त्यसैले म रहर गर्दिनँ

अमित घिमिरे

जहाँ लेख्न बसेको छु
ठीक त्यही टेबुलबिचमा कसैको एउटा विवाहको कार्ड छ
एक पृथक् कोणबाट साँचेको तिमीलाई
त्यो कार्डले विभक्त तुल्याएको छ
म किमार्थ त्यो रहर गर्दिनँ
त्यो कार्डमा तिम्रो र मेरो नाम लेख्दिनँ
अवैध प्रेममा अनुबन्दित हामी
भावनामा मात्र प्रेम गर्न पाउँछौँ
कस्तो निरीह प्रेम
मैले तिमीलाई प्रेम गर्नु पाप हुन्छ
परस्त्रीसँग सल्केको हुन्छ
र,
तिमीले मलाई प्रेम गरे
सौभाग्यमा सौता हालेको हुन्छ
तोड्न नसक्ने बन्धन म बाँध्न चाहन्नँ
त्यसैले
म रहर गर्दिनँ
त्यो कार्डमा तिम्रो र मेरो नाम लेख्दिनँ
अवैध प्रेममा अनुबन्दित हामी
भावनामा मात्र प्रेम गर्न पाउँछौँ ।

एक धर्सो सिन्दूर, चार लुङ्ग पोतेले
हाम्रो प्रेमको मजबुत सम्बन्धलाई भत्काउन सक्छ
साँघुरो मान्छे, बाढ्न नमिल्ने माया भन्दै
हाम्रो प्रेमलाई अवैध करार दिन्छ
कस्तो निरीह प्रेम
मैले तिमीलाई प्रेम गर्नु पाप हुन्छ
परस्त्रीसँग सल्केको हुन्छ
र, तिमीले मलाई प्रेम गरे
सौभाग्यमा सौता हालेको हुन्छ
तोड्न नसक्ने बन्धन म बाँध्न चाहन्नँ
त्यसैले म रहर गर्दिनँ
त्यो कार्डमा तिम्रो र मेरो नाम लेख्दिनँ
अवैध प्रेममा अनुबन्दित हामी
भावनामा मात्र प्रेम गर्न पाउँछौँ ।
कस्तो सङ्कुचित मान्छेको चलन
मन, मुटु र चिन्तनजस्तै
एउटा मनमा एकसँग अर्को राख्न मिल्दैन र ?
बाढ्न नमिल्ने मायाको ब्याज खाने संस्कार
एक दिन यस्तै कार्ड बनेर हातहातमा पुग्ने छ
न म केही गर्न सक्छु, न तिमीले नै
अनि हामी बिछोडिने छौँ
तसर्थ, मैले रहर गरिनँ
म किमार्थ त्यो रहर गर्दिनँ
त्यो कार्डमा तिम्रो र मेरो नाम लेख्दिनँ
अवैध प्रेममा अनुबन्दित हामी
भावनामा मात्र प्रेम गर्न पाउँछौँ
जहाँ लेख्न बसेको छु
ठिक त्यही टेबुल बिचमा कसैको एउटा विवाहको कार्ड छ
एक पृथक् कोणबाट साँचेको तिमीलाई
त्यो कार्डले विभक्त तुल्याएको छ ।
००

Leave a Reply