सञ्जय सुमनका दुई कविता

१. रित्तो पहाड

रित्तो पहाड
भासिन सक्छ जतिबेला पनि ।

कसैले हत्केलामा कसरी !
कहिलेसम्म थाम्न सक्छ !
थापिरहन सक्छ काँध
कहिलेसम्म ?

देखिन सक्छ अग्लो
आफ्नो धरातलभन्दा ।
लाग्न सक्छ अडेस
अरुको ढाड
कहिलेसम्म ?

बा, मलाई औँला दिनुस्
काँध बराबर हुन त
म उभिनु पर्छ ।

२. मुसा सहरिया भएपछि …

एकहुल सर्वहारा मुसाहरू
जब परेड खेल्थे मालिकको खेतमा
लाग्थ्यो हाम्रै विरादरीका हुन् ।

धानका बाला टिप्दै
पस्थे दुलोमा
लाग्थ्यो हामी अब भोका रहने छैनौँ ।

फसल भित्रिएपछि
बिस्कुनबाट,
थन्किएपछि
भकारीबाट लुटिन्थ्यो
लाग्थ्यो हामी अब भोका रहने छैनौँ ।

अहिले खेत छैन
दुलो छैन
बाठा मुसाहरू सहर पसिसके ।

अहिले ती सहरी मुसाहरू
आफूं मुसा भएको प्रमाण पेस गर्दैछन् ।
००

Leave a Reply