एउटा प्रेम कविता
– विश्व सिग्देल
अन्तिम भेटमा
अपराधीले आफ्नो चुप्पी सिनित्त धोएजस्तो
तिमीले बटुल्न चाह्यौ सब कुरा
पुछ्न चाह्यौ, मेट्न चाह्यौ
आफूले साथै ल्याएका
तमाम फूल, पात, पत्कर
पहाड, बेँसी, जङ्गल
आफू जाँदा साथै जान्छन् ठान्यौ
शिशिर र वसन्तका लुकाचोरी
तिमीले थुतेका काँडा
मर्काएका हाँगा
लुछेका फूलका पीडा र खुसीका आद्यरूप
सबै आङमा लिएर
कविजस्तै बाँचिरह्यो
एउटा प्रेम कविता हुनबाट वञ्चित कविता ।
००
