स्रष्टा, सृजना र मूल्याङ्कन
– रुकु कार्की
लेखक कविहरू नेपाली काव्यक्षेत्रका देउराली र भन्ज्याङ हुन्, राष्ट्रिय विभूति हुन् । राष्ट्रलाई अगाडि बढाउने दिशामा उनीहरूको ठूलो योगदान रहेको हुन्छ । समाजलाई असल साहित्यले निर्देशित गरेको हुन्छ । साहित्य भनेको सुन्दर तरिकाबाट भाव प्रकट गर्ने माध्यम हो । साहित्यकार जगत्का शिखर हुन् । साहित्यकारहरू सधैँ भाषा र साहित्यका लागि समर्पित भएर दिमाग खियाउँछन्, कलम रगड्छन्, सत्य र यथार्थको कुरा लेखेर जनसमाजमा पु¥याउँछन् । साहित्य सृजना एउटा यस्तो क्षेत्र हो जहाँ नामको वर्षा हुन्छ दामको कदापि होइन । लेखकलाई खोलानाला, चौतारी भन्ज्याङबाट, वन–उपवनबाट अलग गर्न सकिँदैन । जतिसुकै प्रयोगवादी भए पनि प्रकृतिबाट प्रभावित हुन्छन् । प्रकृति स्वयम् नै असीम सौन्दर्यको खानी हो । प्रायः लेखकहरू प्रकृतिप्रेमी हुन्छन् । प्रकृतिबाट नै प्रेरणा प्राप्त गरेर लेखक, कविहरू प्रसिद्ध एवम् प्रख्यात भएको हामी पाउँछौँ ।
साहित्यमा सृजना हुन्छ र सृजनाले भावनालाई अझ बढी सुन्दर र प्रखर तुल्याएको हुन्छ । साहित्य लेख्न कठिन छ । यस क्षेत्रमा लागेकाहरूलाई भौतिक सुख भने हुँदैन । लेखक कल्पनाशील हुन्छन्, स्वाभीमानी हुन्छन् र आलोचनाशील पनि हुन्छन् । समाजमा केही गर्न खोज्नेहरू समाजबाटै पटक–पटक आलोचित हुनुपर्छ, तर के गर्ने ? आपैmँले रोजेको बाटो हिँड्न चाहन्छ साहित्यसाधक तर हिँड्न अप्ठ्यारो हुँदो रहेछ । हाम्रो कलमले, हाम्रो वाणीले राष्ट्रिय चेतना भर्न सकोस् । हामीहरूलाई देश चाहिएको छ, हामीहरूलई राष्ट्रियता चाहिएको छ, हामीहरूलाई विकास चाहिएको छ किनकि एउटा कलमले राष्ट्रलाई बिउँझाएको हुन्छ । देश बनाउनका लागि, समाज बनाउनका लागि चेतनमूलक, उपदेशमूलक र सन्देशमूलक वाणी दिनका लागि साहित्यकारहरू यस धरतीमा जन्मेका हुन्छन् । जीवन सबभन्दा सङ्घर्षशील हुन्छ, जीवन सबभन्दा धन्य हुन्छ किनभने कवि लेखकले आफ्नो व्यक्तिगत जीवन बलिदान गरेर देश वा समाजलाई सुन्दर बनाउने प्रयास गरिरहेका हुन्छन् ।
शेक्सपियरले भनेझैँ वीरहरू, साहसीहरू र परोपकारीहरू एकपल्ट मात्र मर्छन् र सधैं अमर हुन पुग्छन् । अमर कवि देवकोटा, सम, लेखनाथको कवित्व शक्ति विलक्षण थियो । लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति मुनामदन सधैँ अमर छ । उदाहरणको लागि शेक्सपियर, दाँते, गेटे, टाल्सटाय, बर्नाड शा आदि विश्वसाहित्यका चर्चित साहित्यकार हुन् । उनीहरू आफ्नो राष्ट्र र अन्तर्राष्ट्रिय जगत्मा अगाडि लम्किरहे, चेतना बढाइरहे ।
साहित्यकारले रोपेका साहित्यका पसिनाका हजारौँ किरणहरू फुरिरहेका छन् । जीवनमा त्याग, समर्पण र सेवामा तल्लीन रहने व्यक्ति कहाँ पाइन्छ ? त्यस्ता व्यक्तिको योगदानलाई खोजी–खोजी प्रकाशमा ल्याउने काम समाज र देशको हो । राम्रो लेखकको जुनसुकै विधा पनि कालजयी हुन्छ । साधारण परिवारमा जन्मेका देवकोटा नेपाली वाङ्मयमा कहिल्यै नओइल्याउने फूल हुन् ।
म सम्झन्छु अहिले – हाम्रो देशका महाकवि देवकोटा, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल आदि धेरै साहित्यकारहरूले उपचारको अभावमा मृत्यु शय्यामा छटपटाउँदै प्राण त्यागे । यिनीहरूले राष्ट्रलाई धेरै–धेरै दिए तर राष्ट्रले यिनीहरूलाई केही दिन सकेन । देश हाँक्ने नेताहरू लाखौँ–लाख खर्च गरेर बेलायत र अमेरिका गइरहेछन् तर साहित्यकारहरूका निम्ति खै के गरे ? उत्तर छैन ।
समकालीन नेपाली लेखकले अर्को लेखकलाई जतिसुकै प्रतिभा सम्पन्न भए पनि प्रशंसा गर्दैन, उल्टो ईष्र्यामा जलिरहन्छन् । पुरस्कारको बाढीले लेखक–लेखक बीचमा अनमेल छ । तपाईंले हाम्रो सामीप्यमा जतिसुकै मीठो कुरा बोल्दै हातेमालो गर्दै चिप्लो घसे पनि अलिकति परतिर पुग्नेबित्तिकै त्यस व्यक्तिले तपाईं हाम्रो धज्जी उडाउँदै खसालेर बोल्न थाल्छ । व्यक्ति जतिसुकै इमान्दार, सरस र सुयोग्य भए पनि, भए नभएका कुरा खोतलेर खोइरो खन्नु नेपाली जातीय विशेषता नै भएको छ ।
नेपाली भाषा र साहित्य अब नेपालमा मात्र सीमित छैन । विश्वको कुनाकुनामा फैलिएको छ । नेपालबाहिर काशी र दार्जीलिङ नेपाली साहित्यका गढ हुन् । अहिले सिक्किम तातेको छ । आसाम, मेघालय, मणिपुर, कोहिमा, नागाल्याान्डसम्मका नेपालीहरू साहित्य लेखिरहेका छन् । देहरादून, आसाम, वर्मा, दार्जीलिङ, भोट तिब्बतमा समेत बसोबास गर्ने प्रवासीहरूले जन्मभूमि र मातृभूमि नेपाल सम्झी नेपाली साहित्य, सङ्गीत र कलाकै आधारबाट शङ्खनाद गरिरहेकै छन् । आफ्ना मातृभाषामा व्यक्त गरिएका अभिव्यक्तिहरूले प्रवासी नेपालीको आत्माभित्र कोशी र कर्णाली बनेर कलकलाइरहेका हुन्छन्, छलछलाइरहेका हुन्छन् । बाबुआमा, श्रीमती र बालबच्चालाई छोडेर गएका लाहुरेहरूका वियोगका कथा र व्यथा जिउँदा भएर गाउँघर, खोलानाला र चौतारी भन्ज्याङहरू गुन्जिरहेका हुन्छन् । मुटु छुने लोकगीत घन्काएर गाउँबेँसीले साँच्ची नै उनीहरूलाई पर्खिरहेको आभास हुन्छ ।
अहिले विदेशमा बस्ने नेपाली साहित्यकर्मीहरूले केही प्रशंसनीय कार्य गर्दै आएका छन् । सृजनाको स्तर बढ्दै गइरहेको छ । संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषा र साहित्य प्रति स्नेह सबैलाई हुन्छ । एउटा साहित्यकारले गरेको सृजनाको मूल्य समाज, राष्ट्र र विश्वले अवश्य पाउनेछ । यो सत्य हो । राष्ट्रको जीवन नै साहित्य हो र साहित्य नै राष्ट्रको गरिमा पनि हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रवासभूमिमा कहिल्यै नओइलाउने गरी पलाउँदै छ, हुर्किँदै छ । अनेसास अहिले खुबै चर्चामा छ । पढेलेखेका विद्यार्थी, साहित्यकार, लेखक, कलाकार, डाक्टर सबै युरोप, अमेरिका र अन्य महादेशमा जाने क्रम तीव्र छ । उनीहरू जहाँ बसे पनि आफ्नो मातृभूमि सम्झेर आफ्नो जातीय अस्तित्व र पहिचान बनाइरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सन् १९९१ मा स्थापित भएको हो । यसका ६५ शाखा प्रशाखाहरूमा विश्वभरि रहेका स्रष्टाहरूलाई समेटेर नेपाली वाङ्मय क्षेत्रलाई अगाडि बढाउन सफल भएको छ ।
अर्को साहित्यिक संस्था हो, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले एएनए स्मारिकाको प्रकाशनसँगै ठूलो नगद पुरस्कार सहितको अन्तर्राष्ट्रिय नेपाली कबिता महोत्सवको आयोजना पनि गरिन्छ । अमेरिकामा रहेका प्रवासी नेपाली सङ्घ, गुरुङ र मगर समाजका विभिन्न कलाकारहरूले लोकनृत्य देखउँछन् । केही कलाकारले नेपाली पप गीत, केहीले अङ्ग्रेजी गीत पनि गाँउछन् । सम्मेलनमा खेलकुद, मनोरञ्जन र कला संस्कृतिका साथसाथै आफ्ना राष्ट्रियतालाई माथि उठाउन बृहत झाँकीसमेत प्रदर्शनी गरिन्छ ।
युरोप, अमेरिकामा एउटा सृजनशील लेखकको इज्जत हुन्छ । एउटा लेखकले अर्को लेखकको सम्मान गर्छ । त्यहाँ कलाकारले कलाकारको प्रशंसा गर्छ । त्यहाँ विरोधी राजनीतिक व्यक्तित्वको समेत अर्को राजनीतिक व्यक्तिले सम्मान गर्छ । तर हाम्रो मुलुकमा कवि, समालोचक तथा साहित्यकारहरू अत्यन्तै उपेक्षित छन् । एक अर्कामा नकारात्मक तानतानी र ईष्र्याको लडाइँ छ ।
त्यति मात्र कहाँ हो र ? नेपालमा जति पनि महिला साहित्यकार छन् उनीहरूले जति राम्रा कृति प्रकाशित गरे पनि त्यसको उचित मूल्याङ्कन भएको देखिँदैन । १९ औँ शताब्दी की कवि जोनअष्टिन आफ्ना दिन सम्झेर भन्छिन् – म एक्लै लुकेर लेख्थेँ, मान्छे आउँदा कागज कलम पीरामुनि लुकाँउथँेँ । २० औँ शताब्दीकी लेखिका भर्जिनिया उल्फले भनेकी थिइन् – छोरीलाई पनि एउटा आफ्नै कोठा चाहिन्छ । उनले साहित्य सृजनाका लागि महिलासँग पैसा हुनुपर्छ भन्ने कुरालाई जोड दिएकी थिइन् ।
म्हिला भएकै कारण आफ्ना अभिव्यक्ति र देखे–भोगेका कुराहरू खुलस्त लेख्न नसक्ने बाध्यात्मक परिस्थिति मैंले पनि अनुभव गर्दै आएको छु । लेख्नका निम्ति राम्रो वातावरण नहुँदा ठूलै पर्खाल बनेर मेरा सामु उभिएको देखिरहन्छु । अहिलेसम्म पनि मलाई महिलाले भोग्नुपरेको सामाजिक, आर्थिक र सांस्कृतिक विभेदका विषयमा लेख्न मन लाग्छ तर बिग्रिन्छ कि भन्ने त्रासले सशङिक्त हुन्छु तर लेख्नका लागि स्वतन्त्र हुनुपर्ने रहेछ । म स्वतन्त्र छैन भन्ने मनमा लागिरहन्छ । किनकि कतिका पतिहरू चाहँदैनन् आफ्नी पत्नी लेखिका बनोस्, कलाकार बनोस्, नेता बनोस्, समाज सुधारक वा कुनै विद्रोही लडाकु बनोस् भनेर । लेख्ने सल्लाह र सुझाव लिनै पर्छ । नत्र भने यो लेख, त्यो नलेख भनेर निर्देशन दिइन्छ त्यो मैले भोगेकै यथार्थ हो । जसले यथार्थ कुरा लेख्छन् तिनै महिलालेखकलाई उच्छृङ्खल भनेर कुण्ठित गराइन्छ । कलमबाट सत्य बोल्ने लेखक कसरी उच्छृङ्खल हुन्छ ? सम्पूर्ण वाधा र बन्धन भत्काउँदै खुलेर लेख्न वातावरण सृजना गर्नुपर्छ । सामाजिक, सांस्कृतिक र धार्मिक विभेद झेल्न नपरोस् भन्ने लाग्छ मलाई ।
महिला साहित्यकारहरूलाई सम्मान दिइएको पनि त्यति देखिँदैन । वास्तवमा नारी हस्ताक्षरको सही मूल्याङ्कन नै भएको छैन । महिला होस् या पुरुष जीवित छँदैमा सम्मान गर्न सके फेरि साहित्य साधना गर्नका निम्ति लेखकहरूलाई प्रेरणा प्राप्त हुन्छ । त्यसैले जीवित छँदै भाषा, साहित्य र सेवाको मूल्याङ्कन गरौँ ।
यसो सोच्छु लेखकहरू सागरजस्तै हुँदारहेछन् । त्यसैले तपस्वीहरू कहिल्यै विचलित हुँदैनन् । जस्तै बाधा व्यवधान आए पनि यस अवस्थामा पुगिछाड्ने लेखकहरू, कविहरू तपस्वी नै हुन् । कुनै लेखकले देशलाई सम्झेर काम लाग्ने कुराको सृजना गर्छ भने तिनको सहयोग गर्नेहरूको कुनै कमी हुँदैन । त्यस्तो सृजनशील व्यक्तिलाई प्रेरणाको पनि कमी हुँदैन र सम्मानको पनि कमी हुँदैन । राम्रो रचना वा कृति लेखेका खण्डमा समाजमा मानिसहरूले त्यसको सम्मान र स्वागत गर्छन् । त्यसको बारम्बार पुनर्जन्म भइरहन्छ । आजको चुनौतीपूर्ण साहित्यिक यात्रामा लेखन तपस्या नै हुन आएको छ ।
हाम्रो देशमा धेरै पुरस्कार संस्थाहरू खुलेका छन् । आफ्ना बाबु–आमाको कीर्तिका लागि दिने पुरस्कार राख्ने फेसन नै भएको छ । इमान्दार भएर साहित्य साधनामा लागिरहँदा र सृजनकार्य सफल हुँदा सर्जकमा बल पनि प्राप्त हुन्छ । यसले एउटा लेखकको लागि ऊर्जाको काम गर्छ । पुरस्कार र सम्मान भनेको सृजना र साधनाको मूल्याङ्कन हो । तर राम्रो साधकहरूलाई पर्यो भने महत्व र गरिमा पनि बढ्छ । हुन त यहाँ पुरस्कार र सम्मानमा राजनीति पनि हुने गरेको देखिन्छ । पुरस्कार स्थापना गर्ने संस्था र गुठीहरू बदनाम पनि छन् । कुनै पनि पुरस्कार स्थापना गर्ने व्यक्तिले कसैलाई पनि पुरस्कार दिनु उसको कानुनी तथा नैतिक अधिकार हो । यसमा सवाल उठाउने नैतिक अधिकार कसैलाई पनि छैन । भाषा र साहित्यका लागि मूल्याङ्कन गर्ने व्यक्ति वा सरकारी सङ्घसंस्थाहरू सबभन्दा धन्य हुन्छन् । त्यस्ता साहित्यकारहरूको भाषा र साहित्यको मूल्याङ्कन गर्नु र त्यस्ता साधकहरूको सम्मान गर्नु पनि आजको पुण्यकार्य हो । पुरस्कार राख्ने संस्था र व्यक्तिहरू नेपालमा धेरै भइसकेका छन् । आफ्नै सम्पत्तिबाट विभिन्न पुरस्कारको स्थापना गरी साहित्यको विकासमा उल्लेखनीय काम गरेका छन् । तर कृति प्रकाशनलाई सघाउने भने त्यति देखिएका छैनन् । दोस्रो प्रकारका साहित्यिक संस्थाहरूले राष्ट्रिय प्रतिभाहरूलाई सम्मानित गर्ने, पुरस्कृत गर्ने र उनीहरूको रचना प्रकाशन गरिदिने जस्ता महत्वपूर्ण कार्यहरू गर्नुपर्छ ।
मान सम्मानले प्रतिभालाई प्रेरणा मिल्छ । पुरस्कार राम्रो हो, तर पुरस्कारमात्रै सब थोक होइन । पुरस्कार आपैmँमा एउटा सम्मान हो । मैले पनि भाषा र साहित्यबाट सम्मानित हुने अवसर पाएकी छु । सम्मान तथा पुरस्कारसँग साहित्यमार्पmत मेरो नाम जोडिनु निश्चय पनि म स्वयंका लागि एक सुन्दर सपना साकार हुनु सरह हो । मैले जुनजुन साहित्यिक संस्थाबाट सम्मान पाएकी छु, ममा थप जिम्मेवारी थपिएको छ । ऊर्जा प्रदान गरेको छ, नेपाली भाषा र साहित्यमा योगदान गर्ने प्रेरणा थपेको छ । मेरा रचनाहरू गोरखापत्र, कान्तिपुर, मधुपर्क र गरिमाजस्ता राष्ट्रिय पत्रिकामा छापिएपछि बिस्तारै पहिचान बढ्दै गयो । बल्ल लेखकीय जिम्मेवारीको अनुभव भयो । साधना र सृजना भन्नु नै त्यस प्रतिको समर्पण हो ।
पुरस्कारकै कुरा गर्दा मलाई एउटा कुरा भन्न मन लाग्यो । म धादिङको गजुरीमा जन्मेकी आफ्नो पुरानो घर, जहाँ मेरी आमा बस्नुहुन्छ । बुबा त बितिहाल्नुभयो २०६५ मङ्सिर । आपूm लेखिका भएपछि होस खुल्यो । आमाको नाममा पुरस्कार राख्ने भन्ने कुरा मेरो मानसपटलमा झ्वाट्ट आयो । ‘मायादेवी मातृभूमि’ र ‘टीकादत्त कुलकुमारी पुरस्कार’, आमाद्वय र बाप्रतिको सानो सम्झना हो । आमाको जन्म पनि धादिङको गजुरी बजारमा भएको थियो जो अहिले बयानब्बे वर्षकी हुनुहुन्छ । २०६५ सालदेखि हेटौँडामा पुरस्कार सञ्चालन भइरहेकै छ । मलाई धेरै खुसी लाग्यो, पुरस्कार स्थापना गरेर । त्यो आफ्नो बाआमाप्रतिको समर्पण हो, सम्मान हो । धन ठूलो होइन, सेवा र समर्पण ठूलो हो ।
कसले कति योगदान दियो ? कसले कति पुस्तकहरू प्रकाशित ग¥यो ? र योगदान अनुरूप उसले सम्मान पायो कि पाएन भन्ने कुरा आउँछ । एउटा साहित्यिक मित्रले सम्मान या पुरस्कार पाउँदा अर्को मित्रलाई गर्व लाग्नु मात्र होइन, उसले आपूm पनि सम्मानित भएको अनुभूति गर्नु सकारात्मक पक्ष हो । यदि त्यस्तो अनुभव हुँदैन भने साथीभाइको महŒव नै हुँदैन । आपूmमात्र राम्रो लेखक हूँ भन्ठान्ने प्रवृत्तिलाई त्यागेर अरू लेखकको पनि सम्मान हुनुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । हामी लेखकहरू बिच एकताको भावना हुनुपर्छ, मेलमिलाप हुनुपर्छ । जस्तो कि एउटा लेखक बिरामी हुँदा अर्को लेखकको मनमा चस्का उठोस् । मनमा सामाजिक भावना, करुणा र दया जागोस् । एकअर्काप्रति सहिष्णुता र सद्भाव होस्, त्यस्तो समाज हामीले रचना गर्न सक्नुपर्छ । जब यी प्रतिभापुञ्जहरू साधना र सृजना गर्दागर्दै बिरामी पर्छन्, उपचार गर्न नसकेर यी बिलखबन्दमा परेर सिकिस्त हुन्छन् र मर्छन् ।
नेपालमा एउटा विडम्बना परम्परादेखि भित्रिँदै आएको छ । त्यो के हो भने कुनै पनि लेखक, साहित्यकारहरूलाई जीवित छँदा त्यति सम्मान गरिँदैन । जब मरेर अर्को संसारमा जान्छन् अनि मात्र सम्मान र आदरका शब्द बर्सन थाल्छन् । तीतो सत्य पनि यही हो । कुनै लेखक, समालोचकलाई जीवनकालमै सम्मान गर्नु भाषा र साहित्यको सम्मान हो । मरणपश्चात् जतिसुकै सम्मान बर्साए पनि त्यो प्रदर्शन मात्रै हुन्छ । त्यसैले साहित्यिक संस्थाहरूले योग्य प्रतिभाको योगदानको कदर गरिदिऊन् ।
लेखकहरूलाई राष्ट्रले पढ्न सक्नुपर्छ, चिन्न सक्नुपर्छ । जनस्तरबाट पनि माया र सद्भाव मिल्न सक्नुपर्छ । लेखकका लागि उसका कृति नै सन्तति हुन् ।
धेरै लेखकका गुनासो र पीडा छन् । लेखकका कृतिहरू नछापिएका, छापिएका कृतिहरू पनि दोस्रो संस्करण नभएका कति छन् कति, लेखाजोखा छैन । पारिश्रमिक नपाउनुको दुःख र पीडाले यस मुलुकमा लेखकहरू हुनसम्म आहत र बेचैनीमा पिरोलिएका छन् ।
रोयल्टीको कुरो त छाडिदिऊँ, आपैmँले छपाइसम्बन्धी लगानी गरेर प्रकाशनको लोगो लिनुपर्ने अनि छापिएका पुस्तकहरू बोकेर थुप्रै संस्था वा व्यक्तिसँग किनिदिन अनुरोध गर्दै भौँतारिनुपर्ने यो जटिल समस्या लेखकले भोग्नुपरेको छ । कतिले आफ्ना जीवनकालमा कृति प्रकाशन गर्न नसकी संसार छोडेर गए । अहिले त समय नै फरक छ, लेखन, प्रकाशन एकैचोटि हुन थालेका छन् । लेखकका पीडा र अनुभूतिहरू, ढुकढुकी र छटपटीहरूका अभिव्यक्तिहरू राज्यले पनि सुनिदिनुपर्छ, बुझिदिनुपर्छ ।
लेखन गम्भीर कर्म हो । साहित्य लेखन र अध्ययनले मान्छेको मन, मस्तिष्क स्वच्छ, सन्तुष्ट र परिष्कृत हुन्छ भन्ने कुराको अनुभव गर्छु म । आफ्नो श्रम र मिहिनेतले सिँचेर देश र समाजलाई सुन्दर बनाउनेहरूको जीवनगाथा लेखिनुपर्छ । आफ्ना सम्पूर्ण ऊर्जा, मिहिनेत र जीवन नै समपर्ण गर्ने मजदुर होस् या मालिक उनीहरूको गौरवगाथा लेखिनुपर्छ । लेखकहरू, साहित्यकारहरू राष्ट्रका सम्मानित नागरिक हुन् त्यसैले तिनको उचित मूल्याङ्कन गरौँ ।
००
