सञ्जय सुमनका दुई कविता
१. रित्तो पहाड
रित्तो पहाड
भासिन सक्छ जतिबेला पनि ।
कसैले हत्केलामा कसरी !
कहिलेसम्म थाम्न सक्छ !
थापिरहन सक्छ काँध
कहिलेसम्म ?
देखिन सक्छ अग्लो
आफ्नो धरातलभन्दा ।
लाग्न सक्छ अडेस
अरुको ढाड
कहिलेसम्म ?
बा, मलाई औँला दिनुस्
काँध बराबर हुन त
म उभिनु पर्छ ।
२. मुसा सहरिया भएपछि …
एकहुल सर्वहारा मुसाहरू
जब परेड खेल्थे मालिकको खेतमा
लाग्थ्यो हाम्रै विरादरीका हुन् ।
धानका बाला टिप्दै
पस्थे दुलोमा
लाग्थ्यो हामी अब भोका रहने छैनौँ ।
फसल भित्रिएपछि
बिस्कुनबाट,
थन्किएपछि
भकारीबाट लुटिन्थ्यो
लाग्थ्यो हामी अब भोका रहने छैनौँ ।
अहिले खेत छैन
दुलो छैन
बाठा मुसाहरू सहर पसिसके ।
अहिले ती सहरी मुसाहरू
आफूं मुसा भएको प्रमाण पेस गर्दैछन् ।
००
