एक लाख नगदसहित ‘बुद्धि–रेशम स्रष्टा सम्मान’

साहित्यसेवी दम्पती द्वारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले स्थापना गर्नुभएको जलरिका साहित्य प्रतिष्ठान, काठमाडौँबाट प्रदान गरिँदै आइएको ‘बुद्धि–रेशम स्रष्टा सम्मान–२०८०’ बाट तीन जना सर्जकहरूलाई सम्मानित गरिने भएको छ ।

सम्मानित हुनेहरूमा समालोचना–विधामा डा. अभि सुवेदी, आख्यान–विधामा डा. ध्रुवचन्द्र गौतम र कला–विधामा श्यामलाल प्रधान रहनुभएको छ । सम्मानित स्रष्टाहरूलाई जनही एक लाख नगदसहित सरस्वतीको प्रतिमा यही २०८० असार १ गते शुक्रबारको कार्यक्रम–समारोहका दिन प्रदान गरिनेछ ।

११ वर्षदेखि प्रदान गरिँदै आइएको यस सम्मानबाट राष्ट्रकवि माधव घिमिरे, जनकवि दुर्गालाल श्रेष्ठ, प्रा.डा. वासुदेव त्रिपाठी, नाटककार अशेष मल्ल, कवि वैरागी काइँला लगायत अग्रज सर्जकहरु सम्मानित भइसक्नुभएको छ ।

बुद्धि र रेशम कविवर द्वारिका श्रेष्ठका माता र पिता हुनुहुन्छ । उहाँले आफ्ना माता र पिताको स्मृतिमा यो सम्मान स्थापना गर्नुभएको हो । कवि श्रेष्ठ र कथाकार जलेश्वरी श्रेष्ठले मातापिता एवम् सासू ससुराको स्मृतिमा बन्दीपुर, तनहूँमा हरेक वर्ष बालसिर्जना कार्यशाला गोष्ठीको पनि आयोजना गर्दै आउनुभएको छ । यो कार्यक्रम विगत १३ वर्षदेखि निरन्तर संचालन हुँदै आएको छ ।

वरिष्ठ लेखक जलेश्वरी श्रेष्ठको नामबाट जल शब्द र कविवर द्वारिका श्रेष्ठको नामबाट रिका शब्द लिएर जलरिका साहित्य प्रतिष्ठानको नामकरण गरिएको हो । यस प्रतिष्ठानको संरक्षक कविवर द्वारिका श्रेष्ठ, अध्यक्ष जलेश्वरी श्रेष्ठ, उपाध्यक्ष नवीन चित्रकार, महासचिव रोशन थापा ‘नीरव’, सचिव कार्तिकेय घिमिरे, कोषाध्यक्ष निभा श्रेष्ठ, सदस्यहरुमा नित्या श्रेष्ठ र निष्ठा श्रेष्ठ रहनुभएको छ । निभा, नित्या र निष्ठा श्रेष्ठ दम्पतीका प्रतिभावान् छोरीहरु हुनुहुन्छ ।

Leave a Reply