती पुरस्कारहरु स्रष्टालाई अर्पण गर्नुभएकाे थियाे ।
अनेसासकी उपाध्यक्ष डाक्टर रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम-गीताको बारेमा चर्चा गर्नुभएकाे थियाे भने महेश पौड्यालले सम्मानीत स्रष्टाको परिचय प्रस्तुत गर्नुभएकाे थियाे ।
पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गर्नुभयाे ।
गीता खत्रीले चार वर्षअघि नै यो पुरस्कार स्थापना गर्ने सोच आएको र दुई वर्षअघि स्थापना भएको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताउनुभयाे । अशेष मल्लले अरु अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको उहाँले बताउनुभयाे । आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उहाँले बताउनुभयाे ।
परम्परागत ढर्रालाई तोड्दै कार्यक्रम अत्यन्त फरक तरिकाले व्यवथापन भएको थियो । मञ्चमा भिडभाड अनि दर्शकदीर्घातिर कुर्सी खाली जस्ता असुहाउँदो दृष्य यहाँ देख्नुपरेन । उपस्थित सबैजनालाई समान स्तरमा बस्ने व्यवस्था मिलाइएको थियो । मञ्च र दर्शक को कित्ताकाट यस प्रोग्राममा थिएन । त्यसैगरी पानसमा बत्ती बाल्ने अनि कार्यक्रम समुद्घाटन गर्ने दृष्य पनि यहाँ देखिएन । बरू गीता खत्रीका बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो ।
प्रमुख अतिथि, गीता खत्री र राम खत्रीको हातबाट सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण भयो । सम्मानित सबै व्यक्तित्वहरूले राम-गीता वाङ्मय प्रतिष्ठान र राम गीता दम्पत्तिप्रति हृदयत् आभार व्यक्त गरे । प्राडा सावित्री मल्ल कक्षपतिका अनुसार यसरी ज्यूँदा व्यक्ति त्यो पनि दम्पत्तिको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो हो । मान्छे ज्यूँदो रहँदा नै उसकाे कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको सुरुवात गर्ने यस सत्कर्मको सबैले खुलेर प्रशंसा गरे । यो गरिमामय कार्यक्रमकाे सञ्चालन कवि भवानी खतिवडाले गर्नुभएकाे थियाे ।

