किरण आचार्यको ‘क्यान्टोनमेन्ट’ कथासङ्ग्रहमा दृष्टिगोचर गर्दा

अरुणबहादुर खत्री ‘नदी’
कथाकार किरण आचार्यको क्यान्टोनमेन्ट नामक कथासङ्ग्रह मेरो हात परेको छ । यो कथासङ्ग्रह २०७७ साल फागुन महिनामा प्रकाशित भएको रहेछ । यसभित्र उनले लेखेका विभ्रम, योगमाया, पारिजातको फूल, आमा, मेरी दिदी, सन्तान मोह, सन्यास, माया लगायत विभिन्न शीर्षकका बिसवटा कथाहरु समावेश गरिएका छन् । यस कथासङ्ग्रहभित्रको विभ्रम शीर्षकको पहिलो कथामा शिक्षकलाई दिइने तालिम सञ्चालन गर्न कथाकारलाई प्रशिक्षकको रुपमा बोलाइएको थियो । त्यसैले कथाकार राजा वीरेन्द्रको प्रियस्थल सुर्खेत पुगेकी थिइन् । जानुअघि मनमा यति उन्माद र उत्साह थियो कि के भनुँ त्यो अरु कसैको मात्र नभएर मेरो मात्र प्रियस्थल थियो भनेर कथाकार आचार्यले लेखेकी छिन् । बैंककी प्रवन्धक भइन् योगमाया । उनलाई बधाई दिनेको लाम लाग्यो । उनका पतिदेवले खासै प्रगति गर्न सकेका थिएनन् । उनको अद्भुत व्यक्तित्व र नेतृत्व क्षमता देखेर ट्रेड युनियनले उनलाई केन्द्रीय सदस्यमा चुनियो योगमाया शीर्षकको कथामा लेखिएको छ ।

यस सङ्ग्रहका कथाहरु समसामयिक विषयवस्तुमा आधारित छन् । समाजमा भएका विकृति विसङ्गतिलाई सूक्ष्म विश्लेषण गरी सुधारतर्फ लैजान सन्देश प्रदान गरिएका छन् । यस सङ्ग्रहभित्रका कथाहरु पढ्दा मनलाई झकझक्याइरहन्छन् । मस्तिष्कलाई सचेत गराइरहन्छन् । सरल भाषा, मिठो शैली र सललल बग्ने प्रस्तुतिले आचार्यका कथाहरुलाई आजको कथा बन्न बल पु¥याएको छ । कथा लेखनको विषयमा कथाकारलाई जुन घटनाले छुन्छ उनले त्यसलाई टिप्छिन् र आफ्नै शैलीमा ढाल्छिन् । कथालाई आकर्षक पार्न केही थपघट भने अवश्य गर्नुपर्छ । सम्भवतः त्यसैले पनि आदर्शवादी कथाहरु नै जन्मन पुग्छन् । कथावस्तु र पात्रहरुको प्रस्तुतीको पृष्ठभूमि यथार्थवादी हुन नसकेर आदर्शवादी नै रहेका छन् ।
पारिजातको फूल शीर्षकको कथाभित्र अत्यन्त हतास मानसिक अवस्था थियो मेरो । त्यसैले अब पन्छिनु बाहेकको विकल्प थिएन । त्यसैले कली पढ्न आउने टिफिन समयमा बाहिर हिँड्न थाले । एकदिन डुल्दै जाने क्रममा उनको चाट पसलतिर गएँ भनेर कथाकारले लेखेकी छिन् । सन्यास शीर्षकको कथामा घर र ऋणबाट दिक्क भएका दीनानाथ भारतको एउटा मठमा पुगे र त्यहीँ जोगी भएर बसे । त्यहीँ उनीजस्ता पचासौ मानिस थिए भनेर कथाकारले लेखेकी छिन् । माया शीर्षकको कथाभित्र मालिक ! मैले हरिलाई मनमनै मन पराएकी थिएँ । मेरी साथी मायाले भ्रममा पारी । म उसितै भागेर गएँ । बोर्डर पार गरेपछि एउटा पुलिसको लुगा लगाएको मान्छे आयो भनेर कथाकार आचार्यले लेखेकी छिन् ।
यस कथासङ्ग्रहको नाम क्यान्टोनमेन्ट शीर्षकको कथामा लडाकुहरु कुनै न कुनै बहानामा क्यान्टोनमेन्टबाट बाहिरिसकेका थिएँ । जाने बेला उनीहरुले बृद्धलाई केही खाद्य सामाग्री छोडेर गएका थिए भनेर लेखिएको छ । कुनै कथा लामा छन् भने कुनै कथा छोटा छन् । कथाकार आचार्यका कथाहरु सरल छन् । सामाजिक विषयवस्तुहरुमा केन्द्रित छन् । आमा, म आउँछु शीर्षकको कथाभित्र काकाले भने, भात पकाउन पनि ग्यास चुलो हुन्छ । एउटा भाँडा पनि कालो नहुने । लुगा धुने घर बढार्ने सबै मेसिनले हो । अझ भाँडा माझ्ने मेसिन पनि हुन्छ । तैपनि आइमाईहरु काम गर्न दुःख मान्छन् भनेर लेखिएको छ ।
कथाकार आचार्यका यी कथाहरुमा कोमलता र सौन्दर्य साह्रै यथार्थ र जिउँदो प्रस्तुती तथा कारुणिक कोमलताको अनुभूति भएको छ । निश्चय नै उनका कथालाई बढी भन्दा बढी पाठकले मन पराउने छन् । उनले लेखेका कथाहरुले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ । यो कथा पढेपछि कथाका पात्रहरु आँखा अगाडि हुंदै मनभित्र बस्छन् । यस सङ्ग्रहभित्रका प्रत्येक कथाको विषयवस्तु हाम्रो समाजमा प्रचलनमा आएका विभिन्न सन्देशमूलक कहावत वा कथनी आएका छन् जसको सम्बन्ध प्रत्यक्ष रुपमा हाम्रो समाजसँग सम्बन्ध राख्दछ ।
विद्यालय शीर्षकको कथाभित्र कथाकार विस्तारै हिँड्दै घर फर्किन् । किनभने सेवानिवृत्ति पश्चात काम अनि सबैखाले व्यस्तताबाट पनि अवकाश होईदो रहेछ भनिएको छ । त्यान्द्रो शीर्षकको कथाभित्र एक दिन म बजारबाट घर फर्कदै थिएँ । त्यहीबेला तरकारी पसले दाईकहाँ ठूलो भीड जम्मा भएको थियो । चर्को चर्को स्वरमा झगडा भइरहेको थियो । मेरो मुटु ढुक्क ग¥यो भनेर कथाकारले लेखेकी छिन् । यस कथासङ्ग्रहभित्रका कथाहरु समाजमा सकारात्मक सन्देश दिने खालका छन् । भविष्यका कर्णधार समाज र देशका निर्माता बालबालिकाको लागि पठनीय र बोधगम्य छ ।
कथाकार आचार्यमा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । मझौला आकारका कथा एकै बसाइमा पढेर सकिने छन् । पट्यार लाग्ने अवस्था कुनै कथाले ल्याउँदैन । समग्रमा यस सङ्ग्रहका कथा पठनीय र सन्देशवाहक छन् ।
कृतिः क्यान्टोनमेन्ट
विधाः कथा
लेखकः किरण आचार्य
प्रकाशकः क्रियटिभ बुक्स प्रा.लि., नेपालगञ्ज
संस्करणः प्रथम, वि.सं. २०७७, फागुन
मूल्यः रु.२५०।–
पृष्ठः ११८

Leave a Reply