भित्तो
– काशीराम विरस
जिन्दगीको एक पाटोमा
निरन्तर हिँडाईको बाटोमा
यौटा अनौठो मित्र फेला परेको छ
हुन त ऊ मभन्दा अलि ठुलो
तर, एक किसिमको अप्ठ्यारो
मात्र सहयात्री केही पाइलाको ।
केही वर्षअघि,
मेरो घरको भित्तोमा यौटा लिस्नो टाँस्न आइपुग्यो
हेर्दा राम्रै देखिने
यौटा अमूर्त चित्रजस्तो
म त्यसमै मुग्ध भइरहेँ
थाहा छैन मलाई लिस्नोको जात के हो ?
समयक्रममा घर रङ्गाउनु थियो
विशेषज्ञ बोलाइयो
भन्दै थियो–
तपाईँको भित्तोमा रङ्ग बस्दैन
म झस्किएँ
था भो भित्तोमा त खै के जाति किराले जरो पो गाडेछ ।
किरा मुसाले खाइसकेको भित्तोे
बानी परेको आँखाले मात्र ठम्याउन सक्ने
यौटा थोत्रो आकार
ठिङ्ग उभिएको भित्तो ।
मेरा ‘बा’हरूले सगौरव बनाएको
त्यो भित्तो आज
मेरा आँखैअगाडि खड्किरहेछ
सशंकित/भयभित छु यतिखेर
मेरा ‘बा’हरूले बनाएको भित्तोमाथि
जुन भित्तोमा ‘एमसीसी’को गन्ध आउँछ
जसलाई सुगन्धित भन्दै भ्रम फैलाइरहेछ
मेरा ‘बा’हरूले …
म भ्रम चिर्ने प्रयत्न गरिरहेछु
आगोको रसायनले पोतिरहेछु
ताकि,
सिरिया, इरान र अफगानिस्तानको भित्तोको जस्तो
दुर्दशा नबनोस् ।
००
