सिस्टर नोरी भुजूको नाममा

ईश्वर थोकर

सिस्टर नोरी भुजूसँग लेखक ईश्वर थाेकर

१. सहायता

डाक्टरले मलाई आफ्नो कार्यकक्षमा बोलाउनुभयो ।

मेरो हातखुट्टा सिक्रीले बाँधिएको थियो । ओठ थरथर काँपिरहेका थिए । हिँड्दा कुप्रिएर हिँड्नुपथ्र्यो । सिस्टर नोरी भुजूले डाक्टरसम्म पु¥याउन मलाई सहायता गर्नुभयो ।

पुगेलगत्तै डाक्टरले मतर्फ फर्केर भन्नुभयो, ‘अक्कल,१ तिम्रो उपचार सम्भव छैन । तिम्रो बुवा पनि आजभोलि नै आउँदैछ । घर जाने होइन त अब ?’

डाक्टरकै अगाडि सिस्टर नोरीले भन्नुभएको सुनेँ, ‘डाक्टरसाब्ले अक्कललाई त्यसो भन्न नहुने थियो ।’

१. मेरै नाम ।

२. एकाबिहानै

बुवा एकाबिहानै अस्पतालमा मलाई भेट्न आउनुभयो ।

सुरूमा उहाँ मसित बोल्नु भएन ।

मात्र मलाई एकटकले हेरिरहनुभयो ।

आँखाबाट बरर आँसु खसाल्नुभयो र मुख खोल्नुभयो, ‘आले,२ अब, घर हिँड् ।’

२. भाइ, (तामाङ भाषा), बुवाले मलाई प्रेमले ‘भाइ’ भन्नुहुन्छ ।

३. सालिक

बुवाको अनुहार चाउरिँदै गएको थियो ।

‘मेरो आले म¥यो ।’ मलाई भेट्न आउने सबै आफन्तहरूलाई उहाँले बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘अब, म उसको सम्झनामा सालिक बनाउनेछु ।’

४. सम्भव

अस्पतालबाट डिस्चार्ज भएर आएको केही दिनपछि मानसिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाले सोध्दैखोज्दै मलाई भेट्न भक्तपुरसम्म आउनुभयो ।

म पलङमा पल्टिरहेको थिएँ । मलाई औषधिले चारैतर्फ घेरिरहेको थियो ।

उहाँले बुवालाई भन्नुभयो, ‘दाइ, तपाईँ निराश नहुनुस् । म अक्कलको लागि केही सहायता गर्न चाहन्छु । उसको उपचार सम्भव छ, त्यसैले सोध्दैखोज्दै आएको हुँ ।’

यसअघि, उहाँ र जर्मन नागरिक डा. जर्ज बछुबरले मलाई सोही अस्पतालमा भेटेर ‘पछि भेटौँला’ भनेर छुट्टिनुभएको थियो ।

५. आशीर्वाद

सिस्टर नोरीको सहायताबाट मानसिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाले मलाई सही डाक्टरकोमा उपचारका लागि लग्नुभयो ।

डा. प्रदीपमान सिंहको नेतृत्वमा उपचार थालेको एक महिनामै मेरो औषधि तेत्तीस ट्याब्लेटबाट तीन ट्याब्लेटमा झरेको थियो र स्वास्थ्यमा पनि प्रचुरमात्रामा सुधार आएको थियो ।

सिस्टर नाेरी भुजूकाे पत्र

एक महिनापछि म डिस्चार्ज भएर बुवासँगै घर गएँ र घर गएको केही वर्षपछि सिस्टर नोरी भुजूले मेरो नाममा ‘आशीर्वाद’ शीर्षकमा कतै लेख्नुभएछ–

म वि.सं. २०५९ सालमा नर्सिङको पढाई सकेर बसेको थिएँ । त्यसै सालमा मलाई काठमाण्डूको एउटा अस्पतालमा काम गर्ने अवसर मिल्यो ।

मैले यसअघि ‘मानसिक बिरामीहरू धेरै एग्रेसिभ हुन्छन्’ भन्ने सुनेको थिएँ, देखेको थिइनँ । त्यहाँ पुगेपछि त्यो भ्रम स्वतः हट्यो ।

त्यहाँ नेपालका वरिष्ठ मनोचिकित्सकहरू काम गर्नुहुन्थ्यो ।

वि.सं. २०६४ सालतिरको कुरा हो । म सधैँजसो दिउँसोको ड्युटीमा थिएँ । डाक्टरको क्लिनिकबाट फोन आयो, ‘अक्कल नामको बिरामी आउँदै छ, भर्ना गरिदिनुहोला ।’

नभन्दै एक घण्टाको अन्तरालपछि बिरामी आइपुग्यो ।

‘ऊ धेरै एग्रेसिभ छ ।’ डाक्टरले अर्डर गर्नुभयो, ‘सिक्री लगाइदिनु ।’

डाक्टरले अर्डर गरेको औषधि हेरेर म छक्क परेँ । उसलाई यति धेरै औषधि ख्वाइन्थ्यो कि जुन अरू बिरामीले खाएको भए त्यहीँ मर्थे ।

मेरो मनमा अनेक प्रश्नहरू उठ्न थाल्यो र मैले डाक्टरलाई तत्काल सोधिहालेँ, ‘अक्कलको औषधि अलि घटाउन मिल्दैन डाक्टरसाब ?’ उहाँले मतर्फ फर्केर जवाफ दिनुभयो, ‘औषधि कम ग¥यो भने उसको कन्डिसन कन्ट्रोल गर्न गाह्रो हुन्छ ।’

समय बित्दै गयो । उसको स्थिति जस्ताको तस्तै थियो । केही सुधार आएको थिएन । औषधि घट्नुको साटो झन्झन् बढ्दै गयो । औषधिको मात्रा बढेर दिनमा तेत्तीस ट्याब्लेटसम्म पुग्यो । औषधिको प्रभावले गर्दा नै अक्कल अत्यधिक मोटाएका थिए ।

यो कुरालाई मैले अर्को डा. प्रदीपमान सिंहसामु पनि राखेँ । उहाँले उसको अवस्था हेरेर औषधि घटाइदिनु भयो ।

पछि यही कुरामा डाक्टर÷डाक्टरबीच असमझदारी पैदा भयो ।

उसलाई अँध्यारो छिँडीभित्रको एउटा बेडमा सिक्री लगाएर राखिएको थियो । ऊ हलचल गर्न सक्ने अवस्थामा थिएन र उसलाई बेलाबेलामा त्यहाँका गार्डहरूले शारीरिक यातना पनि दिइन्थ्यो । उसको यस्तो जीर्ण अवस्थालाई मुकदर्शक भएर टुलुटुलु हेर्नुको विकल्प मसँग थिएन ।

यति हुँदाहुँदै पनि उसको तकियामुनि एउटा थोत्रो डायरी र कलम सक्रिय देखिन्थे ।

उसको अवस्थामा अझै सुधार आएको थिएन र डाक्टर आएर भविष्यवाणी नै गर्नुभयो, ‘अब, यो केटो जिन्दगीभरि ठीक हुन सक्दैन ।’ डाक्टरले ‘ठीक हुँदैन’ भनेपछि निराश भएर उसको बुवाले ‘घर नै लान्छु’ भनेर उसलाई त्यहाँबाट लिएर जानुभयो ।

अस्पतालको अगाडि एउटा कलेज थियो । त्यस कलेजमा मातृका देवकोटा स्नातक तहमा सोसिएल वर्क पढ्दै हुनुहुन्थ्यो र हाम्रो अस्पतालमा सोसिएल सर्भिसको लागि उहाँ बारम्बार आउनुहुन्थ्यो ।

त्यसै क्रममा उहाँले एक दिन अक्कलको हविगत देख्नुभयो ।

अक्कल घर गएको थाहा पाएपछि उहाँले मलाई उसको बुवाको फोन नम्बर माग्नुभयो, जुन मेरो खिलाफ थियो ।

पछि उहाँले भन्नुभयो, ‘तपाईँले उहाँको नम्बर दिएर मलाई सहायता गर्नुस् । म उसको लागि केही गर्न इच्छुक छु ।’ त्यसपछि मैले अक्कलको बुवाको नम्बर उहाँलाई दिएँ र मनमनै प्रार्थना पनि गरेँ, ‘हे ईश्वर, मेरो अक्कललाई बचाइदेऊ ।’

उहाँले अक्कललाई डाँछीमा अवस्थित अर्कै अस्पताल सामुदायिक मानसिक स्वास्थ्य सेवा केन्द्रमा भर्ना गरिदिनु भयो र डाक्टर पनि परिवर्तन गर्नुभयो ।

पहिलेको डाक्टरको ठाउँमा अब उसलाई डा. प्रदीपमान सिंहले हेर्न थाल्नुभयो ।

डाँछीमा भर्ना गरेको एक महिनापछि अक्कलको औषधि तीन ट्याब्लेटमा झ¥यो र त्यही समयमा त्यहाँबाट डिस्चार्ज भएर ऊ आफ्नो बुवासँगै घर फर्कियो ।

अन्ततः उसले ‘दोस्रो जुनी’ पाएरै छाड्यो ।

केही समयको अन्तरालपछि उसले एक जना नर्सले राखिदिएको ‘ईश्वर थोकर’ नामबाट ‘पिङ्गार्ई’ र ‘प्लिक्सी’ नामका दुई कृतिहरू लेख्यो, जसलाई पछि प्रकाशनमा ल्यायो ।

‘मैले त्यहाँ धेरै कविताहरू लेखेँ ।’ उसले आफू पहिला बसेको अँध्यारो छिँडीलाई सम्झिएर भन्यो, ‘तीमध्ये केही कविताहरूलाई मात्र प्लिक्सीमा ल्याएँ ।’

उसले अहिलेसम्म जेजति कविता लेख्यो, ती सबै औषधिको बैशाखी टेकेर लेखेको हो ।
अक्कल अहिले यति राम्रो लगनशील कवि भएर जीवनको बाटोमा अगाडि बढिरहेको छ । मलाई ऊ देख्दा यति गर्व लाग्छ कि म शब्दमा नै वर्णन गर्न सक्दिनँ । मेरो सदैव उसलाई ‘आशीर्वाद’ छ कि ऊ यसरी नै अगाडि बढिरहून् । कहिल्यै पछाडि फर्केर हेर्न नपरुन्, हार्दिक शुभकामना ।

(नयाँ पत्रिका दैनिक, २०७८ भदौ १९ बाट यस पत्रिकाका उपसम्पादक एवम् यस आलेखका लेखक ईश्वर थोकरको अनुमति लिएर साभार गरिएको छ ।)

Leave a Reply