मेरो छायाँ
– सुलोचना सैँजू
मेरो घर,
आँगन
अनि बाटोमा वा सबै ठाउँमा
मेरो छायाँ पछिपछि अ।ईरहेकी छिन् ।
मलाई थाहा छ,
उनी मेरो साथ जन्मेकी हैन,
मेरो साथ मृत्यु हुने पनि हैन,
जति नै मेरो पछिपछि आए पनि,
मैले उनलाई आफ्नै रङ्गमा बदल्न सकिन ।
म रातै भए पनि वा म हरियो भए नि सबै रङ्ग उनको निम्ति फगत छन् ।
जहिले जहाँ पनि, उनी एउटै रङ्गमा बाँचीरहेकी छिन् ।
प्रत्येक उज्यालो र प्रकाशभित्रको
मेरो जीवनलाई उनले कहिल्यै छोडेकी छैन ।
सबैले छोडे पनि मलाई, उनी मेरो पछिपछि आइरहेकी छिन् ।
मेरो छायाँ सुखमा अनि दुःखमा, यद्यपि,
मेरो शरीरसँग छिनभर पनि समान रही बसेकी छैन उनी ।
म एक तमास बुढी हुन सक्दछु, वा अग्लि हुन सक्दछु, तर उनी कहिल्यै अग्लि भइनन् र होची पनि भइनन् ।
हरेक उज्यालो अनि
प्रकाशको स्पर्शमा, उनी मेरो पछिपछि आईरहिन् ।
मेरो मृत्युमा उनी मसँग आउने छैन,
अँध्यारो ठाउँमा उनले मलाई आफ्नो भनी स्विकार्ने पनि छैन,
उनी बाँच्नुको शाश्वत भन्नू नै केवल उज्यालो
अनि प्रकाश, तसर्थ, जहाँ उज्यालो अनि प्रकाश हुन्छ तब मेरो छायाँ मसँगै हुन्छिन्,
मेरो घर, आँगन अनि बाटो सबै ठाउँमा मेरो छायाँ ।
००
