रमेश विकल साहित्य प्रतिष्ठानबाट विभिन्न पुरस्कारहरु वितरण
काठमाडौं, २०८० पुस ७ गते शनिवार । यशस्वी साधक रमेश विकलको स्मृतिमा स्थापित रमेश विकल साहित्य प्रतिष्ठानले वर्ष २०८० को रमेश विकल वाङ्मय पुरस्कार महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई समर्पण गरेको छ ।
शनिवार पुस ७ गते १५ औं रमेश विकल स्मृति दिवसको अवसरमा महासमालोचक त्रिपाठीलाई सम्मान गरिएको हो । यस पुरस्कार नगद ५० हजार राशिको रहेको छ ।
उक्त अवसर यशस्वि साधक रमेश विकलका नाममा स्थापित अन्य पुरस्कारहरू पनि विभिन्न विशिष्ट साधक र पराेपकारी संस्थालाई प्रदान गरियो । जस अनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई प्रदान गरियो । यस पुरस्कारको राशि २० हजार रहेको छ ।
यसैगरी रमेश विकल सृजना पुरस्कार रौतहट जिल्लाका साधक वरिष्ठ निवन्धकार माधव काफ्लेलाई र रमेश विकल बालसाहित्य पुरस्कार कास्की जिल्लाका साधक वरिष्ठ बालसाहित्य लेखक रामबाबु सुवेदीलाई प्रदान गरिएको छ । यस्तै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार दैलेख जिल्लाकी वरिष्ठ महिला समाजसेवी सत्यदेवी खड्कालाई प्रदान गरिएको छ र रमेश विकल कला–सङ्गीत पुरस्कार काठमाडौका वरिष्ठ कलाकार सुवास गजुरेललाई प्रदान गरिएको छ । उल्लेखित सबै पुरस्कारको राशि नगद रु दस हजार रहेको विकल प्रतिष्ठानले जनाएको छ ।
पुरस्कार वितरण समारोहमा पुरस्कृत साधकहरुलाई विकल प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष वरिष्ठ कलाकार के के कर्माचार्य र सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माले पुरस्कृत साधक र संस्थालाई पुरस्कार समर्पण गर्नु भएको थियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष वरिषंठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’, प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल लगायतले यशस्वि साधक रमेश विकलको योगदानबारे चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा रमेश विकल प्रतिष्ठानको उन्नयनमा स्थापनाकालदेखि योगदान गर्ने संघीय सांसद् सन्तोष चालिसे, पूर्व मन्त्री रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई पनि सम्मान गरिएको थियो ।
