स्वयम्

जितेन्द्र रसिक

महाशय,
के तिमी देश बदल्ने कुरा गरिरहेछौ ?
पख,
एकछिन पख
देश बदल्नुअघि
तिमी
तिम्रा बालाई हेर
तिम्रा हजुरबालाई हेर
एकपटक आमालाई हेर
अनि, हजुरआमालाई पनि हेर
पुस्तौँदेखि
देश बदल्ने नाममा
तिम्रो हातमा थमाइएका
त्यो रङ्गीचङ्गी
झण्डाहरूलाई हेर
झण्डासँगै
एकचोटि
एक एक नियालेर हेर
आफैँलाई
अनि
देश बदल्छु भनेर
हिजो
तिमीसँगै काँधमा काँध मिलाएर
झण्डा बोकेका तिम्रा छोरा
अनि, छोरी र नाति पुस्तालाई हेर
यतिखेर
कयौँ छोराछोरी र
नाति पुस्ताहरू
तिमीले बदल्छु भनेको
देशनै बदलेर
खाडीमा जीवन बेचिरहेछन्
कोही युरोप अनि अमेरिकामा
फेरि पनि
बेचेर राष्ट्रियता
कुरा गरिरहेछन्
स्वाभिमानको
के तिमीले बदलेको देश
यहि हो ?
महासय
तिमीले देश बदल्छु
परिवर्तन ल्याउँछु
भन्नुअघि
एकपटक बदल आफैँलाई
युगयुगदेखि
तिम्रो पुस्ता बदलियो
झण्डा बदलियो
तर,
तिमी आफैँ बदलिएनौ
हेर त
तिमीले लगाएको
त्यो
चेतनाको कोट कस्तो मैलो
कहिल्यै धोएनौ
न तिम्रा पुर्खाले धुन सके
न तिमीले धुन सक्यौ
पख
एकछिन पख
तिमीले अब
देश बदल्छु भन्नुअघि
बदल चेतनाको झण्डा
बदल तिम्रा खिया परेका सोँच
तिमीले
समाज बदल्छु भन्नुअघि
बदल
तिम्रा जीर्ण विचारहरू
तिमिले बदलेँ भनेको समाजमा
हेर
कसरी मारिएका छन् उषा राईहरू
कसरी जलिएका छन्
पुष्पा न्यौपानेहरू
अनि न्याय नपाई
इतिहास बन्दै गरेका निर्मलाहरू
हेर त तिमीले बदलेको
देशको ऐनामा
नन्दप्रसाद अधिकारी र गंगामायाहरू
अनि फेरि
तिमी उही झण्डा बोकेर
उही हजुरबाले जसरी
चिच्याइरहेछौ
भनिरहेछौ
म देश बदल्छु
महासय
देश बदल्नुअघि
तिमी आफैँ बदल
तिम्रो सोँच बदल
देश त कुनै दिन
आम मानिसका
चेतनाको पारोले
शिखर छोएपछि
आफै बदलिने छ
त्यसैले
महासय,
देश बदल्नुअघि
तिमी आफैँ बदलेर देखाऊ
देश त आफैँ बदलिने छ
जब तिम्रा
चेतनाहरू बदलिनेछन् ।
००

Leave a Reply