जिन्दगी

मुस्कान पाण्डे

जन्मदेखि देहान्तसम्मको
यात्रा हो यो जीवन,
कहीँकतै ठक्कर खाई
अघि बढ्नु हो जीवन ।

अनेकौँ काल्पनिक सोचहरूको
रङ्गमञ्च हो जीवन,
त्यही कल्पनाहरू बटुलेर
रङ्ग्याउने कला हो यो जीवन ।

गाउँदा गला बस्न सक्छ,
नाँच्दा पाउ फस्न सक्छ,
सोच्दा दिमाग थाक्न सक्छ,
शब्दको झटारोले डस्न सक्छ,
अनि लेख्न खोज्दा यी हात काँप्न सक्छ,
तर, परिस्थितिसँग झेल्दै जानु
जिन्दगीले दोस्रो मौका पनि दिन सक्छ !!

सपनाहरू सजाउँदा,
विपनीमा यो मन रम्न सक्छ,
तर, बाध्यता र बिछोडको खेल हो यो जीवन,
यो सास जस्तै खुसी पनि लुटिन सक्छ !

जीवन कहिले उकाली जस्तो,
जीवन कहिले ओराली जस्तो,
अनेकौँ भयानक गल्लीहरूमा,
शीतल यो एउटा छहारी जस्तो ।

जीवन कहिले हार जस्तो,
जीवन कहिले नमिठो भार जस्तो,
काँडैकाँडाको तारमा अल्झेको यो,
अनेकौँ अनुभवको उपहार जस्तो ।

नसोध्नु कसैले बाँच्नुको अर्थ के हो ?
नभुल्नु कसैले जीवनको मर्म के हो ?
नआँत्तिनु सम्झेर जीवनका गोरेटोहरू,
किनकि,
बाँचुन्जेलको संघर्ष नै हाे यो जिन्दगी ।

तानीतुनी मिलाएर
अक्षरहरू मैले गाँसे,
खुम्चिएका ती सफेद
पन्नालाई सम्हालेर
कलमको सहाराले
कहीँकतै केही कोरेँ,
म कलमसँगै खेलिरहेँ,
शब्दहरू महसुस गरिरहेँ
अन्त्यमा लेख्न चाहेँ–

गाडे सड्छ,
जलाए खरानी हुन्छ
आखिर के नै हो र यो मानिसको जीवन
बाँचुन्जेलको आश,
अनि मरेपछिको लास,
कि त जमिनमुनिको वास
कि त्यही ठुलो मुढोबाट
ह्वारह्वार्ती दन्केको आगोको गाँस !!

सोचेजस्तो हुन्न जीवन,
चाहे जस्तो हुन्न जीवन,
कथाभित्रको कथा हो यो जीवन,
मेरै कविताको एक एक शब्दहरू हो जीवन !!
००

Leave a Reply