केही छोटा कविता
– केदार श्रेष्ठ
१. बकुल्लाहरू
केही थान बकुल्लाका बचेराहरू
हाँसको बथानमा जान्छन्
र स्वघोषणा गर्छन्
“अहिले कुरुप हुँला, तर म राजहाँस हुँ ।”
तलाउमा माछामात्र देख्ने बकुल्लाहरूले
आफ्नो अनुहार देख्ने तलाउ कहाँ पाउलान् ?
२. कसको अनुहार ?
उहाँको
फेरिन्छ बाटो, फेरिन्छ हिँडाई
फेरिन्छ आँखा, फेरिन्छ चश्मा
फेरिन्छ विचार, फेरिन्छ आस्था
फेरिन्छ यात्रा, फेरिन्छ सहयात्री
फेरिन्छ घडी, फेरिन्छ जीवन
त्यसैले त उहाँको
कहिल्यै फेरिन्न ‘अनुहार’ ।
३. आवाज
घण्टीको ट्वाङ ट्वाङ
मात्र समय हुँदो हो त
भुँईचालोमा बाँचेको
घण्टाघरको घण्टी सुनेर
केही पल सुस्ताउन सक्छु ।
घडीको टिक टिक
मात्र समय हुँदो हो त
सेकेण्ड सुई सुनेर
घण्टौँ लोलाउन सक्छु ।
समय त,
सायद,
मुटुको ढुकढुक हुनुपर्छ
जुन सुनेर
म जिउन सक्छु ।
००
