लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ दोस्रो संस्करण प्रकाशित

सुभाषचन्द्र भण्डारी
पूर्व प्रधान मन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण वि.सं. २०८१ मा एलआरआई एडुकेसनल् फाउन्डेसनबाट प्रकाशित भएको हो । यस कृतिमा कृतिको नामकरण गरिएको रात्रिभोज कथा सहित जम्माजम्मी १८ वटा कथा समावेश छन् ।
जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बहरुलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामथ्र्य भएका कथाकार लोकेन्द्रबहादुर चन्दले विभ्रान्त अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेका छन् । उनले भ्रष्ट र अनैतिक आचरणको पर्दाफास गर्दै निखारिएको व्यङ्ग्यात्मक धारको चेत–अस्त्रबाट चोटिलो प्रहार गरेका छन् । वस्तुतः सामाजिक विसङ्गतिले विषाक्तिएर विक्षत भएका असन्तुष्टि र आवेशयुक्त मनोद्वन्द्वका बियाँहरुलाई युगचेतनाको सुपोमा राखेर राम्ररी निफनेका छन् ।
‘हिउँको तन्ना’ र ‘विसर्जन’ (मदन पुरस्कार प्राप्त) पछि प्रकाशित तेस्रो कथासङ्ग्रह ‘रात्रिभोज’को दोस्रो संस्करण (वि.सं. २०८१) एलआरआई एडुकेसनल् फाउन्डेसन, काठमाडौँका तर्फबाट सुरुचिपूर्वक प्रकाशन गर्ने अभिलाषा सार्थक गर्नुभएकोमा यस पुनीत कार्यका लागि शिक्षासेवी, समाजसेवी एवम् साहित्यपारखी व्यक्तित्व श्री शिवराज पन्तज्यूप्रति असीम साधुवाद व्यक्त गर्दै वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दज्यूको अविच्छिन्न सृजनाकर्म एवम् साधित लेखकीय जीवनप्रति शतशत हार्दिक अभिनन्दन अर्पण गर्दछु ।

Leave a Reply