गजल
– अनामिका सजल
चर्चरी फुटेका हत्केला र कुर्कुचाको
मलाई माया लाग्छ मेरा बा र आमाको
भेटिन्न कुनै नाम इतिहासको पानामा
दुःखको भारी बोक्ने नाङ्गा पैतालाको
अभावले निलेको गरिबको झुपडीमा
जून नडुब्दै अन्त्य हुन्छ मिठो सपनाको
नीतिले नेतृत्वले धकेलि रहँदा पनि
भुलिदिन्छन् सम्झेर खेल विधाताको
यदि आफ्नै खुट्टाले भुइँ टेकेनौ भने
ढल्छ एकदिन स्वाभिमान सगरमाथाको ।
००
