मुक्तक दिवसमा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत
२०७९ माघ १८, काठमाडौं ।
नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सव र मुक्तक दिवस सभ्य र भव्यरुपमा सम्पन्न गरेको छ।
सो कार्यक्रममा नगद ५१ हजार राशिको ‘भीमदर्शन मुक्तक पुरस्कार” वरिष्ठ मुक्तककार यादव खरेललाई र नगद ३१ हजार राशीको “कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार” मुक्तककार रुद्र ज्ञवाली (रुपन्देही) लाई प्रदान गरिएको छ। दुवै पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वैरागी काँइलाले वितरण गर्नु भएको हो ।
दुवै पुरस्कारका सस्थापक तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा सस्थाले प्रकाशित गरेको “स्मारिका” पनि लोकार्पण गरिएको थियो ।
यसैगरी मुक्तकमा समर्पित चार संस्था घुम्ती मुक्तक नेपाल (काठमाडौं), हातेमालो साहित्य (काठमाडौं), मुक्तक मण्डप (भैरहवा) र मुक्तक मञ्च (पोखरा) लाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले मुक्तक रचना विधान र पुरस्कृत व्यक्तित्वहरुको बारेमा आफ्नाे भनाइ राख्नु भएको थियो। यसैगरी कार्यक्रममा प्रमुख अतिथि वैरागी काँइला, अध्यक्ष रामकाजी कोने, पुरस्कृतहरु यादव खरेल र रुद्र ज्ञवालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
यसैगरी मुक्तककारहरु निर्मलरमण पराजुली (अध्यक्ष – घुम्ती मुक्तक नेपाल), रामजीप्रसाद आचार्य (अध्यक्ष – मुक्तक मन्च केन्द्र, पोखरा), विष्णु विवश पोखरेल (अध्यक्ष – मुक्तक मण्डप, रुपन्देही) र सुनील अधिकारी (अध्यक्ष – हातेमालो साहित्य सङ्गम) ले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित कार्यक्रममा सस्थाका उपाध्यक्ष वियोगी बुढाथोकीले अतिथिहरुलाई खादा लगाएर सम्मान गर्नु भएको थियो भने सस्थाका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य तथा सस्थाकी सल्लाहकार उषा शेरचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको संचालन महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।
