उज्यालो-अँध्यारो

                          • रासा

१. उज्यालोमा
उज्यालाहरू हराएका छन्,
बरु
अँध्याराहरू उज्यालिएका छन् ।

२. अँध्याराहरूले उज्यालोलाई लखेटिरहेको देख्छु
उज्यालोमा पनि ।

३. अँध्याराहरूलाई
भक्कुमार चुटेर पछार्नुपर्ने हो
उज्यालाहरूले,
तर खै
उज्यालाहरू कहाँ लुकेका छन् अँध्यारोमा !

४. उज्यालोमा
उज्यालोले अँध्यारोलाई निलिरहेको देख्दा पनि
मन मेरो उज्यालिएको छैन,
किन होला ?

५. उज्यालोमा
अँध्यारोका बचेराहरू
मस्त सुतिरहेका छन्
र, अँध्यारोमा
उज्यालोका चराहरू चिर्बिराइरहेका छन् ।

६. अँध्यारोमा
एक छेस्को उज्यालो देखिँदा पनि
अँध्यारो तर्सिन्छ, किन ?

७. उज्यालोमा
उज्यालाहरू एकापसमा झगडा गरिरहँदा
अँध्याराहरू मुसुमुसु हाँसिरहेका देखिन्छन् ।

८. उज्यालोमा
उज्यालाहरू निर्लज्ज घुमिरहेका छन्
तिनलाई देखेर
अँध्याराहरू भने लजाइरहेका छन् ।

९. दिउँसै
अँध्यारो छर्केर हिँड्ने उज्यालाहरूलाई
तपाईं के भन्नुहुन्छ ?

१०. उज्यालोमा
उज्याला नै उज्यालाहरू हिँडिरहेको देख्दा
मन मेरो उज्यालिएर
सोच्न पुग्छ –
अँध्यारोमा पनि
उज्यालाहरू नै हिँडे हुन्थ्यो ।

Leave a Reply