वरिष्ठ साहित्यकार विजय चालिसे सम्मानित 

कार्तिक ३०, २०८१

साहित्य सदन नेपालद्वारा सदनका संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान’ २०८१ बाट वरिष्ठ साहित्यकार विजय चालिसेलाई सम्मानित गरेको छ ।

साहित्य सदनकाे प्रेक्षालयमा आयोजित समाराेहमा प्रमुख अतिथि प्रा.डा.पद्मप्रसाद देवकोटाले सम्मानित व्यक्तित्व चालिसेलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएकाे थियो । आदरणीय लेखक चालिसेले साहित्य लेखन र आमसञ्चारका क्षेत्रमा समर्पित रही लामाे समयदेखि याेगदान गर्दै आउनुभएकाले उहाँकाे समर्पणकाे कदर गर्दै याे सम्मान प्रदान गरिएकाे साहित्य सदन नेपालले जनाएकाे छ । समाराेहमा सम्मानित व्यक्तित्व चालिसेलाई सम्मानका साथमा नगद रु २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित व्यक्तित्व चालिसेले सम्मानले दायित्व बढेको महसुस भएकाे छ भन्नुभयो । मन्तव्यका क्रममा उहाँले साहित्य सिर्जनामा निरन्तर लागिरहनेछु भन्नुभयो ।

लेखक चालिसेकाे भर्खरै प्रकाशित उपन्यास ‘युगसन्धि’ अहिले चर्चामा रहेकाे छ । वैदिक पृष्ठभूमिमा आधारित याे उपन्यास परिचय पब्लिकेसनले प्रकाशित गरेकाे हाे । साहित्य लेखनमा लामाे समयदेखस समर्पित साधक चालिसेका ‘अनि कुइरो फाट्छ’ (उपन्यास – २०३६), सात वटा कथा संग्रह, दुई दर्जन बढी बालसाहित्य कृतिहरु लगायत हालसम्म ५५ वटा साहित्यिक कृतिहरु प्रकाशित भएका छन् ।

Leave a Reply