हास्यव्यंग्यकार गायत्री लम्सालको ‘रुद्रघण्टी’ लोकार्पित
काठमाडौँ, असार २४ गते
काठमाडौंं/ गायत्री परिरोशनीको नामले सुपरिचित हास्यव्यंग्यकार गायत्री लम्सालको सातौं हास्यव्यंग्य कृति ‘रुद्रघण्टी’ लोकार्पित भएको छ । डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न लोकार्पण समारोहको अध्यक्षता सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले गर्नुभएकाे थियाे ।
डा भट्टराईले हास्यव्यंग्य लेखनको यात्रामा गायत्रीको डरलाग्दो उपस्थितिले आफूलाई आश्चर्य र खुसी दुवै दिएको बताउनुभयाे । हास्यव्यंग्य लेखन, प्रकाशन र प्रशारण कार्यमा फित्कौली पत्रिकाले घनघोर अभियान चलाइरहेको र छोटै अवधिमा राम्रो प्रभाव कायम गर्न सकेको पनि उहाँले बताउनुभयाे ।
दीप प्रज्वलनपछि डा अञ्जना वस्तीले गायत्रीलाई बधाई र शुभकाना दिनुभएपछि आरम्भमै गाम्नागेले गायत्रीको हास्यव्यव्यंग्य लेखन यात्राका सबै मोड र आरोहलाई जस्ताको तस्तै बताउनुभएर परिचय प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा उपस्थित सबैले हातहातमा हास्यव्यंग्य कृति उठाएपछि उद्घोषक सरोज घमिमिरेले पुस्तक लोकार्पण भइसकेको उद्घोष गर्दा हलभरि हाँसोको फोहरा फुटेको थियो । लोकार्पणको यो तरिकालाई सबैले नयाँ, तर आकर्षक भनेर मन परेको बताउनुभएकाे थियाे ।
लोकार्पित कृतिमाथि तीन जना वक्ताले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे । सिंगो कृतिमा संकलित ३२ वटा निबन्धलाई ११-११ र एक जनालाई १० वटा माथि बोल्न भनिएको थियो ।
अनिता पन्थीले कृतिको आरम्भका निबन्धको समीक्षात्मक टिप्पणी गर्दै गायत्रीको हास्यव्यंगयात्मक शैलीले आफूलाई अत्यधिक प्रभाव पारेको बताउनुभयाे ।
‘रुद्रघण्टी’ कृतिको मध्य भागका निबन्धहरूमाथि समीक्षात्मक टिप्पणी अनिता कोइरालाले गर्नुभएकाे थियाे । ‘हाँस्नु छैन कदापी नारीहरुले बेश्या हुन्या हाँस्तछन्’ भन्ने चिन्तन र चेतनालाई चुनौती दिँदै महिला सर्जकहहरू सक्रिय हुँदै आएको र हास्यव्यंग्य चेतनालाई मुखरित गर्न ‘रुद्रघन्टी’ स्रष्टा गायत्री सफल रहेको धारणा कोइरालाले राख्नुभएकाे थियाे ।
त्यसैगरी अर्का वक्ता हास्यव्यंग्य समीक्षक नरनाथ लुइँटेलले ‘रुद्रघण्टी’ का बाँकी निबन्धहरूको आड लिएर गायत्रीको हास्यव्यंग्य लेखन कलाले पहिल्याएका, प्रस्तुत गरिएका दुस्प्रवृतिहरूको खुलासा गर्नुभएकाे थियाे । लुइँटेलले फित्कौलीको आरम्भकाल अर्थात् २०६३ को सेरोफेरोदेखि नै गायत्री हास्यव्यंग्य लेखनमा सक्रिय रहनुभएको बताउँदै ‘रुद्रघन्टी’ सम्म आइपुग्दा उहाँले परिपक्वता र प्रौढता हासिल गर्न थाल्लुभएको उल्लेख गर्नुभयाे ।
लेखकीय मन्तव्यका क्रममा गायत्रीले आफ्नै जीवनका परिघट्ना र आरोहअवरोहको खुलासा गर्दा सहभागीहरू भावुक बनेका थिए । ‘आफ्नै जीवनका यिनै अँध्यारा र विस्मयकारी परिस्थितिसँग कुस्ती खेल्दै म लेखनमा ओर्लिएकी हुँ, यहाँसम्म आइपुग्न मलाई साथ, सहयोग र आत्मबल प्रदान गर्ने सबैप्रति कृतज्ञ छु,’ लेखक गायत्रीले भन्नुभयाे ।
‘रुद्रघण्टी शल्यक्रिया’ समारोहको ब्यानरमा हास्यव्यंग्य लेखनमा रुचि राख्ने लब्धप्रतितिष्ठित स्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा डा कुमार कोइराला, दिब्य गिरी, सरोज घिमिरे, माणिकरत्न शाक्य, राम श्रेष्ठ, पिँडालु पण्डित, चक्र दवाडी, गीता दवाडी, गणेश खनाल, भोला घिमिरे, सुवासचन्द्र ढुंगेलको सहभागिता रहेको थियो ।
त्यसैगरी नारायण शर्मा, टेकनारायण ढकाल, हरिकला उप्रेती, भगवती खड्का, डा अवनीभुषण उपाध्याय, इदा उपाध्याय, डिल्लीप्रसाद मूलतिहून, देवीमाया दहाल, रीता खत्री, रेणुका भट्टराई, नारद घिमिरे, सविता बराल, रेजिना आपगाइँ, डम्बर घिमिरे, आरसी रिजाल, थरेन्द्र बराल, भारती न्यौपाने, डा अम्बिका अर्याल, डा जीवन जीवन्त, विष्णु आचार्य, डा सुमन ढकाल, आनन्दकला राई, देवी घिमिरे, भक्ति घिमिरेलगायतको सहभागिता रहेको थियो ।
मञ्जरी प्रकाशनले प्रकाशित गरेको ‘रुद्रघण्टी’ कृतिको मूल्य ३१५ रुपैयाँ रहेकाे छ ।
