जिन्दगी

सञ्जीव राई

सिधा बाटो हिँड्न सक्दैन जिन्दगी
मातिएर पीरैपीरले
घरी यता ठोक्किन्छ रहरसँग
घरी लड्छ सपनासँगै उता

विपनाका तमाम अत्याचारहरूबाट आजित जिन्दगी
सपनाको दरिलो आश्वासन र मायालु भरोसा पाएर
एउटा सुखद भ्रम रमाइरहेछ
सपनाका सुन्दर आँखाहरूमा
आफ्नो प्रतिविम्ब छर्लङ्ग देखेर दङ्ग छ जिन्दगी
सीमा नाघेर चाहनाको
जिन्दगीले आफूलाई भन्दा बढी सपनालाई माया गरेको कुरा
उसले गाएको स्वप्नगीतहरू सुनेर
बुझेको छु मैले ।

आफ्नो हात राखेर सपनाको शीरमा
ओहो ! कति भयंकर कसम अहिले भर्खरै खायो जिन्दगीले
आफूलाई खुसीसाथ सुम्पिदिने रे मृत्यको हातमा
सपनाले जिन्दगीलाई यदि जिन्दगी दिएनन् भने

जिन्दगीको सम्भावित परिणाम सम्झेर
म खङ्ग्रङै हुन्छु डरले
शक्तिशाली हुरी चलिरहेछ
विपनाले फेरेको प्रत्येक श्वासमा
म मेरो भयभीत अनुहार देख्छु
काँपिरहेका पात–पातमा ।

म त झर्छु नै यी पातहरूसँगै
मेरो जिन्दगीको के होला ?
कस्तो होला उसको स्वप्निल प्रेमकथाको अन्त्य ?
उसले गाएका स्वप्न गीतहरू
के अन्य सपनाप्रेमीहरूले पनि गाइरहला पछिसम्म ?
००

Leave a Reply