वरिष्ठ कथाकार प्रा. माधव भण्डारी
- राधेश्याम लेकाली
वि.सं. १९९३ माघ १६ गते इनपा-६, सुम्बेक, इलाममा जन्मनुभएका वरिष्ठ आख्यानकार प्रा. माधव भण्डारीका कथा, उपन्यास, नाटकलगायत एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । भण्डारी मूलतः कथा विधामा बढी चिनिनुहुन्छ ।
इलामका कथाकारहरु महानन्द सापकोटा, मायादेवी सुब्बा, बीरेन्द्र खुजेली, कमल गजमेर, विष्णु नवीन आदि सँगै प्रा. माधव भण्डारीको नाम श्रद्धाले लिने गरिन्छ । उहाँका कथाहरु लोकप्रिय रहेका छन् । यही भएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले म अध्यक्ष रहेको बेला प्रकाशित गरेको “Silver Cascades” (Timeless Stories from Nepal) मा प्रा. भडारीको कथा “Parental Home” कथा अनुवाद गरी विश्व बजारमा लगेको छ । यो पुस्तक सन् २०२१ मा बेलायतमा आयोजना गरिएको “छैठाैँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन” मा लोकार्पण गरिएको थियो । यस पुस्तकलाई बुकहिल मार्फत् प्रकाशन गरिएको र यसको अनुवाद साहित्यकार महेश पौड्यालले गर्नु भएको थियो । यस पुस्तकमा समावेश गरिएका सबै कथाहरु २०२६ अघिका छन् ।
प्रा. भण्डारीको कथा साहित्यमा मात्र होइन उपन्यास र नाटक विधामा पनि विशेष योगदान रहेको छ । नेपाली साहित्यमा पहिलो कृति माइत कथा (२०१३) बाट प्रवेश गर्नु भएका भण्डारीका कृतिहरुमा नेपाली कथा सङ्ग्रह (२०१५ सहलेखन- चूडामणि रेग्मी), काले र माटो ( कथाकृति), गाउँघर (२०२५), माधव भण्डारीका कथा साहित्य (२०४०), पार्वती परिणय (पौराणिक २०५८), क्यालेण्डरका घुम्तीहरु (२०६१), नबिर्सिने कोसेली (२०६० लोककथा), इतिवृत्त र सृजना (२०७७) जस्ता प्रख्यात कथा संग्रहका सर्जक प्रा. भण्डारीको पूर्णीमा (२०१८) उपन्याससमेत प्रकाशित भएको छ । यस वाहेक उहाँका सयौँ फुटकर कथाहरु प्रकाशित भएका छन् ।
यसैगरी प्रा. भण्डारीका आमाको आकांक्षा (२०३७) र घरजम (२०५९) गरी दुई नाट्य कृतिहरु पनि प्रकाशित छन् । यस्तै भण्डारीका हाम्रो साहित्य र साहित्यकारहरु (२०१८ सहलेखन डिल्लीरमण तिमिल्सिना) र छन्द र अलंकार (२०१८ सहलेखन) समालोचनाका पुस्तकहरु पनि प्रकाशित छन् ।
प्रा. भण्डारीले नेपाली साहित्यिक पत्रिकाहरु छात्रवाणी (२०१३), जूनेली (२०१५), सौगात (२०२२), सूर्योदय (२०३०) र केही किरण अस्ताएको जून (२०४४) आदिको सम्पादन पनि गर्नु भएको थियो ।
प्रा. भण्डारी विभिन्न पदक, सम्मान र पुरस्कारबाट सम्मानित रहनु भयो । प्रबल गोरखा दक्षिणबाहु (२०२९) बाट सम्मानित भण्डारीले साहित्यिक पत्रकार संघबाट म महासचिव रहेको बेला आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नामको गरिमामय कथा पुरस्कार “मैनाली कथा पुरस्कार” (२०५८), महानन्द पुरस्कार (२०६०), गंगाराम भद्रशीला स्मृति पुरस्कार (२०६०), शमी साहित्य पुरस्कार (२०७६), सुरभि बाजुराम आख्यान साधना पुरस्कार (२०७७) जस्ता दर्जनौँ पुरस्कार र सम्मानहरुबाट सम्मानित हुनुभयो ।
प्रा. भण्डारीलाई वि. स. २०५८ मा जुही प्रकाशनबाट साहित्यिक योगदानको लागि अभिनन्दन गरिएको थियो । यसैगरी इलाम साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम प्रगतिशील समाज काठमाडौंबाट पनि अभिनन्दित हनुभएको थियो ।
सधैं चर्चा र सम्मानको पछि लाग्ने भीड भन्दा फरक स्वभावका भण्डारी भीडभन्दा टाढा रहन र एकान्तमा बसेर साहित्य सिर्जना गर्न मन पराउने स्वाभिमानी स्रष्टा हनुहुन्थ्यो ।
म जन्मिएको साल २०१५ मै भण्डारीले शिक्षातर्फ शास्त्री र २०२० सालमा आचार्य गर्नुभयो । वरिष्ठ भाषाशास्त्री महानन्द पौडेल र नरेन्द्रनाथ बास्तोलाको पहलमा इलामको कर्फोकमा आयोजना गरिएको २००९ र २०१० सालको पहिलो र दोस्रो राष्ट्रिय नेपाली सम्मेलनको स्थल करफोक हाईस्कुलमा वि.सं. २०१५ देखि २०१६ सम्म उहाँले अध्यापन गर्नु भएको थियो । यस्तै वि.सं. २०१७ मा दार्जीलिङको टर्नबुल हाईस्कुलमा एक वर्ष अध्यापन गरेपछि वि.सं. २०१८ देखि त्रिभुवन विश्वविद्यालयको सेवामा जानु भयो । उहाँ महेन्द्ररत्न कलेज इलाममा सहायक प्राध्यापक रहनु भयो । उहाँ वि. स. २०३० मा उपप्राध्यापक, २०४३ मा सहप्राध्यापक र २०५४ मा प्राध्यापक हुनु भयो ।
प्रा. भण्डारी वि.सं. २०५४ सालमा सेवा निवृत्त नभएसम्म त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा रही सेवा गर्नुभयो । मेची क्याम्पस, भद्रपुर र महेन्द्ररत्न कलेज इलामका क्याम्पस प्रमुखसमेत रही सक्नु भएका भण्डारी मूलतः नेपाली विषय प्राध्यापन गर्नुभयो । भनिन्छ वि.सं. २०१५ देखि २०७७ सम्म छ दशक बढी उहाँले निरन्तर नेपाली भाषाको सेवा गर्नुभयो ।
प्रा. माधव भण्डारीले साहित्य सिर्जना, सम्पादन र प्राध्यापन गरेर नै जीवन बिताउनु भयो । प्रा. भण्डारी आकर्षक व्यक्तित्वका धनी र मृदुभाषी हुनुहुन्ठ्ठयाे । इलाम, बनारस, झापा र काठमाडौं उहाँको जन्म र कर्मथलोका रुपमा रहे ।
एक दशकदेखि मुटुमा पेश मेकर राखेर अन्य रोगले थलिएको ८५ वर्षका प्रा. माधव भण्डारीले गत २०७८ पुस १८ गते टीकाथली-६ ललितपुरस्थित आफ्नै निवासबाट महाप्रस्थान गर्नुभयो । उहाँको अन्तिम दाहसस्कार पशुपति आर्यघाटमा गरिएको थियो । उहाँको पार्थिव शरीरको अन्तिम दर्शन गर्न म पनि गएको थिएँ । त्यस दिन आकर्षक व्यक्तित्व र मृदुभाषी भण्डारीको शरीर खरानी भयो । शरीर खरानी भए पनि उहाँ हाम्रो मन मुटुमा बस्नु भएको छ । नेपाली साहित्यमा सदा रहनु हुनेछ । प्रा. भण्डारीको पछिल्लो कृति ‘इतिवृत्त र सिर्जना” नै अन्तिम कृति हुन गयो ।
प्रा. भण्डारी आफ्नो अध्ययन र लेखनमा निरन्तर लागिरहने स्रष्टा हुनुहुन्थ्यो । उहाँ कहिले पनि सम्मान र पुरस्कारको पछि लाग्नु भएन । स्वाभिमानी व्यवहार र आचरणका कारण पनि उहाँले थोरै सम्मान, पुरस्कार र अभिनन्दन पाउनु भयो । तर जे जति पाउनु भयो उच्चस्तरको पाउनु भयो । म प्रा. भण्डारीलाई उच्च सम्मानसहित हार्दिक श्रद्धा सुमन व्यक्त गर्छु ।
अनामनगर, काठमाडौं ।

