बजारमा आइपुग्यो ‘युगसन्धि’
काठमाडाैँ / वरिष्ठ लेखक विजय चालिसेद्वारा लेखिएको वैदिक उपन्यास ‘युगसन्धि’ आजबाट बजारमा आइपुगेकाे छ । आज असोज १५ गते एलो प्यागोडा होटल, जमल, काठमाडौामा आयोजित एक विशेष समारोहमा यस उपन्यासकाे विमोचन कार्यक्रम सम्पन्न भएको हाे ।
वेदका ज्ञाता एवम् सोही विषयमै विद्यावारिधि गर्नुभएका डा. ऋषिराज पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त समारोहमा वरिष्ठ साहित्यिक पत्रकार एवम् रचना पत्रिकाका सम्पादक रोचक घिमिरे र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल विशेष अतिथिका रुपमा रहनुभएको थियो ।
परिचय पब्लिकेशनका प्रमुख भाष्कर ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको समारोहमा समीक्षकहरु युवराज मैनाली, गोपी मैनाली र डा. ज्ञानु पाण्डेले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
मञ्चासीन लेखक, प्रमुख अतिथि, विशेष अतिथि र समीक्षकहरुले एक साथ युगसन्धि कृतिको लोकार्पण सम्पन्न गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमा हालै देशैभरि भएको अविरल वर्षाबाट उत्पन्न प्रकोप बाढी र पहिरोबाट प्राण गुमाएका आत्माहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
वरिष्ठ समीक्षक डा. ज्ञानु पाण्डेले उपन्यासमा ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैचारिक द्वन्द्वलाई धेरै पात्र र परिवेशको माझमा सशक्त रुपमा आख्यानीकरण गरिएकाले यो कृति उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै समालोचक युवराज मैनालीले विजय चालिसे समर्पित र स्थापित सर्जक हुनुहुन्छ भन्नुँदै यस कृतिले सर्जक विजय चालिसेको लेखकीय उचाइ अझ बढाएको छ भन्नुभयो ।
समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरपालिकाले साहित्यको विकासका लागि स्रष्टा सम्मान, पुरस्कार समर्पण, कृति प्रकाशन सहयोग आदि कार्यक्रम गर्दै आएको छ भन्नुभयो ।
समीक्षक गोपी मैनालीले युगसन्धि नेपाली साहित्यको एउटा उत्कृष्ट वैदिक आख्यान बन्न सक्षम कृति हो भन्नुभयो ।
समारोमा धन्यवाद् ज्ञापन गर्दै वरिष्ठ लेखक विजय चालिसेले उपस्थित सबैलाई आभार प्रकट गर्दै लामो समय लगाएर तयार गरिएको यस कृतिले सबैको माया पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

