आख्यानकार मनिषा गौचनसँग सात प्रश्न

मुस्ताङ जिल्लाको घाँस गाउँमा जन्मेकी मनिषा गौचनका चार कृति प्रकाशित छन् । उनको पहिलो कविता कृति २०६१ मा प्रकाशित भएको हो । त्यसपछि वल्लीको डायरी (२०६३), ह्वाइट केन उपन्यास प्रकाशित भयो । अहिले उनी ‘प्रतिवहन’ कथासंग्रह लिएर पाठकमाझमा आएकी छिन् । यिनै कवि, कथाकार र उपन्यासकार मनिषा गौचनसँग यस पटक हाम्रा सम्पादक कार्तिकेयले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
प्रश्न १. तपाईंको पहिलो प्रकाशित रचनाबारे केही भनिदिनुस् न है ।
‘फूलहरुको रङ छैन’ मेरो पहिलो प्रकाशित कृति हो । यसमा किशोरावश्थामा लेखिएका कविताहरु संग्रहित छन् । यसभन्दा अघि छापिएका रचनाबारे खासै याद गर्न सकिनँ । बरु एसएलसीको परीक्षा दिनु अगावै जस्तो लाग्छ आमाको तृष्णा नामक एउटा नाटक लेखेकी थिएँ, जुन मेरो गाउँ (घाँस) को स्कुलमा मञ्चन पनि भएको थियो । त्यसमा मेरा गुरुआमा गुरुबाहरुले अभिनय गर्नुभएको थियो । ‘फूलहरूको रङ’ छैन कविता संग्रहको प्रकाशक, मुस्ताङ जिल्लामा स्याउ खेती सुरु गर्न महत्वपूर्ण योगदान दिनुहुने बुद्धिरत्न शेरचनज्यूलाई सधैँ सम्झिरहन चाहन्छु । उहाँको प्रेम र मेरो लेखनप्रतिको विश्वासले मलाई औपचारिक साहित्य लेखनमा डोर्यायो ।

प्रश्न २. आख्यान विधामा नै कलम चलाउनुको कारण के हो ?
आख्यान लेख्नु भनेको आफूले प्राप्त नगरेको समय बाँच्नु हो, जिन्दगी बाँच्नु हो । यसमा मिल्ने अद्भूत अनुभूति नै आख्यान लेख्नुको कारण हो भन्छु । जुन अनुभूति कुनै बेला पीडादायक हुन्छ र कुनै बेला अनुपम सुखले भरिपूर्ण हुन्छ ।
प्रश्न ३. लेखनमा कसलाई आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्छ ?
लेखनमा म कसैलाई प्रेरणाको स्रोत मान्छु भने त्यो म रहेको समाज हो । त्यही समाजको कारण मभित्र जागृत भाव अनि मानसिक विचलनले नै मलाई लेख्न प्रेरित गर्छ र मैले लेखेको कुरा पढेर मलाई लेखकको दर्जा दिने असल पाठकहरु मेरा लागि उर्जाका स्रोत हुन् । नत्र म स्वयंले आफूलाई लेखक घोषित गर्न कहाँ सक्ने थिएँ र !

प्रश्न ४. तपाईंको भर्खरै प्रकाशित कथासंग्रह ‘प्रतिवहन’ बारे केही कुरा साझा गरिदिनुस् न है । यसमा कस्ता कथाहरु रहेका छन् ? नौलो विषयमा उपन्यास लेख्ने लेखक यस पटक कथा विधामा आउनुमा केही विशेष कारण छ कि ?
प्रतिवहन अलि बढी विस्मयकारी कथाहरुको संग्रह हो । पढ्दै गर्दा पाठक मस्तिष्क विथोलिएको, मन दुखेर पूरा पढ्न नसकिएको प्रतिक्रियाहरु छन् । यस्ता कथा एवम् पात्रहरु हामी मान्छेकै सोच र व्यवहारले जन्मिएका हुन् । मान्छे आवेगमा केसम्म गर्न सक्छन् र ती आवेगका कारणहरु केसम्म हुनसक्छ भन्ने विषयमा कथाका पात्रहरुले बोल्ने कोसिस गरेका छन् । प्रतिवहनको अर्थ आफैँमा उल्टो दिसा बहने भन्ने हुन्छ । हामी पनि कहिले बाध्य भएर उल्टो बग्नुपर्ने पर्ने हुन्छ त कहिले अञ्जानमै उल्टो हिँडिरहेका हुन्छौँ । उल्टो हिँड्नुको परिणाम कहिले भयावह भइदिनसक्छ र कहिले नसोचेको खुसी मिल्न पनि सक्छ । यस संग्रहभित्रका कथाहरु यस्तै यस्तै हुन् ।

प्रश्न ५. वर्ष २०७९ मा दुई दर्जन बढी उपन्यास प्रकाशित भए भन्ने तथ्यांक आएको छ । यति धेरै उपन्यास प्रकाशित हुनुबाट त उपन्यास विधाप्रति ठुलो आकर्षण देखिन्छ नि होइन र ? फेरि तपाईले कथाको किताब किन लिएर आउनुभएको नि ?

एउटा संयोग पनि होला उपन्यास बोकेर लेखकहरु आइरहेको बेला म कथाको किताव बोकेर आउनु । खोलामा पात खसेझैँ । तर पात डुब्नुहुँदैन तैरिनुपर्छ भन्ने लाग्छ । तर तैरिनसक्ने शक्तिको मापन फेरि असल पाठकहरुबाटै हुने हो । त्यसको प्रतीक्षामा छु अहिले । र कथा नै किन भन्दा, म लेखकको रुपमा जीवित नै छु भन्ने महसुस गर्न र गराउन पनि मैले समय समयमा कथाहरु लेखेको हुँ । अनेकन् पात्रहरुको जीवनमा पसेर जिउन खोज्ने दुस्साहसले यो कथा संग्रह जन्मिएको हो । संयोग नै मान्नुपर्ला, यही वर्ष जन्मिन पुग्यो यो एउटा सिंगो कृतिको रुपमा ।

प्रश्न ६. तपाईंले कुन समयमा साहित्य रचना गर्नुहुन्छ ? विषयहरु कसरी छनोट गर्नुहुन्छ ? तपाईंको वल्लीको डायरी कृतिदेखि कै रचना गर्भबारे केही कुरा भनिदिनुस् न है ।

लेखनका लागि समय तालिका मिलाएको छैन । कहिले मध्यरातमा पनि लेखिरहेको हुन्छु । उपन्यास वल्लीको डायरी धेरैजसो रातीको बेला लेखेको हुँ । ह्वाइट केनका कतिपय भाग कफी तथा चिया टाइममा क्याफे तथा रेस्टुराँमा लेखेको छु । त्यस्तै प्रतिवहन का कथाहरु पनि यसरी नै लेखिए । विषयवस्तु छनोट गर्ने भन्दा पनि केले मलाई छोयो भन्ने कुरा महत्वपूर्ण हुन्छ मेरा लागि । त्यही अनुसार पात्र निर्माण गर्छु । म पृथक् विषयमा लेख्छु भनेर कहिले सोच्दिनँ बरु कसरी लेख्ने भन्ने विषयमा बढी सोच्ने गर्छु । यो जिन्दगीको भागदौडको घर्षणमा अनेकन् झिल्काहरु बलिरहन्छन्, कुनै झिल्का यस्ता हुन्छन् जसले लेखकको हात खोजिरहेको हुन्छ र तिनै झिल्काहरुले नै विषयवस्तु अनि पात्र आफैँ बोकेर ल्याएका हुन्छन्, जसलाई साहित्यको क्यानभासमा उतार्न निकै कठोर मिहिनेत चाहिन्छ । कहिलेकाहीँ त लेख्नलाई हात उठाउनै नपाई ती सब विलीन भइजान्छन् । यो क्रम बढ्दै जाँदा लेखकहरु बिरामी पनि हुन्छन् । लेख्न नसक्नु भनेको लेख्नेहरुका लागि बिरामी हुनु सरह नै हो । यस्तोबेला आराम लिनुपनि जरुरी हुन्छ । म पनि बिरामी भएको छुु ।
प्रश्न ७. अहिले कुनै नयाँ कृतिमा काम गर्दै हुनुहुन्छ कि ?
एउटा दुर्गम गाउँमा शिक्षाको ज्योति बाल्न संघर्षरत एक साधारण व्यक्तिको जीवनी लेख्दैथिएँ, उहाँ बित्नुभयो । त्यसपछि केही समय लेख्नै सकिनँ । अहिले पूरा हुँदै छ त्यो । अर्को दुई उपन्यासका सुरुवाती च्याप्टरहरु ल्यापटपमै छन् । दुबै पूरा गर्न गहिरो अनुसन्धान जरुरी छ त्यसैको लागि तयारी गर्दै छु ।

Leave a Reply