अमृता प्रीतमका पाँच अनुदित कविता

अनुवादक : रिमा केसी

१. इच्छापत्र

आफ्नो पूरा होसहवासमा
लेखिरहेको छु म आज
इच्छापत्र आफ्नै !

म मरेपछी,
खङ्ग्राल्नु मेरा कोठा
खोतल्नु हरेक चिज
घरभरि बिना ताल्चाका
मेरा सामान छरिएका छन् !

दिनु मेरा सपना,
ती तमाम स्त्रीहरूलाई
जो चुलो–चौकादेखी ओछ्यानसम्म
खुम्चिएका छन्, आफ्नै दुनियाँमा
हराएका छन् तिनीहरू
जो वर्षौं पहिले भूलीसकेका छन् सपना देख्न !

बाँडिदिनु मेरा हाँसोका खित्काहरू,
वृद्धआश्रमका ती वृद्धहरूमा
जसका सन्तानहरू
अमेरिकाका जगमगाउँदा सहरमा हराएका छ्न्!

टेबलमाथि हेर्नु,
मेरा केही रङ्गहरू होलान
ती रङ्गहरूले
रङ्गाईदिनु विधुवाको साडी
जसको श्रीमानको रगतले सीमाना रङ्गिएको छ
झण्डामा लट्पटिएर ऊ हिजो राति सुतेको छ !

आँशु मेरो दिनु
ती तमाम शायरहरूलाई
जसको हरेक थोपाहरूबाट हुनेछ गजलको जन्म
यो मेरो वचन भयो !

मेरो मान, मेरो पवित्रता
त्यो वेश्याको नाममा गरिदिनु
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !

यो देशका एक–एक युवालाई समातेर
लगाई दिनु इन्जेक्सन मेरो आक्रोशको
जसको जरुरत पर्नेछ, क्रान्तिका ती दिनहरूमा !

पागलपन मेरो,
पर्नेछ्न हिस्सामा ती सुफिहरूको
जो निस्किएका छन्
सबै छोडी ईश्वरको खोजिमा !

बस् !
बाँकी बच्यो
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
यसो गर्नु
यसलाई म सङ्गै जलाईदिनु ।

२. सिगरेट

यो आगोको कुरा हो
तिमीले यहि कुरा सुनायौ
यो जिन्दगीको त्यही सिगरेट हो
जुन तिमीले कुनै दिन सल्काएका थियौ

झिल्को तिमीले बालेका थियौ
यो दिल सधै जलि रहयो
समयले कलम समातेर
केही हिसाब लेखी रहयो

चौध मिनेट भएको छ
यस्को खाता हेर
चौध वर्ष नै हो
यो कलमलाई सोध

मेरो यो शरीरमा
तिम्रो श्वास चली रह्यो
धर्ती साक्षी छ
धुँवा निस्की रह्यो

उमेरको सिगरेट जलि सक्यो
मेरो प्रेमको सुगन्ध
केही तिम्रो स्वासमा
केही हावामा मिलि सक्यो

हेर यो आखिरी ठुटो हो
औँलाहरुबाट छोडिदेउ
कतै मेरो प्रेमको आँचले
तिम्रा औँला नछोउन

जिन्दगीको अब पिर छैन
यो आगोलाई समाल
तिम्रा हात सकुशल रहुन
अब अर्को सिगरेट जलाउ !

३. एउटा भेट

म चुप, शान्त र अटल उभिएकी थिएँ
शिर्फ, नजिकै बगिरहेको समुद्रमा तुफान थियो
खोइ, समुद्रलाई भगवान जाने के विचार आयो
उस्ले तुफानको एउटा थैलो बनायो
मेरो हातमा थमाइदियो
अनि हाँसेर टाढा भैदियो
अचम्मित थिएँ !
तर उस्को चमत्कार लिइ सकेँ
थाह थियो यसप्रकारको घटना
कयौं शताब्दिमा हुन्छन
लाखौं ख्याल आए
शिरमा झिलमिलाए
तर, उभिइ रहें
यस्लाई लिएर अब मेरो शहर कसरी जाउँ?
मेरो शहरको हर गल्ली साँगुरो,
मेरो शहरको हर छत होंचो,
मेरो शहरको हर भित्तो तीखो,
सोंचे
यदि तिमी कतै भेटिन्थ्यौ भने
समुद्रले जसै गरि यस्लाई छातिमा राखेर
हामी दुई किनारा जस्तै हाँसिरहन्थ्यौँ
अनि
होंचा छतहरु र साँगुरा गल्लिहरुको शहरमा बस्न सक्थ्यौँ
तर
पुरै दिनभरी तिमिलाई खोज्दैमा बित्यो
अनि आफ्नो आगोको अन्तिम घुट पिएँ
म एक्लो किनारा,
किनारालाई छोडिदिएँ
अनि जब दिन ढल्दै थियो
समुद्रको तुफान समुद्रलाई नै फिर्ता गरिदिएँ
जब रात पर्न थाल्यो तिमी भेटियौ
तिमी पनि उदास, चुप, शान्त र अटल
म पनि उदास, चुप, शान्त र अटल
सिर्फ, टाढा बगिरहेको समुद्रमा तुफान छ !!

४. म तिमीलाई फेरि भेट्नेछु

म तिमीलाई पÞmेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
सायद तिम्रा कल्पनाहरुको
प्रेरणा बनेर
तिम्रो क्यानभासमा ओर्लिनेँछु
या तिम्रो क्यानभासमा
एउटा रहस्यमय रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेँछु

म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? थाहा छैन
या सुर्यको तेज बनेर
तिम्रो रङ्गमा घुली रहेनेछु
या रङ्गहरुको अँगालोमा बसेर
तिम्रो क्यानभासमा पÞmैलिनेछु
थाहा छैन कहाँ कुन तरिकाले
तर तिमीलाई पक्कै भेट्नेछु
या एउटा चस्मा बनेर
जसरी झरनाबाट पानी उड्छ
म पानीको थोपा बनेर
तिम्रो शरीरमा बिलाउनेछु
अनि एउटा शितल अनुभुती बनेर
तिम्रो छातीमा टाँसिनेछु
म अरु केहि जान्दिनँ
तर यति मात्र जान्दछु कि
समयले जे गर्ने छ
यो जन्म मेरो साथ चल्नेछ
यो शरीर सकिए पछि
सबै कुरा सकिन्छ्न
तर यादका धागाहरु
ब्रह्माण्डका पलहरु जस्तै हुन्छन
म तिनै पलहरुलाई छान्नेछु
तिनै धागोहरुलाई समेट्नेछु
म तिमीलाई पÞmेरि भेट्नेछु
कहाँ ? कसरी? थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु

५. पुल

हिजो हामी दुवैले एउटा पुल जलाएका थियौँ
अनि
एउटा नदीको किनाराले जस्तै
भाग्य बाँडेका थियौँ
शरीर झट्कार्यौँ
शरीरको एक हिस्सा यो किनार भयो
र अर्को शरीरको हिस्सा त्यो किनार
अनि
ऋृतुहरुले जहिले पनि फुल दिए
तिमिले पनि आफ्नो शरीरले टुटाइदियौ
मैले पनि ती फुल ऋतुहरुलाई फिर्ता गरिदिएँ
अनि
झरेका पातहरुजस्तै
कतियौँ वर्ष सम्म
हामीले पानीमा बगाइरहयौँ

वर्षौं बिते तर पानी सुकेन
अनि
बगिरहेको पानीमा छायाँ त देखियो
तर
एक अर्काको अनुहार भनें देखिएन
अब
यो भन्दा पहिला
केही दुरि मै उभिएरै सकियौँला हामी
हिँड,
टुक्रिएर शरीर पानी बन्न हिँडेका
तिमी आफ्नो शरीर माथी पैताला राख्नु
अनि
आधा नदि पार गराउनु
म आफ्नो शरिरमाथि पैताला राख्नेँ छु
अनि
तिमीलाई अगाडि आएर भेट्नेँ छु !!
००

अनुवादक रिमा केसी

Leave a Reply